७ वैशाख २०८१ शुक्रबार
समाज

मेनपावर कम्पनी झुके : साउदीमा अलपत्र ३८ नेपालीलाई नयाँ काम

खोटाङ– साउदी अबरमा अलपत्र ३८ नेपालीलाई मेनपावर कम्पनीले नयाँ काम र दाम दिलाउन तयार भएका छन्। सम्झौता अनुसारको काम र दाम नपाउँदा साउदीमा गत असार ३२ गतेदेखि अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपालीलाई मेनपावर कम्पनी तिनजुरे इम्प्लोइमेन्ट सर्भिसेज र ईम्पावर ओभरसिज प्रालि नयाँ काम र दाम दिलाउन तयार भएका हुन्। रोजगारीका सिलसिलामा २०७४ साल फागुन १ गते साउदी पुगेका ३८ नेपाली सम्झौता अनुसारको तलब नपाएको विरोधमा एक दिन ड्यूटी नजाँदा सनमार अलमामलखा कन्ट्राक्टिङ एण्ड ट्रेडिङ सप्लाई कम्पनीले सडकमा निकालेर अलपत्र पारेको थियो। सडकमा अलपत्र अवस्थामा निकालिएपछि साउन १ गते राती दम्मामको टुक्बा पुर्वीक्षेत्रमा पु¥याइएका नेपाली र साउदी पठाउने मेनपावर कम्पनीबीचमा ८ बुँदे सहमति भएको छ। 

वैदेशिक रोजगार बिभागको रोहवरमा भएको सहमतिपत्रमा ३८ नेपालीलाई मासिक एक हजार र खाना वापत थप दुई सय पाउनेगरी सरसफाईको काम दिइने, दैनिक ८ घन्टा र महिनामा २६ दिन काम गर्नुेपर्ने, साउदी पुगेयताको पाउन बाँकी तलब र काम बिहिन बनेर बसेको समयको तलब पनि हरेक महिना उपलव्ध गराउने लगायतका बुँदा उल्लेख छ। 

यस्तै, कम्पनीले कामदारलाई बस्ने, यातयात र सुरक्षा सुविधा उपलब्ध गराउने, दुई वर्ष करार अवधि  पुरा भएपछि घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर कम्पनीले घर पठाउने वा काम गर्न चाहने कामदारलाई पुनः काम दिइने, अकमा आईडीकार्ड नहुञ्जेलसम्म अस्थायी आईडी कार्ड व्यवस्था गर्ने, मेडिकल आईडीकार्ड र जीवन बिमा उपलब्ध गराउने लगायतका सहमति भएको छ। उल्लेखित शर्त पूरा नभए साउदी पठाउने मेनपावर जवाफदेही हुने सम्झौता भएको जानकारी आएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताईन्। 

मेनपावर कम्पनीसँग भदौ ४ गते सम्झौता भए पनि नेपाली कामदार अझै काममा गएका छैनन्। उनीहरु नेपाली दूताबासको रोहबरमा अर्को सम्झौता गरेपछि मात्र काममा जाने अडानमा छन्। ‘अलपत्र नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ,’ सहायक परामर्शकर्ता बिश्वकर्माले भनिन्, ‘मेनपावरसँग एक किसिमको सम्झौता भए पनि दूताबासको रोहबरमा सम्झौता भएपछि मात्र काममा जाने तयारी छ।’ 

क्याट्रिङको कामका लागि भन्दै एकैसाथ ३८ नेपाली जनही १ लाख २५ हजारदेखि १ लाख ५० हजार बुझाएर सनमार अलमामलखा कन्ट्राक्टिङ एण्ड ट्रेडिङ सप्लाई कम्पनीमा पुगेका थिए। सम्झौता अनुसारको काम र दाम नपाउँदा असार ३२ गतेका दिन ड्यूटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको थियो। एजेण्टले क्याट्रिङको कामबाट मासिक १३/१४ सय रियल तलव पाउने बताए पछि साउदी पुगेका उनीहरुको सम्झौता–पत्रमा भने मासिक ८०० रियल मात्र पाउने उल्लेख छ। क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको मकवानपुरका सुर्यबहादुर बम्जनले बताए। 

अलपत्र नेपालीका आफन्तले पिपुल्स फोरमको निःशुल्क कानूनी सहायतामा मेनवापरबिरुद्ध उजुरी दिएका थिए। दूताबासमा पटक–पटक जानकारी गराएपनि अपेक्षित सहयोग नमिनेको अलपत्र नेपालीको गुनासो छ।

प्रकाशित: ११ भाद्र २०७५ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App