यौन कौतूहलताका कारण अपराधमा फस्दै बालबालिका

आइतबार, १० भदौ २०७५, ०८ : १९ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं - बालबालिका स्वाभावले नै धेरै उत्सुक र चञ्चले हुन्छन्। उनीहरूमा सधैं नयाँनयाँ कुरा जान्ने धेरै नै कौतूहल हुने गर्छ। कहिलेकाहीँ त्यही जिज्ञासा मेट्ने बहानामा विभिन्न यौन हर्कत गर्न समेत उनीहरू पछि पर्दैनन्। क्षणिक आवेगमा गरिएका सानातिना गल्तीका कारण बालबालिका पछिल्लो समय गम्भीर प्रकृतिका यौनजन्य अपराधको जालोमा फस्न थालेका छन्।

किशोरावस्थामा टेक्नै लागेका बालबालिकाले क्षणिक मनोद्वेगलाई नियन्त्रणमा राख्न नसक्दा सामान्यमात्र होइन, जघन्य अपराधसमेतमा उनीहरूको संलग्नता देखिन थालेको छ। पछिल्ला तीन वर्षमा १८ वर्षमुनिका बालबालिकाको संलग्नता जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग (प्रयास), अप्राकृतिक मैथुन र बाल यौन दुराचारलगायतका गम्भीर प्रकृतिका बालबिज्याइँ (अपराध) मा देशभर नै बढिरहेको छ । जसको असर प्रत्यक्ष रूपमा समाजमा देखा पर्न थालेको छ। ‘बालबालिका स्वाभावले नै धेरै उत्सुक हुन्छन् । जानीनजानी यौन उत्सुकता मेटाउन खोज्दा गम्भीर प्रकृतिका अपराधमा जोडिन थालेका छन्,’ बालन्याय समन्वय समिति सचिवालयका उपसचिव ज्ञानेन्द्र इटेनीले भने, ‘सूचना प्रविधिको बढ्दो दुरुपयोग र विदेशी प्रभावले बालबालिका यौनजन्य तथा अन्य अपराधतर्फ उन्मुख भइरहेको देखिन्छ।’

इन्टरनेट, सञ्चारमाध्यम र अश्लील फिल्मको सहजताले बालबालिकालाई यौनजन्य आपराधिक गतिविधिमा लाग्न प्रेरित गरेको देखिन्छ। त्यस्ता गतिविधिबाट बालबालिकालाई टाढै नराखे गम्भीर प्रकृतिका समस्या निम्तिने जोखिम बढेको छ।

उनका अनुसार बालबालिकाले अभिभावकको यौन क्रियाकलापको दृश्य देखेर, इन्टरनेटबाट अश्लील चलचित्र हेरेर, यौन तथा प्रजनन शिक्षाको कमी, साथीसंगीको लहैलहैमा लागेर यौनजन्य अपराधमा सामेल हुने गर्छन्। ‘कतिपय बालबालिकाले अभिभावकको यौन गतिविधि नियालिरहेका हुन्छन्। त्यसैलाई सिको गर्न खोज्ने प्रवृत्ति यौनजन्य अपराधका रूपमा देखा परेका हुन्,’ उनले भने, ‘अभिभावकले यौनजन्य गतिविधि गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ।’

बालन्याय समन्वय समिति सचिवालयका अनुसार बर्सेनि बालबिज्याइँसम्बन्धी मुद्दा बढेको बढ्यै छ। आर्थिक वर्ष २०७३/७४ मा देशभर दुई सय ३५ बालबिज्याइका मुद्दा अदालतमा दायर भएका थिए। आव ०७३/०७४ मा दायर मुद्दामा तीन सय ४७ जना बालबालिका प्रत्यक्ष संलग्न थिए। यौन अपराधसँग जोडिएका एक सय ३९वटा मुद्दामध्ये जबरजस्ती करणीसम्बन्धी एक सय १५ वटा, जबरजस्ती करणी उद्योगसम्बन्धी १२ वटा, अप्राकृतिक मैथुन र बाल यौन दुराचारसम्बन्धी १२ वटा मुद्दा छन्। तीमध्ये १६८ वटा मुद्दा फैसला भइसकेको छ। ७३ वटा मुद्दाको फैसला हुन अझै बाँकी छ। आर्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३÷७४ मा बालबिज्याइसम्बन्धी ९७ वटा मुद्दा थपिएका छन्।

बाल मनोवैज्ञानिक तथा त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद शर्मा बालबालिकाका यस्ता बिज्याइँमध्ये धेरैजसो यौन अपराधसँग जोडिएका रहेको बताउँछन्। ‘पछिल्लो समयमा इन्टरनेट, सञ्चारमाध्यम र अश्लील फिल्मको सहजताले बालबालिकालाई यौनजन्य आपराधिक गतिविधिमा लाग्न प्रेरित गरेको देखिन्छ,’ उनले भने, ‘त्यस्ता गतिविधिबाट बालबालिकालाई टाढै नराखे गम्भीर प्रकृतिका समस्या निम्तिने जोखिम बढेको छ।’ उनका अनुसार अभिभावकले बालबालिकाको हरेक गतिविधिको निगरानी गरिरहनुपर्छ । जसले केही हदसम्म उक्त समस्या समाधानमा सहयोग पुग्नेछ।

बालबिज्याइँमा बालकको संलग्नता उच्च, बालिकाको संलग्नता न्यून
यौनजन्य अपराधमा अधिकांश बालकको सहभागिता देखिएको छ । बालकको तुलनामा यौनजन्य अपराधमा बालिकाको संख्या अत्यन्तै न्यून देखिएको छ। सचिवालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३ सय ४४ बालक र तीन बालिका छन्। त्यसैगरी आव २०७२७३ मा एक सय ३८ बालबिज्याइँसम्बन्धी मुद्दामा १ सय ५६ बालबालिकाको संलग्नता देखिएको छ । जसमध्ये १ सय ५५ बालक र एक बालिका छन्। बालिकाको तुलनामा बालक धेरै आक्रामक र र उत्तेजित हुने भएकाले बालबिज्याइँमा बढी संलग्नता देखिएको हो। भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्णकुमार थापाले पारिवारिक र सामाजिक कारणले नै बालबिज्याइँ हुने बताउँछन्। ‘धेरै झैझगडा र कोलाहल भइरहने परिवारका सदस्यको संलग्नता बालबिज्याइँ बढी हुने गर्छन्।’ उनले भने, ‘अभिभावकले जे गर्छन्, त्यसैलाई व्यवहारमा उतार्न खोज्दा बालबालिका अपराधतर्फ धकेलिरहेका छन्।’ उनका अनुसार अभिभावकले बालबालिकासँग हरेक विषयमा खुलेर सम्झाइबुझाइ गरेमा धेरै हदसम्म बालबिज्याइँको समस्या हल गर्न सकिन्छ।

आव २०७२/७३ मा एक सय ३८ वटा बालबिज्याइँका मुद्दा अदालतमा दायर भएका थिए। जबकि आव २०७१/ ७२ मा बालबिज्याइँसम्बन्धी १ सय २७ वटा मुद्दा परेका थिए। आव २०७१/७२ को तुलनामा आव २०७२/७३ मा बालबिज्याइँका मुद्दा ११ वटा बढी परेका छन्।

आव ०७२/०७३ मा दायर मुद्दामा १ सय ५६ जना बालबालिका प्रत्यक्ष संलग्न थिए। यौन अपराधसँग जोडिएका ५२ वटा मुद्दामध्ये जबरजस्ती करणीसम्बन्धी ३७ वटा, जबरजस्ती करणी उद्योगसम्बन्धी १२ वटा, अप्राकृतिक मैथुन र बाल यौन दुराचारसम्बन्धी ३ वटा मुद्दा छन्। यो कुल बिज्याइँका मुद्दामध्ये ३७.६८ प्रतिशत हुन आउँछ।

आव २०७१÷७२ मा परेका बालबिज्याइँसम्बन्धी मुद्दामध्ये ४२ वटा मुद्दा जबरजस्ती करणीसम्बन्धी, १७ वटा जबरजस्ती करणी उद्योगसम्बन्धी थिए। त्यस्तै लागूऔषधसम्बन्धी १२ वटा, कर्तव्यज्यानसम्बन्धी ८ वटा र साधारण चोरीसम्बन्धी १९ वटा मुद्दा परेका थिए। १ सय २७ बालबिज्याइँ मुद्दामा १ सय ३८ बालबालिका संलग्न थिए। यी सबै तथ्यांक बालबालिकामात्र संलग्न भएका मुद्दाको हो।

बाल मनोवैज्ञानिक शर्माले गरिबी, अशिक्षा, चेतनाको कमी र परिवार तथा समाजको बेवास्ताले बालबालिका आपराधिक गतिविधिमा संलग्न हुने बताउँछन्। किशोरावस्थाका क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा उनीहरू ठूला जोखिम उठाउने गर्छन्, जसको परिणाम भयानक निस्कन्छ,’ उनले भने, ‘प्रतिकूल अवस्थामा बालबालिकाले असल खराब छुट्टयाउनै सक्दैनन् र बिनाहिच्किचाहट गम्भीर अपराध गर्न पुग्छन्।’ गम्भीर प्रकृतिका बालबिज्याइँ (अपराध) मा कलिला बालबालिकाको संलग्नता बर्सेनि बढ्दै गएको पाइएको छ।

‘निम्नवर्गीय परिवारका बालबालिका यौनजन्य अपराधमा संलग्न हुने जोखिम उच्च रहेको काठमाडौं बाल इजलासकी सदस्य तथा समाजसेवी रिमा शर्मा बताउँछिन् । बालबालिकालाई अपराधमा संलग्न हुनबाट जोगाउन अपराध, यौन तथा प्रजजन स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ। ‘एकपल्ट अपराधमा संलग्न भइसकेका बालबालिका उचित परामर्श नपाउँदा फेरि पनि आपराधिक गतिविधिमा संलग्न भएको भेटिएको छ,’ उनले भनिन्, ‘कलिला बालबालिकालाई के गरे अपराध हुन्छ र के गर्दा हुँदैन भन्ने जानकारी दिन आवश्यक छ।’ अभिभावकले छोराछोरीको उचित हेरचाह नगर्दा बालबालिका जोखिमपूर्ण काम गर्न पछि नपर्ने शर्माको भनाइ छ। ‘कलिला बालबालिका अपराधतर्फ उन्मुख हुनु राष्ट्रका लागि खतराको सूचक हो। उनीहरूलाई अपराधी हुनबाट जोगाउन सबै एकजुट हुने बेला आएको छ,’ उनले भनिन् , ‘समाज र परिवारले बालबालिकालाई प्रचुर माया ममता दिएर सुधार्नुपर्छ।’ बालबिज्याइँसम्बन्धी मुद्दामा न्यायाधीशको नेतृत्वमा एकजना बाल मनोवैज्ञानिक र एकजना समाजसेवी रहेको इजलासले फैसला गर्नुपर्ने कानुनी व्यवस्था छ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा बालबालिकाले बिज्याइँ गरेमा १० वर्षमुनिका बालबालिकाले जुनसुकै अपराध गरे पनि कुनै पनि सजाय नहुने व्यवस्था छ। बालबालिकाको उमेर १० वर्ष वा माथि तर १४ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्मको कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधारगृहमा राख्न सकिने कानुनी व्यवस्था छ। १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा मुनिका बालबालिकाले कुनै अपराध गरे निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरेमा निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुईतिहाइ सजाय हुने व्यवस्था छ। बालबालिकाले कुनै बिज्याइँ (अपराध) गरे बाल सुधारगृहमा राखी आचरण सुधार्नुपर्ने व्यवस्था छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...