७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपभोक्ता ठग्ने ३९ सय ट्याक्सी कारबाहीमा

काठमाडौं - गत वर्ष मुलुकभरका झन्डै तीन हजार नौ सय ट्याक्सी कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्ता ठगेको र सरकारी नियम अनुसार नचलेका कसुरमा ती ट्याक्सीहरूलाई कारबाही गरेको हो।

विभागको तथ्यांक अनुसार गत आव ०७४/७५ मा मुलुकभरका तीन हजार आठ सय ९२ ट्याक्सीलाई जरिवाना गरिएको छ । उपभोक्ता ठग्न खोज्ने र नियम अनुसार नवीकरण नगर्ने ट्याक्सीलाई कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।

‘अनुगमनका क्रममा कैफियत देखिएका र समयावधिभित्र नवीकरण नगरेका ट्याक्सीलाई जरिवाना गरिएको छ,’ पुडासैनीले भने । अनुगमनका क्रममा कतिपय ट्याक्सीले मिटर तोडेर चलाएको भेटिएको थियो । ती ट्याक्सीले मिटर तोडेर ग्राहकबाट मनपरी भाडा असुलेको विभागको भनाइ छ।

त्यस्तै, कतिपय ट्याक्सीले ‘कलफास्ट’ गरेको र ढेडी हानेको भेटिएको थियो । राति नौ बजेपछि मात्र ट्याक्सीले रात्रिकालीन दर लिन पाउने व्यवस्था छ । त्यो समय समयभन्दा पहिला नै मिटरलाई रात्रिकालीन दर लाग्ने गरी छिटो बनाउनुलाई कलफास्ट भनिन्छ। सरकारले तोकेको रात्रिकालीन समयबाहेक अरु बेला उक्त शुल्क लिने ट्याक्सी कारबाहीमा पर्छन्।

त्यसैगरी, मिटरमा उठेको भन्दा धेरै रकम असुल्ने काम पनि केही ट्याक्सीबाट भएको भेटिएको छ । त्यसरी, मिटरमा उठेकोभन्दा धेरै लिएर डेढी हान्ने ट्याक्सीलाई पनि जरिवाना गरिएको छ । ट्याक्सीहरू समयावधिभित्र नवीकरण नगरेमा पनि कारबाहीमा पर्ने गरेको पुडासैनीले बताए।

पुडासैनीका अनुसार कारबाहीमा परेका ट्याक्सीलाई दुई हजार जरिवानादेखि १० दिन चल्न नदिनेसम्मको कारबाही हुन्छ । यसअघि, त्यसरी कैफियत देखिएका ट्याक्सीलाई दुई हजार जरिवाना लिने गरेकोमा अहिले कारबाहीको दायरा बढाएको पुडासैनीको भनाइ छ । उनका अनुसार त्यसरी जरिवानामा पर्ने ट्याक्सीलाई १० दिनसम्म मिटर बन्द गरेर चलाउन नदिने कारबाही पनि सुरु भएको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कारबाहीमा पर्ने ट्याक्सीको संख्या ह्वात्तै बढेको छ । विभागको तथ्यांक अनुसार अघिल्लो वर्ष दुई हजार दुई सय २६ वटा ट्याक्सीलाई जरिवाना गरिएकोमा गत वर्ष यो संख्या १६ सय भन्दा धेरैले बढेको छ।

त्यसैगरी, गत आर्थिक वर्षमा दुई हजार एक सय ९१ वटा ट्याक्सी नवीकरण नभएको विभागको तथ्यांकमा उल्लेख छ । यसमा प्रिन्टर जडान भएको ट्याक्सीको संख्याको पनि छ । गाडी बिग्रिएर, जलेर वा नष्ट भएका कारणले नवीकरण नभएको हुन सक्ने पुडासैनीले बताए । गत आर्थिक वर्षमा कुल तीन हजार तीन सय २६ वटा ट्याक्सी नवीकरण भएका छन् भने चार हजार ४० नामसारी भएको विभागको तथ्यांकमा उल्लेख छ।

गत वर्ष मुलुकभर जम्मा १० हजार ६ सय ४५ वटा ट्याक्सी दर्ता भएका छन् । त्यसमध्ये आठ हजार चार सय ५४ वटा ट्याक्सीमा प्रिन्टर (बिलिङ सिस्टम) जडान भएको विभागको तथ्यांकमा उल्लेख छ।

१६ उद्योगको बिक्री–वितरण बन्द
गत आर्थिक वर्षभरीमा विभागले १६ वटा उद्योगका उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ । नेपाल गुणस्तर अनुसार नभएपछि ती उद्योगलाई कारबाहीको लागि परिपत्र समेत गरिएको विभागले जनाएको छ।

यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा १० ले धेरै हो । अघिल्लो आर्थिक वर्षमा ६ उद्योगका उत्पादनको बिक्री बन्द गरिएको थियो । आर्थिक वर्ष ०७२/७३ मा कारबाहीमा परेका उद्योगको संख्या १७ थियो । ०७१/७२ मा सातवटाको उत्पादन बिक्रीमा रोक लगाइएको थियो।

त्यसै गरी, गत आर्थिक वर्षमा विभागले ६२ वटा उद्योगलाई स्पष्टीकरण सोधेको छ । अनुगमनका क्रममा ती उद्योगका विभिन्न उत्पादनमा कैफियत भेटिएपछि विभागले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा चित्त नबुझे विभागले थप कारबाही गर्छ।

अघिल्लो आर्थिक वर्षमा भने स्पष्टीकरण सोधिएका उद्योगको संख्या ७३ थियो । त्यसैगरी, ०७२/७३ मा ४५ वटा उद्योगलाई स्पष्टीकरण सोधिएकोमा त्यसअघिको वर्ष ३८ वटालाई उत्पादनबारे स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App