coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जीवविज्ञानका विद्यार्थीले गणित पढ्न पाउने

काठमाडौं - कक्षा ११ र १२ मा जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीले गणित अध्ययन गर्न पाउने भएका छन्। शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आफ्नो पूर्वनिर्णय सच्याउँदै जीवविज्ञान समूहका विद्यार्थीका गणित अध्ययन गर्ने बाटो खोलिदिएको छ। केन्द्रले यसअघि जीवविज्ञान समूहका लागि गणित अध्ययन गर्ने व्यवस्था हटाएको थियो।

केन्द्रको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विद्यालय तहको पाठ्यक्रम संरचना स्वीकृत गर्दै विज्ञान विषयको पाठ्यक्रम सच्याएको केन्द्रका प्रवक्ता खुबीराम अधिकारीले बताए। गणितबिना विज्ञानको अस्तित्व नरहेको मनन गर्दै जीवविज्ञानका विद्यार्थीका लागि गणित अध्ययनको बाटो खोलिएको उनले जानकारी दिए। जीवविज्ञानका विद्यार्थीका लागि गणित अध्ययनको व्यवस्था हटाउने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको थियो।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीका अनुसार अब कक्षा ११ र १२ मा विद्यार्थीले ३ क्रेडिटको अनिवार्य नेपाली, ४ क्रेडिटको अनिवार्य अंग्रेजी, ३ क्रेडिटको सामाजिक अध्ययन, ५ क्रेडिटको जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रूपमा अध्ययन गर्नुपर्नेछ। यसैगरी तीनवटा ऐच्छिक विषय ५–५ क्रेडिट गरी विद्यार्थीले कुल ७ विषय ३० क्रेडिट आवरको अध्ययन गर्नेछन्। ‘तीनवटै ऐच्छिक विषयमा विज्ञान अध्ययन गर्नेलाई जीवनोपयोगी शिक्षाको सट्टा आवश्यकताअनुसार गणित विषय लिन सक्ने व्यवस्था नयाँ संरचनामा गरिएको छ,’ कार्यकारी निर्देशक काप्रीले नागरिकसँग भने, ‘कक्षा ११ र १२ का प्रत्येक कक्षामा अनिवार्य रूपमा २ घण्टाबराबरको सूचना तथा प्रविधिसम्बन्धी व्यवहारिक अभ्यास गराइनेछ।’ तीन ऐच्छिक विषय छनोट विद्यार्थीको रुचि, आवश्यकता, शिक्षकको उपलब्धता र स्रोतसाधनका आधारमा स्थानीय सरकारको समन्वय र सहजीकरणमा विद्यालयले गर्नेछ।’ यसरी विषय छनोट गर्दा ऐच्छिक प्रथम, द्वितीय र तृतीय समूहबाट एक÷एक विषय गरी जम्मा ३ विषय छनोट गर्नुपर्छ । कक्षा ११ मा अध्ययन गरेको विपषय कक्षा १२ मा नभएमा सोही समूहबाट सट्टामा तोकिएको विषय लिनुपर्ने व्यवस्था गरी विद्यार्थीलाई विषय अध्ययन र छनोटको दायरा फराकिलो बनाइएको काप्रीले बताए।

विद्यार्थीको आवश्यकता र सेतु पाठ्यांश (बृजकोर्स) का रूपमा विद्यालयले माध्यमिक शिक्षामा आवश्यकताअनुसार पाठ्यक्रम संरचनामा व्यवस्था भएका ऐच्छिक विषयमध्ये कुनै एक विषयलाई थप विषयका रूपमा अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ। विदेशी विद्यार्थीका लािग अनिवार्य नेपाली विषयको सट्टा अल्टरनेटिभ विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता अधिकारीले बताए।

कार्यकारी निर्देशक काप्रीले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मलाई नै समेटी विकास गरिएको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को जेठ २८ को बैठकले पािरत गरेकोमा केही सच्याएर विद्यालय तहको पाठ्यक्रम संरचना स्वीकृत गरिएको बताए। उनले कात्तिकदेखि सातै प्रदेशका स्कुलमा पाठ्यक्रम परीक्षण गरिने जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागका गणित शिक्षक एवं नेपाल गणित समाजका केन्द्रीय सदस्य जीवन काफ्लेले कक्षा ११ र १२ मा जीवविज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययनको बाटो खोलेर सरकारले राम्रो गरेको प्रतिक्रिया दिए।

प्रकाशित: १२ भाद्र २०७५ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App