coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

साहित्यकारले सम्झे बाजपेयी

वीरगन्ज – भारतका पूर्व प्रधानमन्त्री एवम् त्यहाँका राष्ट्रवादी राजनीतिज्ञ स्वर्गिय अटल बिहारी बाजपेयीलाई सिमा क्षेत्रका भारतीय र नेपाली साहित्यकारले गत बिहीवार एक कार्यक्रममाझ सम्झिएका छन्।

राजनीतिज्ञसँगै साहित्यकार र पत्रकारको रुपमा पनि बाजपेयीको ठूलो पहिचान छ । सिमावर्ती बिहारको रक्सोलमा एक कार्यक्रम आयोजना गर्दै सिमावर्ती क्षेत्रका दुवै देशका साहित्यकार तथा बौद्धिक व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

‘उहाँ एक अद्वितीय व्यक्तित्व हुनुहुन्थ्यो । समकालीन युगमा उहाँको नेतृत्वमा भारतले विकासमा गति लिन सकेको थियो,’ नेपाल–हिन्दी साहित्य परिषद्का निवर्तमान अध्यक्ष ओमप्रकाश सिकारियाले भने, ‘हामी छिमेकी देशका नागरिक भएको नाताले छिमेकीसँग बाजपेयीको सन्तुलित र सुमधुर सम्बन्धको प्रशंसा गर्दछौं ।’ रक्सोलका नागरिक अगुवा भरतप्रसाद गुप्ताले साहित्य, पत्रकारिता र राजनीतिमा अटलको योगदान चिरस्मरणीय रहने बताए। 

‘ओजपुर्ण किसिमले शब्दहरू प्रस्तुत गर्न सक्ने उहाँ एउटा प्रखर वक्ता हुनुहुन्थ्यो । राजनीतिमा उहाँको उचाई सबैले जानेकै विषय हो । एउटा पत्रकारको रुपमा हामीले सम्झिनु पर्ने उहाँमा केही विशेषता थियो,’ विश्लेषक चन्द्रकिशोरले भने, ‘पत्रकार भएर काम गर्दा उहाँले सत्तापक्षका राम्रा कामलाई हौस्याउनु भयो । सँगसँगै प्रतिपक्षका आवाजलाई त्यतिकै सजगतासाथ मुखारित गर्नुभयो । समग्रमा भन्नुपर्दा उहाँले सहिष्णुताको पत्रकारिता गर्नुभयो।’ 

भोजपुरीका साहित्यकार उमाशंकर ‘दधीची’ले देशको राजनीतिक र सामाजिक जीवनमा बिरलै पाउने व्यक्तित्व भारतले अटलको रुपमा पाएको भन्दै बाजपेयीको व्याख्या गरे । रक्सोलमा समाजसेवी महेशकुमार अग्रवालको संयोजन तथा विभिन्न संस्थाहरूको सह–आयोजनमा भएको कार्यक्रममा ओमप्रकाश गुप्ता, कैलाशचन्द काबरा, सतिषचन्द सजल, बिम्मी शर्मा, कविता भट्टराई, रविन्द्र मिश्र, उषा श्रीवास्तव लगायतले बोलेका थिए । वाजपेयीको गत साउन ३१ मा निधन भएको थियो।

 

प्रकाशित: १० भाद्र २०७५ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App