coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१४ करोड लगानीमा तरकारी बजार बनाउँदै व्यवसायी

भरतपुर महानगरपालिका वडा नम्बर २, क्षेत्रपुरमा निर्माण हुँदै गरेको फलफूल तथा तरकारी थोक बजार। तस्बिर : सविता/नागरिक

चितवन - फलफूल तथा तरकारीका थोक व्यवसायीले आफ्नै पहलमा आधुनिक तरकारी बजार बनाउन थालेका छन् । यसको निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १४ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न तरकारी बजार बनिरहेको हो।

भरतपुर महानगरपालिका–२ को क्षेत्रपुरमा निर्माणाधीन बजारको काम ८७ प्रतिशत सकिएको तरकारी तथा फलफूल व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । गएको फागुनबाट पूर्वाधार निर्माणको काम सुरु गरिएको बजारमा बजारको बीच भागमा पिच गर्ने काम बाँकी रहेको उनले बताए । दुई सय १० वटा स्टल सहितको व्यवस्थित तरकारी बजार बनाउन लागिएको उनले बताए।

बजारमा २८ बाहिरी व्यावसायिक सटर, ३८ वटा खुद्रा पसल र बाँकी स्टल होलसेल व्यवसायीको हुने उनले जानकारी दिए । बजारमा तरकारी किसानलाई पनि निःशुल्क बिक्री कक्ष उपलब्ध गराइने तयारी छ । ‘किसानलाई उत्पादन बिक्री गर्न सहज होस् भनेर ८ देखि १० वटा स्टल निःशुल्क दिने विषयमा छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘व्यावसायिक तरकारी खेती गर्ने किसानलाई पनि सहुलियतमा स्टल उपलब्ध गराउँछौं।’

बजार निर्माणमा सहभागी व्यवसायिले विगत २५ वर्षदेखि भरतपुर महानगरपालिकाको लायन्स चोकमा रहेको जग्गामा सञ्चालन गरिएको फलफूल तथा तरकारी मण्डीमा व्यवसाय गर्दै आएका छन् । मण्डी रहेको ठाउँमा महानगरपालिकाले पार्किङ सुविधासहितको व्यवसायिक भवन बनाउने भनेर पटकपटक सर्नको लागि समय दिँदै आएको थियो । व्यवसायी र महानगरपालिकाको समन्वयमा जग्गा खोजी गरी आधुनिक तरकारी बजार बनाउन थालिएको हो।

फलफूल तथा तरकारीको कारोबार गर्दै आएका व्यवसायीको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि स्थापना गरेर आधुनिक तरकारी बजार बनाउन सुरु गरिएको छ । काठमाडौंमा रहेको कालिमाटी तरकारी बजारपछिको ठूलो बजार हुने गरी तीन बिघा जग्गा १६ वर्षका लागि भाडामा लिएर पूर्वाधार बनाउन थालिएको अध्यक्ष धितालले बताए।

लायन्स चोकमा रहेको तरकारी तथा फलफूल मण्डी, बालकुमारी स्कुलनजिक रहेको तरकारी मण्डी र कमलनगरमा रहेको मण्डी सर्वसाधारणले फलफूल तथा तरकारी किनमेल गर्ने बजार हुन् । यसबाहेक महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा लाग्ने हाटबाजर किनमेल गर्ने बजार बनेको छ । यी मण्डीमा ढल निकास, फोहोरमैला व्यवस्थापन नहुँदा र ठाउँ साँघुरो हुँदा बजार अव्यवस्थित र दुर्गन्धित हुने गरेको छ।

नयाँ बन्दै गरेको ‘भरतपुर महानगरपालिका फलफूल तथा तरकारी थोक बजार’मा भने यस्तो समस्या नहुने अध्यक्ष धितालले बताए । अहिले भइरहेको लायन्स चोकको मण्डीभन्दा धेरै र ठूला स्टल, खुला ठाउँ, पार्किङ, ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन लगायत व्यवस्थित पूर्वाधार हुने भएकाले बजार आधुनिक र नमुना बन्ने उनी बताउँछन् । ‘ठाउँ नै धेरै फराकिलो छ,’ उनी भन्छन्, ‘व्यवस्थित पूर्वाधार तयार गरिएकाले सफा र आधुनिक बजार बन्दैछ।’

महानगरको प्रमुख सडकबाट भित्र निर्माण भइरहेको बजारमा पुग्ने सडक विस्तार गरेर पिच गर्ने, बिजुली, पानी, ढल निकास र सरसफाइमा महानगरपालिकाले सहयोग गर्ने सहमति भएको उनले बताए । बजारमा फलफूल तथा तरकारीको मूल्य जानकारी दिने डिजिटल डिस्प्ले पनि महानगरपालिले राख्ने उनले जानकारी दिए।  

लायन्स चोकको तरकारी मण्डी हटाउने निर्णय भएको लामो समयपछि नयाँ ठाउँमा व्यवस्थित बजार बन्दै गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरे बताउँछन् । बजारसम्म पुग्ने बाटो बनाउने र तरकारी बजार व्यवस्थित बनाउन आवश्यक सहयोग गरेर महानगरपालिकाले समन्वयकारी भूमिका खेलेको उनले बताए । बजारबाट निस्कने फोहोर व्यवस्थापनको लागि समिति गठन गरेर काम गरिने उनले बताए । बजारबाट निकस्ने कुहिने फोहोरलाई महानगरपालिकाले सञ्चालन गर्ने फोहोरबाट ऊर्जा कार्यक्रममा प्रयोग गर्ने तयारी छ।

चितवनको बजारमा वरिपरिका १६ जिल्लाबाट तरकारी आउने गरेको छ । काठमाडौं, पोखरालगायत ठाउँमा यहाँ संकलन भएको तरकारी पठाउने गरिन्छ । आधुनिक बजारमा सेवा सुरु भएपछि दैनिक दुई करोडको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् । फलफूल तथा तरकारी थोक बजार निर्माण भदौ महिनाभित्रै सक्ने तयारी गरिएको संघका अध्यक्ष धितालले बताए । निर्माण सकेर असोज पहिलो सातादेखि सञ्चालन गर्ने उनले जानकारी दिए।

प्रकाशित: ११ भाद्र २०७५ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App