८ वैशाख २०८१ शनिबार
राजनीति

‘तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो’

प्रहरीकाे गाेलीबाट शुक्रबार मृत्यु भएका सन्नी खुना। तस्बिर : नागरिक

महेन्द्रनगर - शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथा सन्नी खुना काम गरेबापत आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए। उनीहरू बाटोभरि रक्षाबन्धनमा दिदीहरूसँग राखी बाँधी माग्ने र उनीहरूलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे । उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रूपमा काम गर्थे।

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कंदै गर्दा ट्राफिक चौक नजिकै घरको छतमा बसेका ८/१० जना प्रहरीले उनीहरूलाई गाली गर्दै भाग्न भने । ‘भाग्दै गर्दा प्रहरीले गोली हान्यो,’ सन्नीसँगै रहेका उमेशले भने, ‘सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।’ अनुनय गर्दागर्दै दुईजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए। सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, ‘प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो ।’ सन्नी र उमेश मिल्ने साथी हुन्।

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुरले बताए । उनले भने, ‘श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुप-यो।’ सरकारले समयमै निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गरिदिएको भए आफ्नो छोराले अकालमै ज्यान गुमाउनुनपर्ने उनले बताए। ‘गरिबका लागि न्याय हुँदैन हजुर !’ उनले भने, ‘हिजो गरिब परिवारकी निर्मलाले ज्यान गुमाइन्, आज मैले छोरो गुमाएँ।’ कमैया मुक्ति भएपछि सरकारले दिएको पाँच धुर जमिनमा घर बनाएर जीवन निर्वाह गर्दै आएका उनले भने, ‘घरबासबाहेक खुर्सानीको बोट लगाउने एक बित्ता जमिन पनि छैन।’ चामलदेखि खुर्सानीसम्म किनेरै खानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘बाबुछोराले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउँदै आएका थियौं,’ वीरबहादुरले भने, ‘अब एक्लै कमाएर खर्च चलाउनुपर्ने भयो।’

सन्नीलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र बिनाकारण गोली हान्ने र हान्न आदेश दिनेमाथि कारबाही हुनुपर्ने माग बुवा वीरबहादुरले गरेका छन्। उनले भने, ‘सरकारले गरिबलाई बिनाकारण मारेको छ। सन्नीलाई सहिद घोषणा र दोषीमाथि कारबाही घएपछि मात्र शव उठाउँछु।’ सन्नीको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

सन्नीको मृत्युपछि शोकमा डुबेका परिवारजनलाई सान्त्वना दिन उनको घरमा गाउँलेको आवतजावत बाक्लो भएको छ। सन्नीको घर वरपर जम्मा भएका आफन्तलाई प्रहरीले बेलाबेलामा आएर धम्क्याउने गरेको स्थानीय प्रमिला चौधरीले बताइन्। उनले भनिन्, ‘प्रहरीको गाडी पटकपटक आउँछ र घर वरपर नझुम्मिन भन्दै धम्क्याउँछ।’ प्रहरीको व्यवहार देखेर त्रसित बनेको बताउँदै सन्नीकी छिमेकी पार्वती डगौरा थारू भन्छिन्, ‘सुरक्षा दिने प्रहरीबाटै गाउँको एक कोपिला चुँडियो, अहिले प्रहरी घरमै आएर भीडभाड नगर्न भन्दै उल्टै धम्क्याउँछ।’

को हुन् सन्नी?
भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका वीरबहादुर खुनाका जेठा छोरा हुन् सन्नी। सन्नीकी दुई दिदी छन्। तीन वर्षको उमेरमै आमाको मृत्यु भएपछि बुबाले कान्छी भित्र्याए। कान्छी आमाबाट एक भाइ छन्। वीरबहादुर भीमदत्त नगरपालिकामा स्विपर छन्। घरको आर्थिक अवस्था कमजोर भएपछि सन्नीले कक्षा ४ भन्दा अगाडि पढ्न पाएनन्। १५ वर्षीय सन्नीले विगत चार महिनादेखि मार्बल लगाउने मिस्त्रीसँग हेल्परका रूपमा काम गर्न थालेका हुन्। ‘काम सिक्दै पैसा पनि राम्रै कमाएको थियो,’ बुवा वीरबहादुरले भने, ‘सुरक्षा दिने प्रहरीले नै मेरो छोरालाई खोस्यो ।’ मार्बल लगाउने काम सिक भनेर आफूले मिस्त्रीको पछाडि लगाएको उनले बताए।

प्रकाशित: १० भाद्र २०७५ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App