निर्मला हत्या प्रकरण

‘आफन्त जोगाउन घटना मोडियो’

मङ्गलबार, १२ भदौ २०७५, ०६ : ५० दिलबहादुर छत्याल

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशन बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन। तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्टको टोली मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्न चासो दिएनन्। साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो। ‘बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भूमिका देखेर हामीले आन्दोलन गरेका हौं’, स्थानीय उर्मिला शाहीले भनिन्।

एक महिना लामो आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाइते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक बिष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो? आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ।

‘एसपी डिल्ली बिष्टलाई घटना मोडेर डमी दोषी करार गर्न सक्छु भन्ने विश्वास थियो’, आन्दोलनमा सक्रिय विमला बिष्ट भन्छिन्, ‘जनताको आन्दोलनको शक्तिले अवस्था फेरिएको हो।’ निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा शक्तिशाली व्यक्तिले गरेको स्थानीय बताउँछन्।‘निर्मलाको हत्या सामान्य मान्छेले गरेको होइन, ठूलै मान्छेले बलात्कारपछि हत्या गरेर उखुबारीमा फालेको हो,’ स्थानीय सन्तोषकुमार भट्ट भन्छन्, ‘शक्तिशाली हत्यारा भएकै कारण एक महिनासम्म आन्दोलन हुँदा पनि प्रहरीले दोषी पत्ता नलगाई घटना मोड्न लागेको थियो।’ शंकास्पद व्यक्तिलाई अनुसन्धान गरेर निर्दोष भएपछि रिहा मिलिहाल्ने भए पनि केरकार नै नगुर्नले शक्तिशाली बचाउन खोजेको उनी बताउँछन्। ‘शक्तिशालीलाई बचाउन निर्दोष दिलीपसिंह बिष्टलाई फसाउन खोजिएको हो’, स्थानीय रामबहादुर बिष्ट भन्छन्।

सरकारले जनताको आन्दोलनपछि पहिलेको अनुसन्धान नमानेर नयाँ शैलीबाट अनुसन्धान गर्न लगाउनुले प्रहरीले भरपर्दो अनुसन्धान नगरेर घटना मोडेको प्रमाणित भइसकेको मानवअधिकारकर्मी तथा इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी बताउँछन्। ‘पीडितका आफन्त र स्थानीय बासिन्दाले जुन प्वाइन्टबाट घटना जोडियो त्यहींबाट अनुसन्धान गर्न भनेकै थिए । प्रहरीले नमान्नुको कारण शक्तिशाली मान्छेलाई जोगाउनु हो।’ प्रहरीले घटना मोड्नुको कारण प्रहरी अधिकारीको कोही आफन्त वा शक्तिशालीको प्रलोभन र दबाब हुन सक्ने उनी बताउँछन्। ‘घटनासँग जोडिएका तथ्य, प्रमाण र वातावरणले अनुसन्धानमा बल पुग्छ भनिन्छ’, उनी भन्छन्, ‘जनताको यही भावना नमानेर नाटकीय ढंगले निर्दोष मान्छेलाई दोषी साबित गर्न खोजेकाले जनता आन्दोलित भएका हुन्।’ सबैले उच्च विश्वास गरेको सिआइबी टोलीले पनि अनुसन्धानमा लापरबाही गर्नुले यो शंका उत्पन्न भएको जोशीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकुन्दप्रसाद कलौनी कुनै प्रहरी अधिकारी र आफन्तको बम दिदीबहिनीसँग निकटता भएको र घटनामा ती शक्तिशाली मान्छे संलग्न भएकाले प्रहरीले घटना मोड्ने खोजेको बताउँछन्। ‘निर्मलाको हत्यापछि बम दिदीबहिनीको घरको कोठामा रङरोगन भएको, अम्बाको रूख काटिएको र ती दिदीबहिनी निर्मलाकी आमासँग खरो बोल्नु जस्ता सबुत हुँदाहँुदै पनि प्रहरीले अनुसन्धान नगुर्नको कारण त्यही हो,’ उनी भन्छन्। प्रहरी अधिकारी र राजनीतिक नेताले एकअर्काका गल्ती संरक्षण गर्ने चलन रहेकाले यो घटना मोड्न प्रयास गरिएको उनी बताउँछन्।

उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले यसअघि प्रहरीले गरेको अनुसन्धानबारे पनि छानबिन सुरु गरिएको बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले यसअघिको प्रहरी अनुसन्धानले सरकारलाई नै अविश्वास उत्पन्न गर्ने वातावरण भएकाले निष्पक्ष र व्यावसायिक ढंगले सबै प्रवधि, क्षमता लगाएर अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने बताए।

‘राहत होइन, दोषी पत्ता लगाऊ’

पुष्पराज जोशी/राजेन्द्र भट्ट

महेन्द्रनगर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परिन्। शव भेटिएको सोमबार एक महिना बितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्या लाग्न सकेको छैन। आफूहरूलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन्। ‘हामीलाई अहिले राहतभन्दा पनि निर्मलाको हत्यारालाई कारबाही गरेको देख्न मन छ,’ उनले भनिन्, ‘चाँडोभन्दा चाँडो वास्तविक दोषीलाई समातियोस्।’

एक महिना बितिसक्दा पनि वास्तविक अपराधी पत्ता नलगाई राहतको कुरा गर्नु उचित नभएको निर्मलाका बुबा यज्ञराज पन्तले बताए। उनले भने, ‘हामीलाई राहतभन्दा पहिला छोरीको बलात्कारपछि हत्या गर्ने हत्यारालाई समातियोस्।’ नेपालमा अपराध गरेर भारत छिरेका अपराधीलाई त प्रहरीले समाते पनि छोरीको हत्यारालाई अहिलेसम्म सरकारले समात्न नसक्दा आफूले सरकार भएको महसुस गर्न नसकेको उनले बताए। ‘बलात्कारी मान्छे जति छन् सबलाई समातेर कठघरामा उभ्याइनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ र हामीले न्याय पाएको महसुस गर्नेछौं।’

अपराधीलाई समातेर नयाँ कानुनअनुसार कारबाही गरेपछि मात्रै राहतको कुरा गर्नु उचित हुने उनी बताउँछन् । ‘हामीलाई पहिला न्याय चाहियो, त्यसपछि हो राहतको कुरा,’ उनले भने, ‘प्रहरीले चाह्यो भने अपराधीलाई पानीमुनिबाट पनि निकाल्न सक्छ, तर हाम्रो घटनामा किन यति लापरबाही?’ महिना दिनसम्म निर्मलाकै हत्यारा समातिने आसमा बसिरहेको उनले बताए । उनले भने, ‘प्रहरीले मानसिक सन्तुलन गुमेको व्यक्तिलाई उभ्याएर हामीमाथि अन्याय गरेको छ । अझै पनि प्रहरी त्यही व्यक्तिको वरपर घुम्यो भने हामीले न्याय पाउँदैनौं ।’ घटनास्थलमा २५ दिनसम्म सबुत प्रमाण नभेटिनु र २६ औं दिनमा मानसिक सन्तुलन गुमेको व्यक्तिको कपडा भेटियो भनेर नाटक रचिनुले आफूहरूलाई झन् पीडा थपिएको उनले बताए । उनी भन्छन्, ‘घटनाकै दिन प्रहरीले यो सामूहिक बलात्कार हो भन्यो, अहिले आएर एउटैको योजनामा भएको हो भनेर मानसिक सन्तुलन गुमेको व्यक्तिलाई उभ्यायो ।’ प्रहरीका यस्ता क्रियाकलापले न्याय नपाउने निश्चित बनेको बताउँदै नयाँ आएको अनुसन्धानको टोलीले केही पत्ता लगाउँछ कि भन्ने झिनो आशा भने रहेको उनले बताए।

निर्मलाकी दिदी मनीषाले बहिनीको बलात्कारपछि हत्या भएकाले आफू पनि त्रसित बनेको बताइन् । ‘अपराधीले बहिनीको ज्यान लिइसक्यो, कतै हामीलाई पनि निसाना त बनाएको छैन भन्ने डर लागिरहन्छ,’ उनले भनिन्, ‘मेरी बहिनीका हत्यारालाई एक महिनासम्म पनि पत्ता लगाउन नसक्नुले भोलि हत्याराको मनोबल बढ्न सक्ने हुँदा हामी त्रासमा छौं।’

बहिनीको अमानवीय तरिकाले हत्या हुँदा कान्छी बहिनीको पनि दिमागमा मनोवैज्ञानिक असर परेको उनी बताउँछिन् । ‘निर्मलाको हत्यापछि कान्छी बहिनी सरस्वती टोलाइरहन्छे,’ मनीषाले भनिन्।

जनमानसमा सरकारले राहत घोषणा गरेर पन्छिने त हैन भन्ने शंका उत्पन्न भएको महेन्द्रनगरका नृग शाहले बताए । ‘पीडित परिवारलाई राहत उपलब्ध गराउनुभन्दा पनि अपराधी पत्ता लगाउनुपर्छ,’ उनले भने । सरकारले राहतका नाममा कतै ललिपप देखाउन खोजेको त हैन भन्ने आशंका आमनागरिकमा उब्जिएको उनले बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...