coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आँसुका अक्षरमा गन्धर्वको पहिचान

दीपक नेपाल 
अंग्रेजी दार्शनिक एवं लेखक फ्रान्सिस बेकन भन्छन्, ‘केही पुस्तक चाख्नका लागि र केही चपाएर पचाउनका लागि योग्य हुन्छन्।’ उनकै भनाइ सापटी लिएर भन्ने हो भने नेपाली साहित्यमा चपाएर पचाउन लायक पुस्तक हो– सारङ्गी।

गन्धर्व जातिले सारङ्गीको विरही धुन बजाएर समाजका कथा लोकलाई सुनाउँदै हिँड्ने पुरानो चलन हो । यही सेरोफेरोमा रही भुवनहरि सिग्देलले सारङ्गी र गन्धर्व समाजका रीतिरिवाज, दीनहीन सामाजिक अवस्थालाई नेपाली साहित्यमा भित्र्याएका छन्

सारङ्गी अर्थात् नेपाली लोकबाजा। विशेष गरी गन्धर्व जातिले सारङ्गीको विरही धुन बजाएर समाजका कथा लोकलाई सुनाउँदै हिँड्ने पुरानो चलन हो । यही सेरोफेरोमा रही भुवनहरि सिग्देलले सारङ्गी र गन्धर्व समाजका रीतिरिवाज, दीनहीन सामाजिक अवस्थालाई नेपाली साहित्यमा भित्र्याएका छन्।  

२०७२ सालको मदन पुरस्कार गुठीले उनको ‘आमोई’ नामक औपन्यासिक कृतिलाई मदन पुरस्कार गुठीले ०७२ सालमा पुरस्कारको मनोनयनको सूचीमा दर्ता गरेपछि आख्यानको बाटोमा परिचित हुनपुगेका लेखक हुन्– भुवनहरि । कविका रूपमा झण्डै तीन दर्जन कृतिका ‘बा’ बनिसकेका उनको आख्यानमा रामदाइ, सुरासुन्दरी, जदौ मालिक, रमिलानानी, आमोईजस्ता कृतिपछिको औपन्यासिक कृति सारङ्गी हो। 

करूण रसलाई टपक्कै टिपेर निम्न वर्गीय पात्रलाई अघि सार्दै उनीहरूको दयनीय दैनिकीलाई विषयवस्तु बनाई आख्यान लेख्नु उनको विशेषता देखिन्छ । पद्य लेखनतर्फ पनि खाते, कुलबहादुर, कानी, डल्ले, निसानीजस्ता विषय उठाएर आफ्नो अलग्गै पहिचान बनाइसकेका यी लेखकले यसपटक पोखरा, बाटुलेचौरमा बस्ने गन्धर्व जातिको अति मार्मिक घटनामा आधारित यो कथा तीन पुस्ताबीचको रैथाने र खान्दानी कथा हो । बलवीरका बाबु, बलवीर र उसको झड्केलो छोरो सान्दुको कथालाई करुण रसमा लेखिएको मात्र छैन, उपन्यासमा सम्पूर्ण गन्धर्व जातिको पहिचान खोजिएको छ।

सामाजिकरूपमा सीमान्तकृत, माग्ने जाति भनी हेलत्वको भावले हेर्ने गरिए पनि कथामा बलवीरकी आमाले बाख्रा पालेर परम्परागत मान्यतालाई भत्काई क्रान्ति गरेकी छन्। 

पानी गहिरोमा नै जम्छ भनेझैं बलवीरको जिन्दगीमा दुःखमाथि महादुःख आइलाग्छ । आमा बितेको महिना दिनपछि बलवीरका बाबुको जीवनलीला पनि साउने सेतीको भङ्गालोमा समाप्त हुन्छ। 

सारङ्गी रेटेर आफ्नो दयनीय कथा गीतमा सुनाउँदै हिँडेका बलवीरका बाबु राती पनि घरमा नआएपछि आत्तिँदै खोज्न हिँडेको बलवीरले भोलिपल्ट बाबुलाई सेतीको भङ्गालोले लगेको सङ्केत पाउँदा विछिप्त र मर्माहत बनेको छ। 

मर्म र पीडाको आवाज उस्तै पीडितले राम्रोसँग बुझ्छ । यसको उदाहरणस्वरूप त्यो मर्मान्त अवस्थामा सेतीको बगरमा बगर बटुल्दै गरेकी सिरुपाते घर्तिनीले बुझ्छिन् । बलवीरलाई उनले साथ दिन्छिन् । बिस्तारै यी दुईको हिमचिम बढ्छ । बारम्बारको भेट र आपसका दुःख साटासाट हुँदा मन मिल्छ । सिरुपातेसँग पाँच वर्षे छोरो पनि छ, सान्दु । उसलाई गर्भावस्थामै उसको बाबु रिट्ठे तामाङले छाडेर भागेको स्थिति छ । आखिरमा बलवीरबाट उनलाई श्रीमतीका रूपमा र सान्दुलाई फोसा उपहार मानेर स्वीकार गराई तथा नेपाली समाजको छुवाछुत र जातिपातिको अर्को पाटोलाई उपन्यासले भत्काइदिएको छ। 

कुमारी कन्या विवाह गरी वैधानिक रूपमा बलत्कार गर्ने नेपाली समाजको पुरुषवादी मान्यता बिरुद्ध यहाँ बलवीर र सिरुबीचको प्रेम रोचक लाग्छ । यी दुईको सुमधुर प्रेम, सहकार्य र आपसका मानोवैज्ञानिक असर र वास्तविक प्रेमलाई देखाई उपन्यासमा निस्वार्थ प्रेमको धरहरा उभ्याइएको छ । कथित सामाजिक मान्यताको विवाह र आपसको मन, वचन र कर्मको विवाहले पारिवारिक अवस्था उत्थान गर्न कति महत्व राख्छ भन्ने देखाउन उपन्यास सफल छ।  

उता रिट्ठे तामाङ र बलवीर गन्धर्वको बीचको भेदले नेपाली समाजमा नारीप्रति पुरुषीय दृष्टिकोणलाई चिनाएको छ । 
यस्ता विषयवस्तुलाई प्रस्तुत गर्न उपन्यासमा प्रयोग भएका घतलाग्दा शालीन रसरङ्गका अंश पढ्दा पाठकको आङ जिरिङ्ग हुन्छ।

बलु बिहानभर खान नखाँदा पनि भोकाउँदैनथ्यो। तर, सिरुका कोमल वचन र भरोसाका शब्द सुन्न नपाउँदा भने ऊ छट्पटाएझैँ हुनु एउटा पुरुषको जिन्दगीमा नारीको भूमिकाले कति प्रभाव पार्छ भन्ने देखिन्छ । यसैका आधारमा भन्ने हो भने एउटा पुरुष नारीबिना पूर्ण हुन सक्दैन भन्ने भनाई प्रमाणित गरिदिन्छ।

यी दुई गरीबको खुसी साट्ने आफ्नै भाषा छ, कला छ र आफ्नै दर्शन छ। सभ्य भनिने संभ्रान्त वर्गले तिनका भाषा बुझे पनि नबुझे पनि बलु र सिरुको प्रेम लोभलाग्दो र रहरलाग्दो आफ्नै संसार भने अवश्य छ। आजको कस्मेटिक बजारको प्रेमलाई उपन्यासमा यी दुई बीचको हृदय र आत्मिक प्रेम देखाएर चल्तीको मासु प्रेमको बजारमाथि तातोपानी खन्याएरझैँ लाग्छ।

उपन्यासमा परम्परा र आधुनिकता बीचको द्वन्द्व उत्सुकतापूर्वक अघि बढेको छ। बलु र सिरुले परम्परागत गन्धर्व जातिको माग्ने पेशालाई त्यागी प्रगतिवादी मार्गको अनुसरण गर्नु र त्यहीँ बलुको आफ्नै भतिजो बिन्दास भने श्रमले हैन मागिखाने सरल बाटोमा हिँडिरहनु आधुनिक र पुरातन बीचको त्यो द्वन्द्व रोचक लाग्छ। 

उपन्यासको कथावस्तुले परम्परागत कुरीतिलाई त्यागी प्रगतिपथमा हिँड्न प्रेरणा दिएको त छ तर अझै सिरुको उच्च आकाङ्क्षाका कारणले तिनका खुसीमा बज्रपात देखाइनु उपन्यासको सीमा हो। 

यसको उदाहरणका रूपमा मागी खाने बिन्दासको परिवारभन्दा गरी खाने बलवीरको परिवारले बेहोरेको कष्ट र हैरानीलाई लिन सकिन्छ। दुःख पाउनुको कारण नै गर्भावस्थाकी सिरुले पाडी भनेर काल पालेकी छे। त्यही पाडीका लागि बकैनाको घाँस काट्न जाँदा रूखबाट खसेर उनको मृत्यु भएबाट पुष्टि हुन्छ। 

ब्राजिली लेखक पाउलो कोएलो भन्छन्, ‘लेख्नका लागि आँसु महत्वपूर्ण शब्दहरू हुन् । लेखकमा यस्ता शब्द चाहिन्छन्। लेखक कोएलोको विचारलाई मान्ने हो भने उपन्यासमा यस्ता प्रशस्त आँसुका शब्द छताछुल्ल बगेका छन्। कथाको बहिरो पात्र अवसुको जन्म नै आँसुको आहालमा छ । झरीमा बकैनाको घाँस काट्न गएकी सिरु लढेपछि उदर विस्फोट भएर अवसुको आगमन भएको छ । तर, ऊ आफू भने बाँच्न सक्दिनँ । यतिखेर पाठकका आँखाबाट थाहै नपाई आँसु झरिसकेको हुन्छ। 

सिरुकै गर्भबाट जन्मेका सान्दु र अवसु दुई विपरीत चरित्रका बालक मार्फत उपन्यासमा बालमनोविज्ञानको जादुमयी प्रयोग पाइन्छ। यी दुई बालकको कथा पढ्दै जाँदा पटकपटक घाँटी अवरुद्ध हुन्छ। यसरी मानवीय संवेदनाको गहिरो दहमा डुबाउने गरीको चरित्रचित्रण गर्नु लेखकको विशिष्ट क्षमता हो। 

उपन्यासको भाषाशैली कतै काव्यात्मक कतै निबन्धात्मक र ठाउँठाउँमा भेटिएको गीत्यात्मकताले उपन्यासलाई विधामिश्रणको नमुना कृति मान्न सकिन्छ। तर, ठाउँठाउँमा लेखकीय अभिव्यक्तितिर नअलमलिने हो र यसलाई पनि औपन्यासिक कलामै स्वीकार गर्ने हो भने पाठकको ध्यान भत्कन पुग्दैन। 

उखान टुक्काको प्रचुर प्रयोगले उपन्यास पढ्दै जाँदा आफैले भोगेको कुरा भनिदिएझैँ लाग्छ। कतै देखेको कुरा भनिदिएझैँ लाग्छ। जीवनका क्रूर सत्यको पहाडलाई उपन्यासभित्र एक वाक्यमा अभिव्यक्त गरिदिनु लेखक भित्रको दार्शनिकता, कवित्व र बलियो भाषिक क्षमता निहित छ भन्ने पुष्टि सारङ्गी पढ्दा बारम्बार लाग्छ। 

पात्रमार्फत् दिइएको दार्शनिक अभिव्यक्तिले पाठकको मन सारङ्गीको तारझैँ झन्झनाउँछ । ती हन्डरपछि अनायास मुखबाट निस्केका अभिव्यक्तिले पाठकलाई शान्त बस्नै दिँदैन र मनलाई जीवनको गहिराइसम्म सोचमग्न बनाउँछ । 

उपन्यासले कथामा आएका पात्रहरू मार्फत जीवनको अन्तिम सत्य अर्थात् मृत्यु माथि एउटा दर्शन जन्माइदिएको छ । ‘मानिस जतिसुकै गरीब किन नहोस् ऊसँग कात्रो किन्ने पैसा हुन्छ’ भन्ने मूलमर्मलाई गर्वसाथ बोकेको यस उपन्यासमा बलवीरका बाबु, बलवीरकी आमा, बुधबारेबूढा, गाउँकी बजू र सिरु गरीब त छन् । तथापि मृत्यु हुँदा कात्रो किन्ने र किरिया खर्च पु¥याउने हैसियत कसैगरी तिनले राखेका छन् । लास जलाउने समिधा किन्ने हैसियत नभएका गन्धर्वले सेती नदीको बगरमा ठूलो ढुङ्गोको चेपमा ढुङ्गैले लास थिचथाच गर्ने अवस्था पढ्दा भने मन नै अमिलो हुन्छ । यस अर्थमा सारङ्गी उपन्यास आँसुका अक्षरले लेखिएको हृदय छुने गन्धर्व जातिको पहिचान खोजिएको उपन्यास हो । समाजका अति निम्न तहका गन्दर्भ जाति र तिनका कटु यथार्थमा आधारित र त्यस्तै जीवनबोधको दृष्टि बोकेको यो उपन्यास पोखरा बाटुलेचौरका गन्धर्बको इतिवृत्त र वृत्तचित्र नै हो भन्नु असान्दर्भिक नहोला। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App