८ वैशाख २०८१ शनिबार
अन्य

सडक टालटुल

हिउँदमा धुलो, वर्षमा हिलो । उपत्यकाभित्रका सडकको पहिचान भइसक्यो । गुनासो गर्छन सर्वसाधरण, समाचार आउँछ मिडियामा । सरकार निर्देशन दिन्छ तर काम हुँदैन्।

अघिल्लो वर्ष साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले र यसपाली साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खाल्डा पुर्ने निर्देशन दिए । ती निर्देशन जनतालाई थमथम्याउनका लागि मात्र दिए जस्तो भयो नकि काम गर्न।

तर, यतिबेला भने सरकार रातारात सडक बनाउन लागेको देख्दा सर्वसाधरण दंग छन् । नहुन् पनि किन ? चावहिल–बौद्ध–जोरपाटी सडक  पाँच वर्ष यता हिडिसक्नु छैन । सर्वसाधारण सबैतिर पुगेर अनुरोध गरे, सामाजिक सञ्चालनमा व्यापक विरोध भयो । त्यति गर्दापनि नबनेको सडक यतिबेला काँचुली फेर्दैछ।

त्यहाँ मात्रै होइन् यतिबेला राजधानीका धेरै सडकमा मर्मतको काम भइरहेको छ । सडक डिभिजन कार्यालय काठमाडौं एकका प्रमुख मुकुन्द अधिकारीका अनुसार एअरपोर्ट–गौशाला–चावहिल–चक्रपथ–राष्ट्रपति निवास–लैनचौर–जमल–सुन्धारा–त्रिपुरेश्वर–कालीमाटी खण्डका सडकमा धमाधम मर्मतको काम भइरहेको छ । यी सडक खण्डमा साता अगाडि देखिने खाल्डा सडक विभागले दिनरात, झरी केही नभनी पुरेको छ । खाल्डा पुरेर चाक्लो मात्रै होइन्, रंगाएर सडक नै चम्किलो बनेको छ।

मइतीघर–बानेश्वर–तीनकुने–एअरपोर्टका मुल सडक बाहेकका भित्रि सडकले पनि पिच हुने मौका पाएका छन् । प्रहरी तालिम केन्द्र चक्रपथ–बालुवाटार–टंगाल–चारखाल–पुतलीसडक,कृष्ण पाउरोटी–ज्ञानेश्वर–गौशाला, गौशाला चोक–द्धारिका होटल, चावहिल–ह्यात होटलका सडक यतिबेला खाल्डा पुरेर चिल्लिरहेका छन्।

बेलाबेलामा पिच हुने यी सडक मात्रै होइन् वर्षौदेखि लथालिंग छोडिएको ह्यात होटल–जोरपाटी–गोर्कण रिर्सोटसम्मको सडकमा पनि रातरात काम भएको देखेर सर्वसाधारण चकित बनेका छन्।

तर, दुःखको कुरा सरकारको यो तदारुकता आफ्ना जनताले दुःख पाए होलान् भनेर गरिएको होइन । रातारात बन्न लागेको पिच सर्वसाधरणको लागि नभएर विदेशी पाहुनाको लागि हुन् । भदौं १४ र १५ गते बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) काठमाडौं हुने सम्मेलनमा विदेशी राष्ट्र आउने भएकाले उनीहरूकै सुविधाका लागि सरकार जागरुक भएको हो ।  सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका राष्ट्र तथा सरकार प्रमुख र सरकरी अधिकारीको आगमन हुँदैछ । त्यही आगमनको लागि सरकारले पनि ती  पाहुना जताजता जाने हुन् सोही रुट अनुसार सडक पिच बनाएर पाहुनालाई सरर...यात्रा गराउन लागेको हो।

‘पाहुनालाई सत्कार गर्नु त हामी सबैको दायित्व हो,’ मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशकका प्रमुख शिवहरि सापकोटा भन्छन्, ‘फेरि त्यो सडक पाहुनाले मात्रै त प्रयोग गर्दैनन्।’ उनका अनुसार पाहुनालाई मात्रै सडक पिच बनाइयो भनेर टिप्पणी गर्नु गलत हो । सापकोटाको भनाइ आफ्नो ठाउँमा छ   तर केही रुट हेर्दा सडक पाहुनाको लागि मात्रै तयार गरिएको स्पष्ट हुन्छ । बिहीबार मात्रै पुतलीसडकमा दिउँसो सडकको मर्मत गरियो । केही समयपछि पानी पर्यो । केही घण्टाअघि बनाइएको सडक पानी परेपछि आएको भेलले बगाएर पहिलाको जस्तै बनायो । नागरिक दैनिकसँग त्यो प्रमाण सुरक्षित छ।

बौद्ध–जोरपाटीको सडकको मर्मत अहिले जसरी भएको छ, त्यो पनि पाहुनाकै लागि हो । बिमस्टेक सम्मेलनमा आएका पाहुनालाई गोर्कण रिसोर्टमा रिसेप्सन दिने तयारी गरिएको छ । त्यहाँ पाहुना लैजानकै लागि अहिले रातरात सडक मर्मतको काम भइरहेको हो । ‘चावहिल–गोर्कण रिर्सोटको सडक मर्मत गरिरहेका छौं,’ सापकोटाले भने, ‘कालोपत्रे नै गर्न त सम्भव छैन, सहज गाडी गुड्याउन सकिने बनाउँछौं।’

सडकमा ग्राभेल गरेर गाडी गुड्न सहज बनाउन अहिले धमाधम मर्मतको काम भइरहेको छ । तर, समय अभावले गर्दा पूर्ण रुपमा काम हुने सम्भावना देखिदैन् । यही कारणले पाहुनालाई गोकर्ण रिर्सोटमा दिने भनिएको रिसेप्सन पार्टी पूर्ण रुपमा सडक मर्मत गरेर पाहुनालाई हिडउन नमिल्ने अवस्था भएमा सोल्टीमै दिने तयारी पनि सरकारले गरिरहेको बुझिएको छ।

सडक नै बन्द गराएर काम
साउन दोस्रो साता प्रधानमन्त्रीको ओलीको खाल्डा पुर्ने निर्देशन आउँदा पनि सडक विभागले वर्षाको समय भन्दै कामलाई गति दिएको थिएन । जब राति अनि बुढी ताती भने जस्तै विभागले भदौ लागेपछि भने मर्मतको कामलाई तीब्र बनायो । सडकका खाल्डा पुर्ने, प्याचिङ गर्ने देखि रंग लगाउने सम्मका काम गर्न थाल्यो । यसरी काम गर्दा सरकारले सर्वसाधरणको समस्या समेत ख्याल गरेन् । सवारी चाप हुने दिउँसोको समयमा सडक नै बन्द गरेर सडक मर्मत गरिँदैछ । जसले गर्दा केही दिन यता उपत्यकामा चर्को जामको मार खेप्न सर्वसाधरण बाध्य छन्।

अर्को कुराचाहीं यसरी मर्मत गरिएका सडकमा गुणस्तरलाई पनि बेवास्था गरिएको छ । पानी परिरहेको बेला पनि सडक मर्मत गरिने गरिन्छ । जबकि पानी परेको बेला गरेको सडक मर्मत हप्ता त होइन्, केही दिनसमेत नटिक्ने सडक विभागकै इन्जिनियर बताउँछन्।

नियमित काम : विभाग
सडकमा रातरात काम गरेर सर्वसाधरणलाई चकित बनाएको सडक विभागले भने सम्मेलनको लागि नभएर नियमित तालिका अनुसार  काम गरेको बताउँदै आएको छ।

‘सबैले सम्मेलनको बेलामा काम गरियो भनिरहेका छन्,’ विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ भन्छन्, ‘नियमित अन्तर्गतकै काम गरिरहेका हौं ।’ यसअघि पनि विभागले यसैगरी खाल्डा टाल्दै आएको दाबी श्रेष्ठले गरे । ‘विभागले भदौपछि र फागुनपछि गरेर दुई पटक बजेटकै व्यवस्था गरेर खाल्डा टाल्ने गर्छ,’ उनले भने, ‘सोही तालिका अनुसार सडक बनाउने काम भइरहेको हो ।’ सम्मेलनको कारणले गर्दा भदौपछि गरिने खाल्डा पुर्ने काम केही अघि भएको उनले स्वीकारे।

सडकभरी गेट
विभागले सुकिला बनाएको सडक यतिबेला हेरिरहु झैं छ । सडक धुलो रहित छ । रंगरोगनले टिलिक्क पारिएको छ । मुख्य चोकमा पाहुनालाई स्वागत गर्न भव्य गेट बनाइएको छ । काठमाडौं महानगरपालिकालका अनुसार ५० बढी गेटहरू सडकमा बनाइनेछन् । ती मध्ये केही गेट महानगरले पनि बनाउने प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

प्रकाशित: ११ भाद्र २०७५ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App