coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्कुलबाट उदाउँदै चित्र

काठमाडौं -‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ । यसकै परिणाम स्वरुप गत मंगलबार सिद्धार्थ आर्ट ग्यालरीमा विद्यार्थीका कलालाई पारखीले हेर्न पाए।

हरेक विद्यालयमै कलात्मक शिक्षालाई अनिवार्य पाठ्यक्रमकै रुपमा अघि बढाउन थालिए पछि विद्यार्थी कलातर्फ आकर्षित हुन थालेका छन् ।

पहिले–पहिले स्वतस्फुर्त कला सिकेर पछि तालिम लिएपछि बल्ल कलाकार बन्न पाइने अवस्था थियो । अब त्यो अवस्थाको अन्त्य गर्दै हरेक विद्यालयमै कलात्मक शिक्षालाई अनिवार्य पाठ्यक्रमकै रुपमा अघि बढाउन थालिए पछि विद्यार्थी कलातर्फ आकर्षित हुन थालेका छन् । यसरी कलामा रुझान राख्ने विद्यार्थीलाई प्लेटफर्म दिने उद्देश्यले क्वालिटी काठमाडौं स्कुल्सले गर्न लागेको कला प्रदर्शनीमा २३ विद्यालयका विद्यार्थीले आफ्ना सिर्जना राखेका छन् । संस्थाका अध्यक्ष कुमार थापाले विद्यार्थीको क्षमता प्रदर्शनी गर्न र राम्रा कला बनाउनेका लागि अघि बढ्ने बाटो देखाउन प्रदर्शनी आयोजना गरिएको बताए।

कला समीक्षक रमेश खनालले सिकारु नै भएपनि केही विद्यार्थीका कला अब्बल रहेको उल्लेख गरे । ‘मेरो सपनाको विश्व, सम्पदा संरक्षण र सडक बालबालिकाको विषयमा बनाइएका चित्रमा विद्यार्थीले कसैको अनुसरण मात्र गरेका छैनन् । मानिसभित्र हुने सिर्जनात्मक र कलात्मक भावलाई पनि उजागर गरेका छन्,’उनले भने, ‘बेला–बेला बरिष्ठ कलाकारसँग मिसाएर कार्यशालामा सहभागी गर्न सकेमा कलामार्फत भविष्यको बाटो पहिल्याउन सहज हुनेछ।’ 

प्रदर्शनीको संयोजन गरेका संस्कृत इन्टरनेसनल स्कुलका दिलिप रानाले कला प्रदर्शनीसँगै कला कोर्ने विद्यार्थीको भविष्यको यात्रा सुरु भएको बताए । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले आफूले प्रदर्शनीमा सहभागी हुने विद्यार्थीमाझ भविष्यका कलाकार देखेको बताइन् । ‘कला चिन्तन र योग गर्ने माध्यमसमेत हो,’ उनले भनिन्, ‘जतिसुकै पीडामा पनि चित्र कोर्न बसेपछि त्यो पीडा रंग बनेर क्यानभासमा छरिन्छ । तर त्यसका लागि विद्यार्थीलाई विद्यालय र घरपरिवारको उत्प्रेरणा जरुरी छ।’

आर्ट ग्यालरीकी सञ्चालक संगीता थापाले भविष्य पनि यसैमा लाग्न चाहनेका लागि आफू सहयोग गर्न तयार रहेको बताइन् । कला प्रदर्शनीमा रहेका ६९ वटा चित्र राखिएका छन्।

कलाकार सुरुची श्रेष्ठले ‘सम्पदा’ शीर्षकमा नेपाली समाजको जातीय र धार्मिक संस्कारको सम्पदालाई संकेत गरेकी छन् भने कक्षा ६ मा पढ्ने सक्षम श्रेष्ठले सडक बालकको प्याचिङ चित्र कोरेका छन् । उनले सडकमै फ्याँकिएका कागज, प्लाष्टिक बटुल्ने सडक बालकको वास्तविकता दर्शाएका छन् । आर्या ठाकुरले श्रमिक सडक बालबालिकालाई क्यानभासमा उतारेका छन्। अमिसा भट्टराईको चित्रले बालबालिकाले देख्ने सपनासँगै विश्वको भयावह भविष्यको समेत कल्पना गरेको छ। उनले रंग संयोजन गर्न आफ्नो बुढी औलाको प्रयोग गरेर फरकधार अंगालेकी छिन् । बदलिदो रंगसँगै उनले विश्वको परिवर्तित अवस्था चित्रण गरेकी छिन् । कला प्रदर्शनी दशदिन चल्ने जनाइएको छ। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App