७ वैशाख २०८१ शुक्रबार
खेल

बक्सिङ करातेबाट पनि निराशा

एसियाली खेलकुदअन्तर्गत करातेमा लाअाेसकी खेलाडीविरूद्द प्रतिस्पर्धा गर्दै नेपालकी अनु अधिकारी दायाँ । तस्बिरः राखेप

काठमाडौं – एसियाली खेलकुदमा नेपालले अहिलेसम्म तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक हात पारेको छ।

कराते र बक्सिङमा सोमबार नेपालको चुनौती समाप्त भएपछि इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल यी तीनै खेलमा पदकविहीन भएको छ । तेक्वान्दोमा नेपालको चुनौती ४ दिनअघि नै समाप्त भइसकेको थियो । विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको थियो।

सोमबार करातेमा पुरुष ८४ केजीमुनिको तौलसमूहमा नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसँग ८–० ले पराजित भए । महिलाको ५० केजीमुनिको तौलसमूहमा कांस्य पदकका लागि प्रतिस्पर्धा गरेकी अनु अधिकारी जापानकी मिहो मियातेरासँग ९–० ले पराजित भइन् । पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी हुन्।

पहिलो चरणमा अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले हराउँदै अन्तिम ८ मा स्थान बनाएकी थिइन् । अन्तिम ८ मा अनु चाइनिज ताइपेईकी सियाउसुङ गुसँग ५–१ ले हारेकी थिइन् । सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपिचेज खेल्ने अवसर पाएकी हुन् । सियाउसुङले स्वर्ण पदक जितिन् । बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई चाइनिज ताइपेईका चियावेइ कानले ५–० ले पराजित गरे। 

महिलकाे ५० केजीमुनिकाे ताैल समूहमा कांस्य पदकका लागि प्रतिस्पर्धा गरेकी अनु अधिकारी जापानकी मिहाे मियातेरासँग ९–० ले पराजित भइन्। 

एथलेटिक्समा नेपालकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन् । सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो।

टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ । पुरुषमा नेपाल दक्षिण कोरियासँग ३–० ले हारेको थियो भने लाओस लाओसलाई ३–१ ले पराजित गरेको थियो । महिलातर्फ नेपालले हङकङ र भियतनामलाई समान ३–० को नतिजा सुम्पिएको थियो।

सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । सोमबार नेपाल भारतसँग २–० ले पराजित भयो । त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासँग पनि समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।

नेपालले अन्तिम समयमा समावेश गरेको स्क्वासको पुरुष टिम इभेन्टमा पनि पराजित भएको छ । नेपाल दक्षिण कोरिया र पाकिस्तानसँग समान ३–० को नतिजामा हारेको हो । पुरुष एकलमा नेपालको चुनौती समाप्त भइसकेको छ।

प्रकाशित: १२ भाद्र २०७५ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App