८ वैशाख २०८१ शनिबार
अन्य

‘बेरोजगार युवा र महिलालाई उद्यमशिल बनाएको छु’

हरिप्रसाद तिमिल्सेना,वडाध्यक्ष, दक्षिणकाली नगरपालिका–७

तपाई जनप्रतिनिधी भएपछि  जनताले महसुस गर्ने गरी के–के काम गर्नुभ-यो ?
जनप्रतिनिधी भएर आएसँगै जनताको मुख्य समस्याहरु पहिचान ग-यौं । वडामा मुख्यगरी खानेपानी, सडक, बेरोजगारी लगायतका समस्या व्याप्त रहेका छन् । लामो समय स्थानीय तहको निर्वाचन हुन सकेन् । जसको कारणले जनप्रतिनिधीसँग स्थानीय जनताको आशा र अपेक्षा धेरै छन् ।  हाम्रो वडाको बजेट भने जम्मा ५५ लाख रुपैयाँ छ ।तैपनि वडा कार्यालयले आफूसँग भएको स्रोतको अधिकत्तम उपयोग गरेर काम गरिरहेका छौं । वडामा खानेपानीको समस्या धेरै थियो ।त्यसैले खानेपानी तथा सरसफाई विभागसँग समन्वय गरेर वडामा  १४ सय  मिटर माथि लिफटिङ प्रणाली बनाएका छौं ।अहिले लिफटिङ प्रणालीबाट खानेपानी टयाङ्कीसम्म पु¥याएका छौं । अब पाइपलाइन विस्तार गरेर एक वर्षभित्रै प्रत्येक वडाबासीको घर–घरमा खानेपानीको धारासहितको पानी पु¥याउने लक्ष्य राखेका छौं । गोपालेश्वर सामुदायिक वनको अनुमति लिएर ५० रोपनी क्षेत्रफलमा अहिले व्यवसायिक फलफूल खेति सुरुवात गरेका छौं । युटिटि फाँटमा खानेपानीको अभाव छ । वडा कार्यालयले आकाशेपानी भण्डारणको लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । स्रोत जुटाएर पानी भण्डारण गरेर खेति गर्ने योजना बनाएका छौं।

तपाईको  वडाका सम्पूर्ण सडक कच्ची छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ?
 वडाका  सम्पूर्ण सडक कच्ची र ग्राभेल गरेका छन् । करिब  एक सय मिटर सडक बाहेक वडामा रहेका सम्पूर्ण  सडक कच्ची रहेका छन् । अधिकांश सडक कच्ची भएकाले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाबाट गुज्रिदैं आएको छ । दक्षिणकालीगेट हुदैं युटिटि हुदैं फास्ट ट्रयाक जोड्ने ३ किलोमिटर सडक रहेको छ । अहिलेसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन ।त्यस्तै गरी दक्षिणकाली कोपुगाउँ हुदै गैरे जाने सडक, मनमोहन सामुदायिक अस्पतालदेखि  गोपालेश्वर–दामोदरघाट जाने सडक पनि अस्तव्यस्त रहेको छ । वडा कार्यालयको वर्षभरिको बजेट ५५ लाख रुपैयाँ छ ।त्यसैले वडाको बजेटले सडक कालोपत्रे वा ढलान गर्न सकिने अवस्था छैन ।त्यसैले संघीय तथा प्रदेश सरकारले बजेट नदिएसम्म कालोपत्रे गर्न सकिने अवस्था छैन । अबको एक वर्षसम्म प्रदेश तथा संघीय सरकारसँग पहलकदमी गरेर पाँचवर्षभित्र कालोपत्रे वा ढलान गर्ने योजना बनाएको छु।

तपाईको वडामा अवैध रुपमा खानी सञ्चालन भइरहेका छन्, कारवाहीको दायरामा कहिले ल्याउनुहुन्छ?
 मेरो वडामा मात्रै होइन्, देशभर नै रहेका खानी उद्योग मापदण्ड विपरित छन् । वडामा सञ्चालित खानीउद्योग खानीतथा भुगर्भ विभागसँग अनुमति लिएर सञ्चालनमा आएका रैछन् । वडामा एउटा बालुवा खानी र अर्काे ढुंगा खानी सञ्चालनमा आइराखेका छन् । वडा कार्यालयले भूकम्पपछि पुनर्निर्माणमा ढुंगा तथा बालुवा आवश्यक पर्ने भएकाले तत्कालै खानी उद्योग बन्द गराउन सकेको छैन । आगामी एक वर्षमापदण्ड विपरित रहेका खानी उद्योगलाई बन्द गराउने योजना बनाएको छु।

बेरोजगार युवाको लागि कस्तो योजना अघि सार्नुभएको छ?
वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणमा भन्दा वडाबासीको आर्यआर्जन बढाउने योजना सहित काम गरिरहेको छ । वडामा रहेका बेरोजगार युवालाई आयआर्जनमा लगाउनको लागि  गोपालेश्वर सामुदायिक वनमा आपँ , लिची, अगरउड, कागती लगायतका फलफूल लगाएका छौं । वडा कार्यालयले सामुदायिक वनसँग अनुमति लिएर भीरपाखाको जंगलमा फलफुल तथा तरकाली खेतिलाई व्यवसायिक ढंगले अघि बढाउन लागिरहेका छौं । वडा कायालयले विभिन्न खेति गर्नको लागि १० लाख रुपैयाँ  अनुदान उपलब्ध गराएको छ । सल्लाघारी रहेको जंगलमा व्यवसायिक कुषि खेति गर्दै आएका छौं । उक्त क्षेत्रमा वर्षेनी फलफूल तथा तरकारी खेति विस्तार गर्दै लैजाने योजना बनाएका छौं । वडा कार्यालयले बेरोजगार युवालाई मात्रै होइन् । बेरोजगार महिलाहरुलाई  उद्योग गर्न  प्रोत्साहन गरिरहेको छौं।

बेरोगजार महिलालाई कस्तो उद्योग सञ्चालन गर्दै हुनुहुन्छ?
वडामा रहेका बेरोजगार महिलालाई लक्षित गरेर भान्सामा आवश्यक पर्ने खाद्यान्न तथा मसला उद्योग खोल्ने तयारी गरेका छौं । वडा कार्यालयले २५ जना बेरोजगार महिलालाई तालिम  दिएर खाद्यान्न तथा मसला उद्योग खोल्न लागेको हो । उक्त उद्योग सञ्चालन सम्बन्धि ट्रस्ट तथा अन्य कागजी प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । आगामी दशैभित्र उद्योग सञ्चालन गर्ने तयारीसाथ जुटेका हौं । मसला उद्योग खोल्नको लागि वडा कार्यालयले ५ लाख रुपैयाँ सहयोग गरेको छ । अन्य पैसा  दक्षिणकाली पौरखी समुहले नै जुटाउनेछन् । महिलालाई स्वरोजगार बनाउनको लागि विभिन्न योजना अघि सारेको छु।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि ५५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । बिनियोजित बजेट मध्ये अधिकांश आयआर्जनमुलक  क्षेत्रमा खर्चियौ । वडा कार्यालयले वेरोजगार युवालाई फलफुल खेति र महिलाको  लागि मसला उद्योग सञ्चालन गर्न लगानी गरेको छ । वडा कार्यालयसँग बजेट अति नै न्यून भएकाले पूर्वाधार निर्माणमा थोरै बजेट मात्रै खर्च गरेका छौं । चालु आर्थिक वर्षको लागि पनि ५५ लाख रुपैयाँ नै बजेट बिनियोजन भएको छ । नगरपालिकाको आयस्रोत नै कम भएकाले वडाको बजेट न्यून भएको हो । जनप्रतिनिधी आएपछि धेरै विकास होस भन्ने  जनताको चाहाना छ ।तर, वडा कार्यालयसँग अत्यन्तै सीमित बजेट भएकाले जनताले अपेक्षाकृत काम गर्न सकेका छैनौं।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
मेरो वडा पर्याप्त सम्भावना बोकेको वडा हो । वडाको बृह्त गुरुयोजना बनाउन लागेको छु । त्यसको लागि दुई लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गुरुयोजना बनाउनको लागि कन्सल्टयान्टसँग सरसल्लाह गरिरहेको छु । वडाको बृहत योजना बनाएर नै विकास निर्माण कार्यलाई अघि बढाउने योजना रहेको छ । सडक, सार्वजनिक स्थल, मठमान्दिर वनजंगल, खेतियोग्य जमिन, वस्ती बसाल्ने स्थान र उद्योगकलकारखाला खोल्ने लगायतका  स्थानको पहिचान गरेर व्यवस्थित वस्ती बसाल्नेछौं । पाँचवर्षभित्र वडाका तिनवटै सडक कालोपत्रे गर्ने । एकघर एक धारासहितको खानेपानी उपलब्ध गराउने, आधारभूत विद्यालयलाई प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको छु ।त्यसको साथसाथै वडामा रहेका वेरोजगार युवा तथा महिलालाई स्वरोजगार बनाएर व्यवसायतर्फ अगाडी बढाउने योजना रहेको छ।

प्रस्तुति हिमाल लम्साल

प्रकाशित: ११ भाद्र २०७५ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App