coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कमलाले खोस्यो महतो परिवारको खुसी

कमला नदीले बगाएर छोरा कृष्णकुमार महतोको मृत्यु भएको खबर सुनेर भक्कानिएकी बिनालाई सम्हाल्दै आफन्तजन तस्बिर : मिथिलेश/नागरिक

तुलसिपुर (सिरहा) - दुर्घटना नभइदिएको भए कृष्णकुमार महतो औरही–२ तुलसीपुरस्थित आफ्नो घरमा हुन्थे। जहाँ दुई दिदीबहिनी पुनमदेवी र सोनीकुमारी राखी लिएर उनको प्रतीक्षामा थिए। तर त्यसो हुन सकेन। जनैपुर्णिमाको दिन उनकै घरअगाडिको शिवमन्दिरमा चढाउने जल भर्न कमला नदी गएका १८ वर्षीय कृष्णकुमारको नदीमा बगेर ज्यान गएपछि यो परिवारको रक्षाबन्धन अश्रुपूर्ण बन्यो।

गोलबजार नगरापालिका–१३ राघोपुरमा चार महिनाअघि वैवाहिक बन्धानमा बाँधिएकी पुनमदेवी र कान्छी बहिनी सोनीकुमारी भाइलाई सम्झेर दिनभरि रोए । अब कसको हातमा राखी बाँध्नु भनी दिनभरि भक्कानिए उनीहरु । दिदी पुनम शुक्रबार भाइलाई राखी बाँध्न माइती आएकी थिइन्। भाइलाई कमलाले खासेको सत्य स्वीकार गर्न उनलाई गाह्रो परिरहेको छ।

विराटनगरमा उच्चशिक्षा अध्ययनरत कृष्णकुमार पनि शुक्रबार मात्र घर आएका थिए। शुक्रबार घडी पर्व (कुल देवताको पूजा) का दिन सम्पूर्ण परिवारसँगै खुसी मनाएको क्षण सम्झँदै बहिनी सोनीकुमारी पनि घरिघरि मुर्छा परिरहेकी थिइन् । यता आफन्तको काखमा टाउको राखेर ४० वर्षीया बिनादेवी छोरालाई एकपटक देखाइदेऊ भन्दै डाँको छाडेर रुँदैथिइन् । ‘हमर सुगाके लाईब दुु ‐मेरो छोरालाई ल्याइदेऊ)’, कमलामा जल भर्न गएका छोरा डुबेको खबर सुनेलगत्तैदेखि बिनाको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन् । उनका श्रीमान् राजदेवप्रसाद महतो टोलाइरहेको देखिन्थे। छोरा डुबेको खबर सुनेदेखि उनी मूर्छा पर्ने र आफन्तले पानी छर्केर होसमा ल्याउने क्रम चलिरहेको छ।

कृष्णकुमारले शनिबार ‘कमला नुहाउन जान्छु, छिट्टै फर्किन्छु’ भनेका थिए। घरअगाडिको शिवमन्दिरमा शनिबार रातिका लागि नाचगानसहितको कार्यक्रम आयोजन गरिएको थियो। बिहानैदेखि भक्तिगानले गाउँमा पवित्र वातावरण थियो। महतो निवासमा खुसी दोब्बर थियो। कारण कमला नुहाउन गएका छोरासँग नवविवाहित ज्वाइँ पनि आउँदै थिए । ज्वाइँको स्वागतमा महतो परिवारमा तयारी चल्दै थियो।

महतो परिवारक जेठी छोरी पुनमको गत वैशाख २१ गते गोलबजार–१३ राघोपुरका शैलेन्द्र महतोसँग विवाह भएको थियो। घरमा पाहुनाको स्वागत तयारी भइरहेकै बेला अचानक दुःखद खबर आयो, कमला नुहाउन गएकामध्ये तीनजना नदीमा डुबेर बेपत्ता भएको खबर। बेपत्ता हुनेमा कृष्णकुमारसमेत भएको खबरले महतो परिवारको खुसी आँसुमा फेरियो।

छोरा डुबेको खबर सुनेपछि राजदेव घरबाहिर आँगनको कुनामा गएर डाँको छाडेर रुन थाले। ‘श्रीमतीलाई बताउन सकिनँ,’ उनले भने, ‘दुःख कहाँ दबाएर राख्न सकिँदोरहेछ र, सबैले थाहा पाइहाले।’

परिवारको जीवनस्तर उकास्न भनेर राजदेव पाँच वर्षदेखि वैदेशिक रोजगारीमा थिए। पाँच वर्षपछि वैशाखमा घर फर्केका उनले जेठी छोरीको विवाह गरे। छोरा कृष्णकुमारलाई उच्च शिक्षा अध्यनका लागि विराटनगर पठाए। छोरालाई पढाएर हाकिम बनाउने सपना थियो उनको । राजदेवले रुँदै भने, ‘अब सबै सपना कमला नदीसँग बगेर गएको छ।’ महतो परिवार डाँको छाडेर रोएको सुन्दा निवास पुग्ने जोकोहीको आँखा रसाउँछ। यो गाउँबाट शनिबार कृष्णकुमारमात्र कमला नदीमा जल भर्न गएको स्थानीय बताउँछन्।

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ बेपत्ता भएका तीनजनामध्ये कृष्णकुमारको शव आइतबार बिहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित कमला नदीको खोचमा फेला परेको थियो। प्रहरीको खोजी टोलीले उनको मृत शरीर कमला नदीको धनुषा सीमामा फेला पारेको सिरहा प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले बताए। बेपत्ता बाँकी दुईजना गोलबजार नगरपालिका–४ का मन्जय महरा र राहुल महराको खोजी जारी रहेको श्रेष्ठले जानकारी दिए। नेपाली सेनासहितको टोलीले रबर बोटको सहायताले बेपत्ताको खोजी तीव्र बनाएको छ। कृष्णकुमारको शव भेटिएकै वरिपरि खोजी कार्य केन्द्रित गरिएको उनले बताए। साथै भारतको जयनगर प्रहरीसँग समन्वय गरी त्यसतर्फ पनि खोजी भइरहेको उनले बताए। बेपत्ता दुईजना आइतबार साँझसम्म फेला परेका छैनन्।

प्रकाशित: ११ भाद्र २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App