coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेनालाई विशिष्ट भूमिका, सहयोगीमा नेपाल प्रहरी र सशस्त्र

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)सम्मेलनमा पाहुना सुरक्षा नेतृत्व गृहमन्त्रालयले सम्हाले पनि सुरक्षाको सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। गृहअन्र्तगत रहेका अर्धसैनिक बल सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहयोगीका रूपमा मात्रै जिम्मेवारी दिइएको छ। अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि (२०७०) अनुसार पाहुनाको भ्रमण अवधिभरको सुरक्षा नेपाली सेनाले गर्नेछ । सोहीअनुसार बिमस्टेक सम्मेलनमा आउने सबै पाहुनाको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको र अर्धसैनिक बल भए पनि सशस्त्रलाई प्रहरीभन्दा कम जिम्मेवारी छ। उसको मुख्य जिम्मेवारी अति विशिष्ट व्यक्ति (भिभिआइपी) को आवतजावत हुने सडक क्षेत्रका पुल–पुलेसा निगरानी, केही ‘हाइप्वाइन्ट भ्यू’को सुरक्षालगायत छन्। सशस्त्रका डगस्क्वायड, बम स्क्वायडसमेत बिमस्टेक सम्मेलनमा परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ।

बिमस्टेक सुरक्षा नेतृत्व, परिचालन र अनुगमनमा गृहमन्त्री, गृहसचिव र शान्ति–सुरक्षा महाशाखा प्रमुखको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाइएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्यौपानेको संयोजकत्वमा सुरक्षा समिति बनाएको छ । त्यस्तै नेपाली सेनाले पनि बलाधिकृत रथिको संयोजकत्वमा सुरक्षा समिति बनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भिभिआइपीको व्यक्तिगत सुरक्षा र संवेदनशील क्षेत्रमा खटिने तालिमप्राप्त तथा आधुनिक हतियार चलाउनसक्ने दक्ष जनशक्ति भए पनि सरकारले कार्यविधि बनाएर सेनालाई जिम्मेवारी दिएको हो । बिमस्टेक सम्मेलनको सुरक्षाका लागि करिब ३० हजार सुरक्षाकर्मी परिचालनन हुने भएका छन् । तीमध्ये सेनाबाट १२ हजार र नेपाल प्रहरीबाट करिब १३ हजार ३ सय र सशस्त्रबाट करिब ५ हजार जनशक्ति परिचालन हुने गृहमन्त्रालयले जनाएको छ।

बिमस्टेक सम्मेलनको सुरक्षाका लागि करिब ३० हजार सुरक्षाकर्मी परिचालनन हुने भएका छन् । तीमध्ये सेनाबाट १२ हजार र नेपाल प्रहरीबाट करिब १३ हजार ३ सय र सशस्त्रबाट करिब ५ हजार जनशक्ति परिचालन हुनेछन्।

प्रहरीमा भिभिआइपी सुरक्षाका लागि गठित सुरक्षा निर्देशनालयअन्तर्गत १ सय ५० भन्दा बढी दक्ष जनशक्ति पनि खटिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिम्स्टेकमा सहभागी हुने मुख्य अतिथि र फस्टलेडीको व्यक्तिगत सुरक्षामा सेनाको विशेष सुरक्षा बलका सैन्य अधिकारी खटिनेछन्। कारकेड सुरक्षा, आवासगृह, कार्यक्रमस्थल, विमानस्थल, आवागमन क्षेत्र र संवेदनशील क्षेत्रको सुरक्षामा सेना नै छ। आवासको बाहिरी तथा सडक र उच्चस्थानको सुरक्षाका लागि नेपाल प्रहरीले जिम्मेवारी पाएको छ । गृहमन्त्रालयका प्रवक्ता एवं शान्तिसुरक्षा महाशखा प्रमुख रामकृष्ण सुवेदीले पाहुनाको सुरक्षाका लागि सबै व्यवस्था चुस्त रहेको बताए । उनका अनुसार चारवटै सुरक्षा अंगलाई एकीकृत गरी विशेष सुरक्षा योजनाअन्र्तगत परिचालन गरिएको छ।

‘अतिविशिष्ट अर्थात् सम्मेलनमा सहभागी हुन आउनुहुने पाहुनाका सुरक्षाका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गरिसकेको छ,’ प्रवक्ता सुवेदीले भने । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको सुवेदीले जनाएका छन । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा खटिने उनले बताए। नेपाली सेनाले आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने जनाएको छ भने सशस्त्र प्रहरीले पनि नेपाली सेना र नेपाल प्रहरीलाई सहयोग पुग्नेगरी खटाउने जनाएको छ।

विमानस्थलदेखि कार्यक्रमस्थल, अतिथि आवासगृह सम्मेलन क्रममा आवागमन क्षेत्रको सुरक्षाको पहिलो घेरामा नेपाली सेना खटिने छ । भिभिआइपी सवार हुने सवारीसाधनका चालकसमेत सैनिक नै हुनेछन् । सेना पछिको दोस्रो घेरामा सादा पोसाकका प्रहरी, तेस्रोमा पोसाकधारी प्रहरी र सशस्त्र, चौथो घेरामा सादा पोसाकसँगै स्थानीय प्रहरी र सशस्त्र परिचालन हुने तय भइसकेको छ। कारकेडमा भिभिआइपी चढ्ने सवारीका अगाडि र पछाडिसमेत सेनाको विशेष सुरक्षा बल खटिनेछ। क्लोज प्रोटेक्सनका लागि आएका पाहुना सुरक्षा अधिकारीले समेत नेपाली सेनासँगको समन्वयमा सुरक्षा दिनेछन् । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गोकुल भण्डारीका अनुसार विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिअनुसार नेपाली सेनाले सबै प्रकारको सुरक्षा व्यस्था गरिसकेको छ । ‘हामीले आवश्यक तयारी गरिसकेका छांै, सुरक्षाको पहिलो भागमा नेपाली सेना हुनेछ,’ सहायक रथि भण्डारीले भने।

नेपाल प्रहरीले कार्यक्रमस्थल, निवासको बाहिरी घेरा, आवागमन हुने सडक क्षेत्रको सुरक्षासँगै बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने मन्त्री तथा सचिव तहका कर्मचारीको व्यक्तिगत सुरक्षाको जिम्मेवारी लिनेछ।

प्रधामन्त्री केपी शर्मा ओली आफैंले पाहुनाको सुरक्षाको बारेमा आफैले चासो दिइरहेका छन्। सात देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने सम्मेलनको सुरक्षालाई थप मजबुत बनाउन मोबाइल अवरुद्ध पार्ने उपकरण र सीसीटीभीसमेत प्रयोग गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ। सुरक्षाका लागि नै निजी विमानको उडान पनि दुई घन्टा अवरुद्ध गरिनेछ । नेपाल आउन लागेका अति विशिष्ट पाहुनाको सुरक्षालाई लक्षित गरी यसपटक प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको सुरक्षा अधिकारीले बताएका छन्।

सडकमा सिसिटिभी
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने अति विशिष्ट पाहुनाको सुरक्षाका लागि सडकमा समेत सीसीटीचि जडान गरिएका छन्। विमानस्थल देखी उनीहरु चढेको गाडी गुड्ने सडक, बस्ने होटल र सम्मेलनस्थल २ सयभन्दा बढी सीसीटीभी जडान गरिएको छ। अति विशिष्ट पहुनाहरु हिड्दा सवारी रुटमा मोबाइल सिग्नल अवरुद्ध बनाउन ज्यामर उपकरण प्रयोग गर्न लागिएको छ । त्यसका लागि नेपाल टेलिकमले काम थालिसकेको छ। त्यस्तै नेपाल प्रहरीले सुरक्षा जाँचका लागि चाहिने उपकरण पनि जडान गरिसकेको छ।

पाहुनाका लागि आफ्नै गाडी
गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका लागि आफैंसँग भएका बुुलेटप्रुफ गाडी प्रयोग गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सम्मेलनमा हामीसँगै भएका गाडी प्रयोग गरिनेछन्, मन्त्रालयले कुनै पनि गाडी खरिद गरिएको छैन।’

कतार सरकारले नेपाल सरकारलाई नौवटा बुलेट प्रुफ गाडी उपहार दिएको थियो। सन् २०१४ मा काठमाडौंमा आयोजना गरिएको सार्कको १८औं शिखर सम्मेलनअघि कतार सरकारले मसिर्डिज बेन्ज कार दिने भनिए पनि त्यति बेला प्राविधिक कारणले दिन नसकेपछि भारतबाट केही दिनका लागि गाडी ल्याएर काम चलाइएको थियो। ‘मुख्यतया सवारीमार्ग सुरक्षा, निवास, स्थान र कारगेट सेक्युरिटी नेपाल प्रहरीको जिम्मेवारीभित्र पर्छ। त्यसको सुरक्षा नेपाल प्रहरीले गर्छ,’ नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले भने । बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ । बिमस्टेकको स्थापना सन् १९९७ मा भएको हो। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यान्मार, थाइल्यान्ड, भुुटान र श्रीलंका सदस्य छन्। भदौ १३ र १४ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदैछ।

 

प्रकाशित: १२ भाद्र २०७५ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App