८ वैशाख २०८१ शनिबार
अन्य

सात घण्टा जस्तो सात दिन

नाथम कलेजको भ्रमण टोली ।

कोलाहल काठमाडौंबाट केही दिन टाढा जाउँ भन्ने भाव मनमा उब्जिएको थियो । आँखाले पनि त्यसै भन्थ्यो, हिडँडुल गर्दा धुलो परेमा एलर्जीले सताएर।

बिहान उठ्, कलेज कुद । दिउँसो समाचार खोजीमा विभिन्न कार्यालय पुग । दैनिकी यसैगरी वित्दैथियो । नाथमका प्रिन्सिपल कृष्ण खरेलले शैक्षिक भ्रमणको प्रस्ताव ल्याउनुभयो । अहो, त्यो प्रस्ताव ! खुसीले शिखर छोयो । मनमा उमंग भरियो। 

‘चितुवन, लुम्बिनी, पाल्पा हुँदै पोखरा पुग्छौं । भ्रमण ६ रात, सात दिनको हुनेछ’, खरेल सरको आवाजले ताली पायो । हातै दुख्नेगरी ताली बजाएँ मैले पनि । साउन १७ गते, न्युरोडबाट शुरु भयो हाम्रो यात्रा । कलेजले साथमा टंक काफ्ले सरलाई पठाएको थियो । हाम्रो सेक्सनमा ३२ जना थियौं । सी सेक्सनबाट दुई जना थपिए । सबै गरेर ३५ जना भयौं। 

थानकोटबाट ओरालो झर्दै गर्दा धादिङतिरको मिठो हावा गाडीभित्र छिर्याे । यही संकेत नै काफि थियो, हाम्रो यात्रा गज्जब हुनेमा । नहोस् पनि किन ? कोही लामो समय विदेश बसेर फर्केका । पेसाका हिसाबले पनि सबैको फरक । ३५ जना पैतिँसै क्षेत्रका । व्यवसायी, आरोही, पत्रकार, वकिल, ट्रेकिङ गाइड, कलाकार, हाँस्य कलाकार, प्रहरी, स्वास्थ्यकर्मी लगायत । उमेर पनि त्यसैगरी फरक, २० देखि ५० वर्षसम्मका । उद्देश्यचाँही एउटै–पर्यटनकर्मी बन्ने अर्थात टुर गाइड।नागढुंगा नकट्दै शुरु भयो यात्राको रमाइलो । मछिन्द्र आर्चायले माइक्रोफोन हातमा समाउँदै शुरु गराउनुभयो–पालैपालो प्रतिभा प्रस्टफुटन गराउन । कसैले गीत गाए, कसैले जीन्दगीका मिठा अनुभूती सुनाए । कसैले चुट्किला भनेर पेट मिचिमिचि हँसाए । कसैले कविता भनेर भावुक बनाए । कसैले गजल सुनाएर उल्लास छरे । यसरी चितवन पुगेको पत्तै भएन् । हरियो महिना साउन । हरियो थियो चितवन । वाह लाग्यो सौराहा त झन ! सूर्यको चमक थियो । पंक्षीको आवाज गुन्जिन्थ्यिो । काठमाडौंमा कहाँ पाउनु त्यस्तो । सबै खुशी भए सौराहामा। 

सौराहाबाट किन सिक्दैन काठमाडौं ? सौराहाले थारु नाच देखाएर राम्रो आम्दानी गरिरहेको छ भने काठमाडौं किन चुप छ ? काठमाडौंमा त झन् सबै जातजातीको बसोबास छ । एक जाती, एक नृत्य गरेर मनोरञ्जन दिलाएर आम्दानी गर्न सक्छ काठमाडौंले। 

पहिलो दिन चितवनको सौराहामा । त्यहाँ पुग्दा होटलमा गाइड हरि पोखरेल तयारीमा थिए हामीलाई सौराहा भ्रमण गराउन । त्यो भन्दा अगाडि नै पार्कल्यान्ड होटलको स्वागतम् । झन् मोहित बनायो सौराहाले । गाइडले हिडाउँदै चितवन राष्ट्रिय निकुञ्जमा छिराए । बाँधेर राखिएका हात्ती देख्दा सबैका क्यामेरा त्यतैतिर तेर्सियो । ढुंग्रेखोलातिरैतिर जाँदा गाइड विभिन्न पंक्षी चिनाइरहेका थिए । महाभारतबाट आएको राप्ती नदीमा ढुंग्रे खोला मिसियो । हामी पनि त्यहीबाट फर्कियौं। 

जंगलबीचमा पुग्दा मुटुको धड्कन तिव्र भयो डरले । ‘जलगैँडा भर्खर नदिबाट निस्केर रिसाएर जंगल छिरेको छ । आफुतिर आयो भने रुख चढिहाल्नु ।’ गाइडको निर्देशनले सबैको मुटु धड्किएको अनुमान सोझै गर्न सकिन्थ्यो। सौराहाको आकर्षण स्थानीय संस्कृती पनि हो । थारु कल्चर सेन्टरमा देखाइने थारु नाचले मोहित पार्छ सबैलाई । विदेशी समेत नाचमा झुमिरहेका देखिन्थे । हरेक दिन बेलुका ८ बजेबाट ९ बजे थारु नाच देखाइन्छ । त्यो नाच हेर्दा काठमाडौंका भल्गर डान्स देखाउने डान्सबारको याद आयो।

‘यसरी पनि त मनोरञ्जन दिन सकिने रहेछ’, मनमा भाव उब्जियो । काठमाडौंमा त झन् सबै जातजाती छन् । एक जाती, एक नृत्य गरेर झन मनोरञ्जन दिन सकिन्छ । विशेषगरी नेवारी संस्कृतिको नाच देखाउन सकिन्छ । कल्चरल डान्सबाट पनि आम्दानी गराउन सकिन्छ । पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ । चितवनबाट काठमाडौंले सिक्न किन सकिरहेको छैन ? मनमा जिज्ञास खेलिरह्यो थारु नाच हेरुन्जेल।  

दोस्रो दिनको यात्रा पनि चितवनकै थियो । बिहान गाइड पोखरेलले जंगल हाइकमा लगे । बुढी राप्ती खोला १४ जना एउटै बोटमा बसेर जाँदाको रमाइलो छुट्टै थियो । गाइड हामीलाई कहिले घडियाल गोही देखाउथेँ, कहिले मगर गोही । गोही देख्दा सबैको मुटु धड्किएर बोट नै हल्लिएला झैं भयो । गोहीले झम्टेला भन्ने पिर।  बोटबाट झरेर जंगल हाइक गयौं । जनवार र पंक्षी देख्दा साँच्चै रमायौं । जुकाले पनि उसैगरी पछ्याइरहयो । ममता तामाङलाई जुका लागेपछि आएको चिच्याहट त अझै कानमा गुञ्जिरहेको छ । गाइड चाँही जनवार तथा पंक्षी भाग्ने हुँदा हल्ला नगरी हिँड्न  सुझाइरहेका थिए । हिँड्दै गर्दा निकुञ्जको अवधारणा ल्याउने राजा महेन्द्रलाई सम्झिएँ मैले । महेन्द्रले निकुञ्जको अवधारणा नल्याएका भए सायदै राजा वीरेन्द्रले सन् १९९३ मा निकुञ्ज स्थापना गर्दा हुन् जस्तो लाग्यो । निकुञ्ज स्थापना नगरेको भए, सायदै जंगल रहन्थ्यो र हामी घुम्थ्यौं ! 

थारु गाउँमै गएर त्यहाँको जीवन नियाल्नु तथा कल्चर बुझ्नु त छँदैछ । हात्तीले मान्छेलाई नुहाइदिएको देख्दा पनि वाह त भइहाल्छ । हात्ती माथि चढेर जंगल सफारी गर्दा त झन् मज्जा । सौराहाको आर्कषण पनि हो हात्ती सफारी । सौराहा पुग्नेहरु सायदै फर्किन्छन् हात्ती नचढी । हामी झन् त्यो सफारीबाट कसरी छुट्थ्यौं र ।  एकसिंगे गैंडा नियाल्यौं हात्तीमाथि चढेर । मृग, घोरल, कालिज, मंयुर त झन् कति कति । जनावर, पंक्षी नियाल्दाको  रमाइलो त छँदैछ। 

अर्को रमाइलो पनि अनूभुत गर्याैं हामीले । हात्ती सफारी गरिरहेका बेला पानी पर्याे । हात्तीमाथि चढेर छाता ओढ्दाको अनुभूती जीवनमै पहिलोपटक भयो । आजलाई सकियो होला भन्ने लागेको थियो खाना खाएपछि । बेलुका त झनै रमाइलो भयो । त्यो रमाइलो चाँही हामीले गर्याैं सांस्कृतिक माहोल सृजना गरेर । त्यो वातावरण होटल र गाइडले मिलाएका थिए । अहा ! हाम्रै साथीहरु कति मज्जाले नाच्दा रहेछन् !  
नविन गिरि उमेरले करिब ५० होलान् । कक्षामै सबैभन्दा पाको । ४० कटेसी रमाउँला...गीतको बोलमा उनको डान्सले त सबैलाई नाच्न बाध्य बनायो । कहिले ननाच्ने म जस्ता पनि कम्मर मर्काउन बाध्य भएँ।

तेस्रो दिनको यात्रा लुम्बिनी थियो । कक्षामा बुद्धिजम पढाउने सरले रामग्रामको कुरा गर्नुभएको थियो । रामग्राम पुग्ने हाम्रो सूचीमा थिएन् । तर, हामीले चालकसँग सल्लाह गरेर जाने तयारी गर्याैं । नवलपरासी जिल्लामा पर्ने रामग्राम लुम्बिनी जाने मुल सडकबाट करिब चार किलोमिटर टाढा थियो।

रामग्रामको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व कक्षामै पढेका थियौं । बुद्धको महापरिनिर्वाणपछि अस्तिुधातु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा र कुशीनगर गरेर आठ भागमा बाँडेको र उक्त धातु राखेर स्तुप बनाएको मानिन्छ । पछि संसारभर ८४ हजार स्तूप बनाउने अभियानमा सम्राट अशोकले सात ठाउँको अस्तुधातु संकलन गरे पनि रामग्रामको भने नागहरूले झिक्न नदिएको मानिन्छ । यो हिसाबमा रामग्रामको अत्यन्तै महत्व छ । 

रामग्राममा न कुनै भव्य स्तुप छ न त्यसको अन्य विकास नै । स्तुप जसरी माटो थुपारिएको छ । एकतिर एउटा रुख छ–जहाँ चार विरुवाका पात देखिन्छन् । वर, पिपल, कर्म र पापडीका पातहरु । रामग्रामको भ्रमणपछि लाग्यो, ‘साँच्चिकै रामग्राम ओझेलमा छ । रामग्रामको प्रचाशप्रशार र विकास गर्ने हो भने बौद्धमार्गीको आकर्षक केन्द्र बन्न सक्छ ।’ बुझ्दा रामग्राम विकासको प्रयास हुँदै रहेछ । २०३७ सालदेखि रामग्रामको रेखदेखमा लुम्बिनी विकास कोष लागेको रहेछ । पुरातत्व विभागबाट पनि विकासका निम्ति काम हुने क्रममा रहेछ । आश गरौं, रामग्राम कुनैबेला चर्चित धार्मिक तथा ऐतिहासिकस्थल बन्नेछ । यसो भन्दै हामी लुम्बिनीतर्फ लाग्यौं, जहाँ बुद्धको जन्म भएको थियो।

त्यहाँ कोषका पुरातात्विक सल्लाकार वसन्त विडारी हामीलाई लुम्बिनी घुमाउन र पढाउन पर्खिरहेका थिए । मायादेवीको मन्दिरसँगै पोखरी छ । जुन पोखरीमा बुद्ध जन्मिँदा नुहाएको  मानिन्छ । अर्कोतिर पिपलको रुख छ, जहाँ बौद्धधर्म अन्र्तगतको थेरबाद (हिनयान) र महायान सम्प्रदायका अनुयायी बसिरहेका देखिन्थे । त्यहाँ बसेर बुद्ध र लुम्बिनीका बारेमा पढ्न थाल्यौं । गर्मीले हप्पकै तातेको थियो । वर्षायाम न प¥यो, कतिबेला पानी आउने पत्तै नहुने । पानी ओइरियो आकाशबाट । मायादेवीको मन्दिरभित्र गएर पढ्यौं, त्यहाँ पनि गर्मीले खपिसक्नु थिएन्। 

वाफिलो गर्मीसँगै विडारी सरले हामीलाई कहिले बुद्धका पञ्चशिल पढाउँथे । कहिले हामीलाई बुद्ध जन्मेको ठाउँ लुम्बिनी घुमाउँथे । कहिले बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगया पुगेको अनुभूत गराउँथे । सारनाथमा गएर वुद्धले शिक्षा दिएको होस् वा कुशिनगरमा महापरिनिर्वाण भएको विषय पढाउँदा होस्, हामी धेरै सिकिरहेका थियौं। 

बुद्ध नेपालमा जन्मेका हुन् भनेर अशोकले स्थापना गरेको स्तम्भ बोलिरहेको थियो । यो देख्दा हामी किन बुद्धको जन्मबारे बहस गरिरहेका छौं झैं हुन्थ्यो । सन् १९५६ मा भएको चौथो विश्व बौद्ध सम्मेलनबाट लुम्बिनीको गुरुयोजना आयो । त्यस अनुसार लुम्बिनी विकासक्रममा छ । भैरहवामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपछि र गुरुयोजना कार्यान्वयनपछि भने पर्यटकको घुइँचो त लाग्छ नै । नेपालले पनि लुम्बिनीबाट राम्रै फाइदा लिन सक्छ।

चौथो दिनको यात्रा पाल्पा भयो । पाल्पा मौसमका हिसाबले तुलनात्मक रुपमा चिसो थियो । पानी पनि परिरहेकाले होला, पाल्पाको भ्रमण त्यति रमाइलो भएन् । तर, पाल्पा जति घुम्यौं, काठमाडौंको झल्को दियो । वसन्तपुर क्षेत्रका कोर वस्ती जस्तै थिए,  तानसेनका बस्ती । नाम पनि केही बस्तीका काठमाडौंकै जस्तो । पाल्पामा मनमोहन श्रेष्ठ सरले राम्रैसँग घुमाउनुभयो । तर, हाम्रो मन भने राम्रोसँग घुम्न सकेन् । धेरैलाई लागेको थियो, हामी रानीमहल जानेछौं । त्यहाँ पुगेपछि स्थिती फरक भयो । हाम्रो ठूलो बस जाने सडक रहेनछ । सानो गाडी लिएर जाने सम्भावना हामीबाट भएन।  

पाँचौं दिन यात्रा गर्दै पोखरा पुग्यौं । पोखरा, शब्द नै धेरैका लागि मिठो हुन्छ । पर्यटकीय गन्तव्य, जहाँ पुगेर नरमाउने सायदै होलान् ! हामी पनि उत्साहित थियौं । पोखरा घुमाउन हामीलाई कुरिरहेका थिए, दिपक बास्तोला । पोखराको पहिलो दिनमा हामी गयौं, विश्व शान्ति स्तुप । बास्तोलाले हामीलाई त्यहाँ पनि बौद्ध धर्म र बुद्ध बारेमा पढाए । स्तुपको पनि जानकारी गराए। 

स्तुप भएको ठाउँबाट दृश्य नियाल्दा पोखरा सबै देखिन्थ्यो, स्वयम्भू गएर काठमाडौं नियाले जसरी । सहर उस्तै देखिन्थ्यो । पोखरालाई भने काठमाडौं जसरी किनारामा धुलोले ढाकेको थिएन् । स्वच्छ हावा बगेको थियो । फेवाले वाफ फ्याँकिरहेकोे थियो । तर, फेवा स्वयंचाँही खुम्चिएर पीडा महशुस गरिरहेको थियो । प्रदूषित हावाले काठमाडौंलाई बिगारे जस्तो पानीले फेवालाई बिगारेको स्पष्ट देखिन्थ्यो । पोखरा दोस्रो दिनचाँही विन्दावासिनी मन्दिरबाट शुरु भयो । चमेरे गुफा, डेभिल्स फल, पुतली म्युजिम, गुप्तेश्वर गुफा, शरणार्थी शिविर, पर्वतीय संग्रहालय हेर्दै रमाइलो गरियो। 

यसरी पोखरा घुम्दै गर्दा ‘पोखरा त साँच्चिकैको पोखरा नै रहेछ’ गीतको याद आउँथ्यो । फेवाताल, वेगनासतालमा पुगेर डुंगामा सयर गर्दा त कलाकार परमेश्वर गजुमेरले गीत गुनाउँदै खुबै रमाइलो गरियो । 
यसरी पोखराको भ्रमण गरेर फर्किदा ७ दिन वितेको थियो । फर्किदा पनि गाडीमा उत्तिकै रमाइलो गरिरहेको थियो हाम्रो समूह । नागढुंगा आउँदा थाहा भयो, सात दिन बितेछ । मलाई चाँही सात घन्टा जस्तो लागेको थियो । साथी पनि यस्तै अनुभूत गरिरहेका थिए । सात दिनसम्म बुबाआमालाई फोन नगर्दाको न्यास्रो समेत लागेन । रमाइलोले गर्दा सायद परिवारको याद आएन।  

साँच्चिकै ३५ जनाको एउटै परिवार जस्तो बनेर सात दिन घुम्दाका क्षण भने जीवनभर स्मरणीय हुनेछन् । यी सात दिन पढेका ज्ञानलाई पनि व्यबहारमा उर्तानु पर्ने जिम्मेवारी पनि उत्तिकै छ। 

प्रकाशित: ९ भाद्र २०७५ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App