७ वैशाख २०८१ शुक्रबार
समाज

चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना

काठमाडौं – काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो। आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा ९ओभरटेक० २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन्। दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै र चालकले जथाभावी चलाउदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए। ‘बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ,’ उनले भने।

बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन्। आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो। दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन्। आव २०७४/७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन्। कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ। रासस

प्रकाशित: १० भाद्र २०७५ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App