८ वैशाख २०८१ शनिबार
राजनीति

बिम्स्टेक विदेश सचिवस्तरीय बैठक मंगलबार

काठमाडौ–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाैंथाे शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ।

बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९औँ बैठक हो । उनीहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले आज साँझ रात्रिभोजको आयोजना गरेका छन्। उक्त कार्यक्रममा उनीहरूबीच मंगलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ । वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुनेछ।

बैठकमा बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ । मन्त्रिस्तरीय बैठकपश्चात भदौ १४ गते शिखर सम्मेलन सुरु हुनेछ। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै दिवाभोजको आयोजना गर्नेछिन्।

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्र जारी हुने कार्यक्रम तय भएको छ।

यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन्।

बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद र अन्तर्रा्ष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन्।

शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्दैछन्। रासस

 

प्रकाशित: ११ भाद्र २०७५ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App