७ वैशाख २०८१ शुक्रबार
समाज

अपडेट : डुंगा दुर्घटनामा परेका ४० जनामध्ये १५ को उद्धार, २५ अझै वेपत्ता

रौतहट– रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ। दुर्घटनामा ४० जना सवार रहेकोमा साढे नौ बजेसम्म १५ जनाको जीवितै उद्धार गरिएको छ भने २५ जना अझै हराइरहेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिका ४ मा रहेको लालबकैया खोलामा साँझ साढे ७ बजेपछि डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

लालबकैया नदीको पश्चिमपट्टी रहेको ईशनाथ नगरपालिकातिर पारीबाट गौर नगरपालिकाको टिकुलियातिर वारितर्फ डुंगा नदीको बीचमा आइपुगेपछि तीव्र गतिको पानी बहावका कारण डुबेको हो। डुंगामा नदीभन्दा पश्चिमतिर रहेको खेतबाट घाँस काटेर फर्केर आइरहेका करिब ४० जना महिला, केटाकेटी तथा पुरुष सवार रहेको बताइएको छ।

बकैया नदीमा बाढी आएपनि राति ७ बजेको समयमा टिकुलिया घाटतर्फ डुंगा हिडेपछि बाढीको अत्याधिक बहावका कारण छालमा फसेर डुंगा डुबेको थियो। डुंगा डुबेपछि करिब तत्कालै पाँच जनाले पौडेर ज्यान बचाउन सफल भएका थिए। डुंगा दुर्घटना भएपछि पौडेर ज्यान जोगाउनेमा डुंगा खियाउने पप्पु सिंह, गौर ४ टिकुलियाका विजय चन्द्रवंशी, सीतादेवी सहनी, सीमादेवी र गीता देवी सहनी लगायतका छन्। घटना लगत्तै स्थानीयबासी र जिल्ला प्रहरी कार्यालय रौतहटबाट तत्काल खटेको प्रहरीको टोलीले उद्दार कार्य सुरु गरेको थियो। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पौडीबाज र स्थानीयबासी मिलेर साढे नौ बजेसम्म थप १० जनाको उद्धार गरेका छन्।

उद्धार गरिएकाहरु केही घाइते पनि छन्। घाइतेहरुको स्थानीय वैरिया अस्पतालमा उपचार भइरहको उद्धार कार्यमा संलग्न सशस्त्र प्रहरी निरीक्षक रामबालक साहले बताएका छन्।

रौतहटको सुरक्षा निकायले भारतीय सुरक्षा निकायसित समन्वय गरेर भारततिर पनि खोजी कार्य जारी राखिएको छ। 

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आफै घटनास्थलमा उपस्थित भएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पौडीबाज टोलीलाई परिचालन गरेर जतिसक्दो वेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य तिव्र बनाइएको बताएका छन्। राति भएको तथा सिमावर्ती क्षेत्र २ किलोमिटर मात्रै रहेको हुँदा वेपत्ता भएकाहरु अधिकांश त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको छ। 

सीमावर्ती भारतीय क्षेत्र गुवावारीमा ब्यारेज रहेको हुँदा त्यसतर्फ पनि काउण्टर पार्टका पदाधिकारीसंग समन्वय गरिएको र उनीहरुलाई समेत परिचालन गरेको प्रजिअ रिजालले स्पष्ट पारे। समाचार तयार पारुन्जेलसम्म वेपत्ता भएका बाँकी व्यक्तिहरु फेला पर्न नसकेको जिल्ला सुरक्षा स्रोतबाट बुझिएको छ।

प्रकाशित: ९ भाद्र २०७५ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App