coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुआब्जाको अझै टुंगो छैन

चिप्लेमा बाँध बनाउँदा आफ्नो डुवान हुने जमिन देखाउँदै नारायणदत्त पौडेल। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले भेरी नदीको चिप्लेमा बाँध (ड्याम) निर्माण गर्दा लेखबेसी नगरपालिका–१ का गेहेन्द्र पाण्डेको घर, मिलसहित एक बिघा जमिन डुवानमा पर्छ। आयोजनाले अहिलेसम्म मुआब्जाबारे उनीसँग कुनै छलफल गरेको छैन । मुआब्जा र प्रभावित क्षेत्र यकिन नहुँदा स्थानीय अन्योलमा छन्।

पाँच वर्षअघि आयोजनाले प्रभावित क्षेत्रको सर्भे गरेको थियो । त्यसयता आफूहरुसँग कुनै छलफल र समन्वय नगरेको स्थानीय बताउँछन् । ‘सुरुङ निर्माणको काम सकिन लागिसक्यो, आयोजनाले हामी प्रभावित क्षेत्रका बासिन्दासँग कुनै छलफल र समन्वय गरेको छैन,’ पाण्डेले भने, ‘उचित मुआब्जा नपाउँदासम्म हामी आफ्नो जमिन छाड्दैनौं ।’ आयोजनाले समयमै समन्वय नगर्दा आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच द्वन्द्व बढ्ने देखिएको छ।

पाँच वर्षअघि आयोजनाले गरेको सर्भेका क्रममा भेरीको चिप्लेमा ड्याम निर्माण गर्दा भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका ३५ हेक्टर जमिन डुवानमा पर्ने अनुमान गरेको थियो । स्थानीयहरु आयोजनाको सर्भेप्रति पनि सशंकित छन् । आयोजनाका अनुसार सुक्खायाममा भेरी नदीमा ८० क्युमेक पानी हुन्छ । हरेक वर्ष भेरीले वर्षायाममा किनारका सयौं हेक्टर जमिन कटान गर्ने गरेको छ।

स्थानीय प्रभावित क्षेत्रको पुनः सर्भे गर्नुपर्ने बताउँछन् । नारायणदत्त पौडेलको गुर्भाकोट नगरपाकिला–१३ र भेरीगंगा नगरपालिका–१४ मा गरेर १३ कट्ठा जमिन प्रभावित क्षेत्रमा पर्ने आयोजनाको रिपोर्टमा उल्लेख छ । पौडेल भने त्यो मान्न तयार छैनन् । ‘चिप्लेमा १५ मिटर अग्लो ड्याम निर्माण गर्दा भेरी किनारका सयौं हेक्टर जमिन डुवानमा पर्छन्,’ पौडेलले भने, ‘सुक्खायामको पानीलाई आँकलन गरेर गरिएको सर्भे हामी मान्न तयार छैनौं।’

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम ६१ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाले अहिलेसम्म बाँध (ड्याम) र बबईमा विद्युत्् गृह (पावरहाउस) निर्माणको कुनै सुरसार गरेको छैन । आयोजना प्रमुख रहेका शिवकुमार बस्नेत सरुवा भएका छन् । उनको ठाउँमा बुधबारदेखि सञ्जीव बराल आउँदैछन्।

आयोजना प्रमुख बराल प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरेर मुआब्जाको टुंगो लगाउने बताउँछन् । टनेल बोरिङ मेसिन (टिबिएम)ले रिक्स जोन पार गरेर अगाडि बढेको छ, अब हामी चिप्लेमा बाँध निर्माण र बबईमा विद्युत््गृह निर्माणलाई प्राथमिकता दिन्छौं,’ आयोजना प्रमुख बरालले भने, ‘बाँध निर्माणबाट डुवान हुने क्षेत्रका बासिन्दासँग छलफल गरेर मुआब्जाको टुंगो लगाउँछौं।’

भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण थालिएको हो । भेरीको पानी बबईमा खसाल्नका लागि चुरे पर्वतभित्रको १२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ । अहिलेसम्म ७.३ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । अहिलेकै गतिमा आयोजना अगाडि बढे फागुनको दोस्रो सातामा सुरुङ खन्ने काम सम्पन्न हुन्छ।

२०६४ देखि भएको आयोजना २०७८ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजना सुरुङ निर्माणमा मात्रै केन्द्रित हुँदा तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका बढ्न थालेको छ । आयोजना प्रमुख बराल भने अहिलेको भन्दा अझ बढी स्पिडमा काम गर्ने बताउँछन् । ‘मसहित नयाँ टिम आउँदैछौं, स्पिडमा काम गरेर देखाउँछौं,’ उनले भने, ‘सरकारले लिएको लक्ष्य अनुसार नै आयोजना सम्पन्न हुन्छ ।’ आयोजनाले ड्याम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन विभागमा पेस गरेको छ । प्रतिवेदन स्वीकृत भएको छैन।

प्रकाशित: १० भाद्र २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App