coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बिमस्टेक सचिवस्तरीय बैठक आजबाट

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार मंगलबार बैठक बस्न लागेको हो। बैठकमा आठभन्दा बढी अजेन्डामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु सोमबार नै काठमाडौं आइपुगिसकेका छन्। बिमस्टेकमा नेपालसहित सात सदस्य छन्। सचिवस्तरीय बैठकले पास गरेका अजेन्डामाथि बुधबार बस्ने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिनेछ। त्यसपछि ती अजेन्डा बिहीबार र शुक्रबार बस्ने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ। सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ।

बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु सोमबार नै काठमाडौं आइपुगिसकेका छन्।

बिमस्टेक वरिष्ठ अधिकारीको बैठक मंगलबार बिहान ९ बजे होटल सोल्टीमा सुरु हुने जनाइएको छ। बैठकमा अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गर्नेछन्। बिमस्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गर्नेछन्। त्यसपछि बैठकमा अजेन्डामाथि केन्द्रित भएर छलफल गरिनेछ। बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख अजेन्डा बनाइएको छ।

बैठकमा बिमस्टेक महासचिवले प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ। त्यसपछि बिमस्टेकले हासिल गरेको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा भन्सारसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ। यस्तै बिमस्टेक यातायात कनेक्टिभिटी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ। बिमस्टेक मोटर भेइकल एग्रिमेन्ट र बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टमा पनि छलफल हुने जनाइएको छ।

बिमस्टेक विज्ञ समूहले तयार पारेको ‘टेक्नोलोजी ट्रान्सफर फेसिलिटी (टिटिएफ) प्रतिवेदन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन, कृषिक्षेत्रमा सहयोगसम्बन्धी प्रतिवेदन, गरिबी निवारणसम्बन्धी प्रतिवेदन, परम्परागत चिकित्सापद्धतिसम्बन्धी प्रतिवेदन पनि छलफलका लागि बैठकमा पेस गरिने परराष्ट्रले जनाएको छ।

म्यानमारका राष्ट्रपति आज आउँदै
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आउँदैछन्। नेपाल आएकै दिन नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनेछन्। शिखर सम्मेलनमा सहभागी हुन बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन्। यस्तै भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ।

बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु मंगलबार काठमाडौं आउँदैछन्। बिमस्टेक शिखर सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सदस्य राष्ट्र भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्डका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री मंगलबार काठमाडौं आउन लागेका हुन्। बुधबार काठमाडौंमा बिमस्टेकका विदेशमन्त्रीहरुको १६औं बैठक बस्दैछ । बैठकले हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिनेछ।

प्रकाशित: १२ भाद्र २०७५ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App