coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

करातेमा पनि निराशा

एसियाली खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा प्रतिस्पर्धा गर्दै नेपालकी चञ्चला दनुवार । तस्बिर सौजन्यः राखेप

काठमाडौं – चीनले इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धी जापानलाई स्वर्ण पदकमा दोब्बर अन्तरले पछि पारिरहेको अवस्थामा नेपालको पदक आशामा भने एकपछि अर्को गर्दै तुषारापात भएको छ। 

७१ स्वर्ण, ४९ रजत र २९ कांस्य गरी १ सय ४९ पदकसहित चीन शीर्ष स्थानमा छ भने ३४ स्वर्ण, ३१ रजत र ४३ कांस्य गरी १ सय ८ पदकसहित जापान दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले २५ स्वर्ण, २६ रजत र ३३ कांस्य पदक जितेको छ । दक्षिण एसियाली राष्ट्र भारत ६ स्वर्ण, ५ रजत र १७ कांस्य जित्दै पदकतालिकाको नवौं स्थानमा छ ।

जकार्तास्थित सभाकक्षको प्लेनरी हलमा भएको महिला ६८ केजीमाथिको तौलसमूहमा रीता कार्कीले पाकिस्तानकी नर्गिसलाई ३–१ तथा सोही हलमा ६० केजी तैलसमूहमा चञ्चला दनुवारले थाइल्यान्डकी मोन्सिचा तारातानकुललाई ५–० को नतिजा सुम्पिएपछि सम्भावित कांस्य पदकबाट नेपाल वञ्चित भएको हो । रीताको तैलसमूहमा जापानकी युकेसा युमीले चीनकी गाओ मेङमेङलाई ५–३ ले हराउँदै स्वर्ण पदक हात पारिन् । गाओ मेङमेङले क्वार्टरफाइलनमा रितालाई पराजित गरेकी थिइन् । 

त्यस्तै चञ्चलाको तौलसमूहमा जापानकी सिमिजु कियोले स्वर्ण पदक जित्दा मकाउकी सोउ सोइलामले रजत पदक हात पारिन् । नतिजाबाट निराश बनेका कराते प्रशिक्षक दीपक श्रेष्ठले खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको कमी भएका कारण ऐतिहासिक कांस्य पदक नजिक पुगेर पनि चुक्नुपरेको बताए ।

‘रीतासँग अन्तर्राष्ट्रिय अनुभव नहुँदा देशका लागि पदक जित्ने स्वर्णिम अवसरबाट हामी वञ्चित भयौं। 

‘पर्याप्त अन्तर्राष्ट्रिय अनुभवकै कारण पाकिस्तानले कांस्य पदक जित्यो । पाकिस्तानकी नर्गिसविरुद्ध रीताको पहिलो अन्तर्राष्ट्रिय अनुभव हो,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘रीतासँग अन्तर्राष्ट्रिय अनुभव नहुँदा देशका लागि पदक जित्ने स्वर्णिम अवसरबाट हामी वञ्चित भयौं । 

करातेकै पुरुष काताअन्तर्गत नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा कतारका हसेम अधमसँग ५–० ले पराजित भए । परशुरामको विधामा जापानका कियुना रायोले स्वर्ण पदक हात पार्दा चाइनिज ताइपेईका वाङ यिताले रजत तथा इन्डोनेसियाका जारेस्ता युदा र दक्षिण कोरियाका पार्क हेजुनले कांस्य पदकमा चित्त बुझाए । आइतबार नेपालका सोनाम लामाले ६० केजी तौलसमूहमा चीनका एनगुयन भान हाईसँग र विजय लामाले ६७ केजी तौलसमूहमा जापानका हिरोतो सिनोहारा र सुनीता महर्जनले महिला ६१ केजी तौलसमूहमा थाइल्यान्डकी अरम सुकिवसँग प्रतिस्पर्धा गर्नेछन् ।

म्याराथन 
पदक आशा गरिएका खेलमा निराशाजनक नतिजा आइरहँदा शनिबारबाट सुरु भएको एथलेटिक्सको नतिजाले पनि नेपाललाई उत्साही बनाउन सकेन । म्याराथनमा सहभागी नेपालका गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले निधारित दूरी पूरा गरेनन् । जापानका इओइ हिरोतोले २ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्दा नेपालका कृष्णबहादुर बस्नेतले ४० किलोमिटर र गोपीचन्द्रले ३० किलोमिटर दूरी पार गरेर दौड छाडेका थिए। 

जापानका हिरोतोभन्दा थोरैले पछि परेका बहराइनका इलब्बासी इलहसनले रजत तथा चीनका दुओ बुजिईले कांस्य पदक हात पारे । बुजिईले २ घण्टा १८ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गरेका थिए । २१ जनाले सहभागिता जनाएको म्याराथनमा १५ जनाले मात्र दूरी पूरा गरेका थिए।

बक्सिङ
शनिबार नेपाल बक्सिङमा प्रतिस्पर्धा गरेका तीनै विधामा पराजित भएको छ । महिला ६० केजी तौलसमूहअन्तर्गत अन्तिम १६ मा प्रतिस्पर्धा गरेकी पुनम रावल चीनकी याङ वेनलुसँग ५–० ले पराजित भइन् । त्यस्तै पुरुष ६४ केजी तौलसमूहअन्तर्गत अन्तिम ३२ मा नेपालका भूपेन्द्र थापा जोर्डनका अलकास्बेह ओबादासँग ४–० ले पराजित भए । पुरुष ४९ केजी तौलसमूहअन्तर्गत अन्तिम ३२ मा नेपालका तेजबहादुर देउवाले लाओसका खामसाथोनी खामफोउभानलाई ३–१ को नतिजा सुम्पिए। 

ब्याड्मिन्टन
पुरुष युगलतर्फको अन्तिम १६ मा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठ मलेसियाका खेलाडीसँग २–० ले पराजित भए । मलेसियाका वी किओङ तान र शेम गोहको जोडीसँग पहिलो सेटमा २१–९ को नतिजामा पराजित भएको नेपालको जोडी दोस्रो सेटमा २१–१२ ले पराजित भएको थियो । नवीन र विकासको जोडीले अन्तिम ३२ मा मंगोलियाका सुमियासुरेन इनखाबत र तेमुलेन गोम्बुदोर्जको जोडीलाई २१–१२, २१–७ ले पारजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको थियो।

त्यस्तै महिला एकलतर्फ नेपालकी नङ्सल तामाङ अन्तिम १६ मा जापानकी यामागुची अकानीसँग २–० को सेटमा पराजित भइन् । ११ मिनेट चलेको पहिलो सेटमा २१–७ ले पराजित भएकी नङ्सलले दोस्रो सेट २१–१२ ले गुमाएकी थिइन् । दोस्रो सेट १० मिनेट चलेको थियो । नङ्सलले पहिलो चरणमा माल्दिभ्सकी अब्दुल रजाक फथिमा नबाहलाई २१–१९, २१–१५ ले पराजित गरेकी थिइन्।

स्पोर्ट्स क्लाइम्बिङ
पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठले शनिबार अघिल्लो चरणमा स्थान बनाउन नसकेपछि नेपालले डेब्यु गरेको खेल स्पोर्ट्स क्लाइम्बिङमा नेपालको चुनौती समाप्त भएको छ । टोकियो ओलम्पिक २०२० मा पनि समावेश गरिएको खेलमा नेपालका पेम्बा १९औं तथा प्रनिलमान २०औं स्थानमा रहे । फिलिपिन्स, थाइल्यान्ड र मंगोलियाका खेलाडी प्रनिलमानभन्दा पछाडि रहे। 

नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका महासचिव मेघराज केसीले एसियाली खेलकुदको सहभागिताले टोकियो ओलम्पिकको तयारीमा सहयोग पुगेको बताए । केसीले थपे, ‘पदक टाढाको कुरा होइन तर त्यसका लागि हामीले धेरै तयारी गर्नुपर्छ।’

आर्चरी
जिविके आर्चरी फिल्डमा भएका रिकर्भ पुरुष टिम खेलमा नेपालले अन्तिम १६ मा कतारलाई ६–० को नतिजामा पराजित गरे पनि अन्तिम ८ मा चाइनिज ताइपेईसँग ६–० ले पराजित भयो । नेपाल २–०, २–०, २–० ले पछि परेको थियो ।

सेपाकताक्रो
शनिबारबाट शुरु भएको सेपाकताक्रोमा नेपालको पुरुष टोली मलेसियासँग २–० ले पराजित भयो।

बास्केटबल
थ्री बाइ थ्री महिला बास्केटबलअन्तर्गत शनिबार भएका दुई खेलमा पनि नेपालले राम्रो गर्न सकेन । पहिलो खेलमा मंगोलियासँग १२–११ को स्कोरले पराजित भएको नेपाल दोस्रो खेलमा जापानसँग २१–४ को भारी अन्तरले पराजित भयो। 

जापान, चाइनिज ताइपेई, मंगोलियासहित पुल ‘बी’ मा  रहेको नेपाल यसअघि प्रारम्भिक चरणमा चाइनिज ताइपेईसँग १९–८ को स्कोरमा पराजित भएको थियो  । लिगका सबै खेलमा पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको छ। 

प्रकाशित: १० भाद्र २०७५ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App