८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनीमा राष्ट्रप्रमुखको स्वागत तयारी तीव्र

फाइल फाेटाे

बुटवल - काठमाडौंमा आयोजना हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउन लागेका श्रीलंका र म्यान्मारका राष्ट्रप्रमुखले लुम्बिनी भ्रमण गर्ने भएका छन्। म्यान्मारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाल सिरिसेनाले बिमस्टेक सम्मेलनमा भाग लिन आउने क्रममा लुम्बिनी भ्रमण गर्ने भएका हुन्। बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते हुँदैछ। श्रीलंकाली राष्ट्रप्रमुखले सम्मेलन सकिएपछि भदौ १६ गते र म्यान्मारका राष्ट्रप्रमुखले सम्मेलनअघि १३ गते लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको पर्यटन मन्त्रालयले जनाएको छ।

म्यान्मारका राष्ट्रप्रमुख मिन्ट उच्चस्तरीय टोलीसहित १३ गते बुधबार बिहान ९ बजे लुम्बिनी पुग्ने कार्यक्रम छ । मिन्टलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले लुम्बिनी भ्रमण गराउनेछ। ९ बजेदेखि साढे १२ बजेसम्म मिन्टको टोली लुम्बिनीमा रहने बताइएको छ । साढे १२ बजे म्यान्मारका राष्ट्रप्रमुख लुम्बिनीबाट फर्कने कार्यक्रम रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले बताए । मिन्टको भ्रमण नितान्त निजी भएको उल्लेख गरिएकाले कुनै औपचारिक कार्यक्रम वा सहयोग घोषणाबारे आफूलाई जानकारी नभएको उनले बताए । लुम्बिनीमा म्यान्मारका राष्ट्रप्रमुखले मायादेवी मन्दिरको दर्शन गरी म्यान्मारकै गुम्बामा केही समय ध्यान तथा बुद्धपूजा गर्ने बताइएको छ। चार्टर गरिएको प्लेनमा भ्रमण टोली गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्नेछ । त्यसपछि म्यान्मारका राष्ट्रप्रमुख मिन्ट र नेपालका पर्यटनमन्त्री अधिकारी हेलिकप्टरमा लुम्बिनी जाने बताइएको छ। अन्य पाहुनालाई गाडीबाटै लुम्बिनी लगिनेछ । मौसमलाई ध्यानमा राखेर हेलिकप्टरमार्फत सीधै लुम्बिनी लैजाने वा भैरहवा हुँदै जाने भन्ने दुईवटै विकल्प रहेको प्रजिअ रानामगरले जानकारी दिए। टोलीलाई भव्य स्वागतको तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

त्यस्तै श्रीलंकाली राष्ट्रपति सिरिसेनाले सम्मेलन सकिएपछि १६ गते शनिबार लुम्बिनी भ्रमण गर्नेछन । पर्यटनमन्त्री अधिकारीसहितको टोलीले सिरिसेनालाई लुम्बिनी भ्रमण गराउने कार्यक्रम छ । भ्रमण टोलीमा दुवै देशका गरी ४४ जनाको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी रानामगरले जानकारी दिए।

‘श्रीलंकाली राष्ट्रप्रमुखको टोली शनिबार बिहान ९ बजे हेलिकप्टरमार्फत लुम्बिनी पुग्ने र साढे १२ बजे फर्कने तालिका पाएका छौं,’ उनले भने। सिरिसेनाको टोली मायादेवी मन्दिरको दर्शन गरी श्रीलंकाली टेम्पलमा केहीबेर बुद्धपूजा तथा ध्यान गरेपछि फर्कनेछ।

लुम्बिनी विकास कोषले दुवै देशका राष्ट्रप्रमुखलाई लुम्बिनीको कासाइ होटलमा खानाको व्यवस्था गरेको छ। दुई देशका राष्ट्रप्रमुखहरूको भ्रमणका लागि लुम्बिनीमा तयारी तीव्र्र पारिएको छ । लुम्बिनी र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबारदेखि नै लुम्बिनीको सुरक्षाका लागि डेढ सयको हाराहारीमा नेपाली सेना खटाइएको छ । म्यान्मारका राष्ट्रप्रमुख मिन्ट र श्रीलंकाली राष्ट्रप्रमुख सिरिसेनाको भ्रमणका दिन १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए । ‘नेपाल प्रहरी, सशस्त्र र सेना गरी तीन तहको सुरक्षा व्यवस्था रहनेछ,’ उनले भने। लुम्बिनी आसपासका जिल्ला तथा सीमानाकाको सुरक्षा व्यवस्था कडा पारिएको पनि उनले जनाए। लुम्बिनी सांकृतिक नगरपालिकाले लुम्बिनीको सरसफाइ तीव्र्र पारेको छ । बाटो मर्मतसम्भारको काम भइरहेको छ।

प्रकाशित: १० भाद्र २०७५ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App