४ वैशाख २०८१ मंगलबार
राजनीति

गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद

फाइल फाेटाे

रसुवा - रसुवाको कालिका गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। जिल्लाको तल्लो क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पु-याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो।

करिब १४ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

‘गाउँपालिकामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका थिए,’ उपाध्यक्ष न्यौपानेले भने, ‘यसलाई मध्यनजर गर्दै हामीले सुरुमा एम्बुलेन्स खरिद ग-यौँ।’

खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाको मातहतमा सञ्चालन हुने उनले बताए। ‘चालक राख्नका लागि हामी एक साताको सूचना प्रकाशन गर्छौं,’ उनले भने, ‘सक्षम र इमान्दार चालक छनोट गर्ने हाम्रो योजना छ।’

गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ। कति प्रतिशतसम्म छुट दिन सकिन्छ भन्नेबारेमा कार्यपालिकाको बैठकमा निर्णय हुनेछ । यो गाउँपालिकाले जनप्रतिनिधिका लागि आवश्यक पर्ने गाडी खरिद गरेको छैन। ‘गाडी किन्नका लागि बजेट छुट्याइएको छ,’ उनले भने, ‘तर, गाउँपालिकामा आवश्यक पर्ने अन्य सवारीसाधन खरिद गरेपछि मात्रै जनप्रतिनिधि चढ्ने गाडी खरिद गर्छौं।’ साढे २७ लाखको लागतमा फोहोर बोक्ने गाडी खरिद गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जेसिबी खरिद गर्नका लागि प्रक्रिया अघि बढाएको छ। जनप्रतिनिधिका लागि ४० लाखभन्दा कम मूल्यको गाडी खरिद गर्ने योजना रहेको उपाध्यक्ष न्यौपानेको भनाइ छ। जिल्लाका अन्य चारवटा गाउँपालिकाले एम्बुलेन्स किन्ने तयारी गरेका छन्।

जिल्लामा अहिले ठाडे प्रगतिशील युवा क्लब, नेपाल रेडक्रस सोसाइटी, चिलिमे जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनाले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्। जिल्लामा एम्बुलेन्सको कमी हुँदा स्कार्पियो र टाटासुमोले बिरामी बोक्दै आएका छन्।

प्रकाशित: ९ भाद्र २०७५ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App