८ वैशाख २०८१ शनिबार
कला

योञ्जनका संगीतले भिजे रिन्छेनका आँखा

गोपाल योञ्जनद्वारा संगीतबद्ध गीत गाउँदै गायक सुरज कुमार थापा। तस्बिर : नागरिक

काठमाडौं -  संगीत साधक गोपाल योञ्जनलाई सम्झने पारखीको ललितपुरस्थित हार्ट फाउन्डेसनको हलमा शनिबार दिउँसो भीड लाग्यो। योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा योञ्जन पत्नी रिन्छेन योञ्जन पनि उपस्थित थिइन्। शुभारम्भ द म्युजिकल जर्नीको आयोजनामा योञ्जनको स्मरण गर्दै गायक तथा संगीतकार दुर्गा खरेललाई सम्मान गरिएपछि संगीत यात्रा सुरु भयो। खरेललाई गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार २०७५ बाट सम्मानित गरिएको हो।

नयाँ पुस्ताका किशोर आधि कसपालले योञ्जनको गीत ‘बनेको छ पहराले यो छाति मेरो ...’ गाउँदा सुन्नेहरूले पुराना दिनमा रेडियो नेपालमा बिहान बज्ने गीतको झल्को मेटे।

गीतकार तथा कवि नगेन्द्र थापाले जति योगदान योञ्जनले नेपाली गीत संगीतमा दिए त्यसको दश प्रतिशत पनि कदर भएन । योञ्जन गीत, संगीतको दोभान थिए।

गायक शैलेश सिंहले सधैं रियाजमा गाउने गीत गाउन योञ्जन पत्नी रिन्छेनसँग अनुमति मागे। गीतमा नारायण गोपालले स्वर दिएका थिए भने योञ्जनको शब्द र संगीत रहेको थियो। ‘यो गीत यस्तो समारोहमा गाउन मलाई डर लाग्छ तर आज आँट गरेको छु,’ सिंहले प्रस्ट्याए । यतिबेलासम्म भीडको मनमा कुन गीत होला भन्ने अनुमान चलिरहेको थियो। त्यतिकैमा रिन्छेनले स्वीकृति दिएपछि संगीत भर्न बसेका संगीतकर्मीले ताल कस्न थाले । ‘जीवनदेखि धेरै धेरै नै थाकेर, म मूर्दा भएको तिमी आज हेर’ भन्दै सिंहले गायकीको सुर बाँध्न थालेपछि भीडमा एक तमासको शून्य छायो । हँसिली रिन्छेनको अनुहार एकाएक उदास देखियो।

यहाँ ढुंगा गर्छ इश्वरको अभिनय,
यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने, कल्लाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मूर्दा भएको तिमी आज हेर...

गीत गाउँदै शैलेश घरीघरी रिन्छेन तिरै हेर्दै थिए । रिन्छेनको अनुहारमा यतिबेला उदासी हैन, आँखाबाट झरेका आँशु थिए । ‘गीत सकिएलगत्तै शैलेशले सोधे, ‘कस्तो भयो भाउजु ?’ रिन्छेनले आँखाको आँशु झिमझिम गर्दै सुकाउन खोजिन् र जबर्जस्ती ओठमा हाँसो ल्याउदै भनिन्, ‘राम्रो छ।’

सिंहले उनको पीडा भुलाउन खोज्दै थपे, ‘अब रोमान्टिक गीत छ है ।’ त्यति भनेर उनले ‘ए मलाई माया गर्छु भन्नेहरू’ गीत गाएर आफ्नो पालो सकाए । यसपछि योञ्जनलाई सम्झिने क्रममा देवेन्द्रमान सिंहले ‘तिम्रो जस्तो मुटु मेरो पनि’ बोलको गीत गाए भने  सुरजकुमार थापाले ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ’ र ‘पश्चिम कोही पूर्व घर’मा स्वर भरे।

सम्मानित स्रष्टा खरेलले ‘प्रेयसीका हत्केलामा कोरिएका रेखाहरू’, ‘मेरो माया बादलको भुवा’ जस्तै सहितका गीत गाएर योञ्जन सम्झे।

वैशालु उमेरकी योञ्जन पत्नी रिन्छेनलाई स्थानीय युवाले मन पराएर योञ्जनकै गीत लेखेर प्रेमपत्र दिएको ठट्यौली स्मरणसमेत खरेलले गर्न भ्याए।

सम्मानित भएपछि खरेलले आफ्ना गुरु गोपाल योञ्जनसँग गीत संगीत सिक्दाको क्षण याद गरे । ‘देश, जाति, लोक गीत, माया, शास्त्रीय संगीतको त्यो पाठशाला साँच्चिकै फ्याक्ट्री जस्तै थियो,’ खरेलले भने, ‘बिहानदेखि राति बाह्रबजेसम्म योञ्जन त्यही बसेर सिर्जना गर्नुहुन्थ्यो ’ खरेल भने । त्यहाँ सिर्जना भएका हरेक गीत कालजयी बने । ‘जीवनको हरेक मोडमा’ गीत बन्नासाथ सो गीत सिकेर खरेलले विभिन्न ठाउँमा गाउँदै हिट बनेको सुनाए । योञ्जनसँग काम गर्दै गर्दा नाट्यकर्मी मनबहादुर मुखियासँग काम गर्दा ‘अनि देउराली रुन्छ’ लगायतका दर्जनौं नाटकमा गीत संगीत भर्ने काम खरेलले योञ्जनसँगै गर्ने अवसर पाएका थिए।

गीतकार तथा कवि नगेन्द्र थापाले जति योगदान योञ्जनले नेपाली गीत संगीतमा दिए त्यसको दश प्रतिशत पनि कदर गर्न नसकिएको बताए । ‘योञ्जन गीत, संगीतको दोभान थिए,’ थापाले भने, ‘ तर उनको गायन भंगालो जस्तो भएर ओझेल पर्यो ।’ थापाका अनुसार योञ्जनका गीतले संगीतका प्रत्येक आयाम, कोण र विधाले मानिसका जीवन छोएका हुन्थे । सुगम संगीतलाई दिएको योगदान र लोकलयमा शास्त्रीय संगीतको फ्युजन गरेर दिएको नयाँ सिलसिलाले संगीतको आयाममै फरक ल्याएको दाबी थापाको थियो । आयोजक सुवासचन्द्र ढुंगेलले भीडको पछि नलागी काम गर्ने स्वभावका योञ्जनले अहिलेसम्म संगीत पारखीलाई आफ्नो पछि लगाउन सफल रहेको दाबी गरे । कार्यक्रममा स्रष्टा शरद प्रधानले सम्मानित दुर्गा खरेलले योञ्जनसँग बिताएका बेला गरेका योगदानको चर्चा गरे । कार्यक्रममा नयाँ पुराना पुस्ताका संगीत पारखीले साँझसम्म योञ्जनका गीत सुन्ने र सुनाउने गर्दै सरिक भएका थिए।

प्रकाशित: १० भाद्र २०७५ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App