६ वैशाख २०८१ बिहीबार
राजनीति

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकाे घर, उनकी अामा, दिदी र बहिनी। तस्बिर : नागरिक

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्। निर्मला हराएकै दिन साँझ प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म खबर गर्दा पनि प्रहरीले खोजी नगरेको पीडित पक्षको आरोप छ।

निर्मलाका परिवारले उनी बेपत्ता भएको पहिलो दिन साउन १० गते साँझ ८ बजे नै प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म खबर गरेर खोजी गरिदिन आग्रह गरेका थिए। प्रहरी चौकीमा राति गएर निर्मला हराएको रोशनीको घरमा खानतलासी गरिदिन भन्दा ‘माथिको आदेश छैन’ भन्दै प्रहरीले खोजी नगरिदिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। ‘त्यो घरमा राति प्रहरीले खोजी गरिदिएको भए हाम्रो शंका मेटिन्थ्यो,’ उनले भनिन्, ‘हामीले लाख अनुनयविनय गर्दा पनि प्रहरीले नखोजिदिँदा प्रहरीको व्यवहारप्रति शंका लागेको छ,’ उनले भनिन्।

पहिलो दिनदेखि नै प्रहरीको व्यवहार सन्तोषजनक नरहेको निर्मलाका बुबा यज्ञराजले बताए। ‘जुन घरबाट मेरी छोरी हराई त्यही घरबाट अनुसन्धान गरिदिनुहोस् भनेर एसपी डिल्ली बिष्टलाई पटक–पटक मैले अनुरोध गर्दा पनि उहाँले मान्नुभएन,’ उनले भने, ‘त्यही दिन खोलामा साइकल भेटिएको भनेर एसपीले सधैं प्रष्टीकरण मात्र दिने काम गरे।’ साइकल त घरबाटै त्यहाँ लगेर फालेको पनि हुन सक्छ भनेर भन्दा पनि प्रहरीले आलटाल मात्रै गरेको उनको भनाइ छ।

निर्मलालाई बोलाउन अघिल्लो दिन नै रोशनी घरमै आएकी थिइन्। आर्थिक अवस्था कमजोर भएका निर्मलाका दिदीबहिनीले पढाइ खर्च जुटाउन बिहान–बेलुका र बिदाको दिन चटेपटे बनाएर बेच्थे। रोशनीले भोलि मेरो घरमा आएका बेला २० रुपैयाँ दिउँला भनेर उधारोमा चटपटे खाएर गएको निर्मलाकी दिदी मनिषा पन्तले बताइन्। रोशनीको घरमा उनी र दिदी बबितामात्रै बस्थे। उनीहरूको घरमा गएपछि निर्मला सम्पर्कबाहिर भएकी थिइन्। त्यसैले रोशनीका दिदीबहिनीबौ अनसुन्धान सुरु गर्दा छोरीका हत्यारा पत्ता लाग्ने यज्ञराज बताउँछन्। ‘ती दिदीबहिनीले मा-यो भनेको होइन, त्यो घरमा गएपछि छोरी बेपत्ता भएकाले उनीहरुलाई थाहा छ भन्ने हाम्रो शंका छ।’ निर्मला बेपत्ता भएकै साँझ उनकी आमा दुईपटक त्यो घरमा जाँदा भित्र पस्न नदिननु, राति प्रहरीले त्यो घरमा खानतलास गर्न नमान्नु, दोस्रो दिन बिहान रोशनीकी दिदीले साइकल फेला परेको ठाउँमै शव पाइन्छ भन्दा पनि प्रहरीले केरकार नगर्नुले शंका उब्जाएको यज्ञराज बताउँछन्।

प्रहरीले खोजी नगरिदिएपछि दोस्रो दिन बिहानै गाउँले रोशनीको घरमा गएका थिए। रोशनीकी दिदीले साइकल पाएकै ठाउँमा शव पनि होला भनेर भनेको रुपा कार्कीले सिबिआइको टोलीलाई समेत बताउँदा पनि प्रहरीले उनीहरुमाथि केरकार नगरेको यज्ञराजको भनाइ छ। दोस्रो दिन ऊखुबारीमा निर्मलाको शव भेटिएपछि सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरी अधिकारीले भनेको उनी बताउँछन्।

निर्मलाको सहमतिमा एकजनाले यौन सम्पर्क गरेर हत्या गरेको पनि एसपी बिष्टले भनेको उल्लेख गर्दै यज्ञराजले भने, ‘सहमतिमा भएको भए किन हत्या भयो त भन्दा उहाँ (बिष्ट) नाजवाफ हुनुभयो।’ खोलाको किनारमा उभ्याएर राखिएको अवस्थामा फेला परेको साइकलको पाइडलमा निर्मलाको एक चप्पल झुन्ड्याएर राखेको पाइए पनि अर्को चप्पल भेटिएको छैन। ‘अर्को चप्पल कता गयो, खोज्नु प-योभन्दा खोलाले बगाएर लगेको होला भनेर प्रहरीले भन्यो, खोलाले बगाएर लगेको प्रहरीलाई कसरी थाहा भयो,’ उनले भने, ‘सुरुकै दिनदेखि प्रहरीको व्यवहार चित्त बुझ्दो छैन।’

वास्तविक अपराधी पत्ता नलगाईकन मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई हत्या आरोपमा पक्राउ गरेर प्रहरीले नाटक गरेको उनी बताउँछन्। ‘खल्तीको टुक्रा कपडा लगेर हाम्रो आँखामा छारो हाल्ने काम प्रहरीले किन ग-यो? एसपी बिष्टको टोली र सिआइबीको टोलीले खल्तीको टुक्रा कपडा र अस्थायी साधनको खोल पाइयो भनेर आँखामा छारो हाल्ने काम किन ग-यो, प्रहरीमाथि पनि छानबिन गरेर कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने।

यसैगरी अधिकारकर्मी विमला बिष्टले पनि सुरुदेखि नै घटना दबाउन शंकास्पद व्यवहार गरेको उनले बताए। ‘एसपी र डिएसपीलाई यहाँबाट सरुवा गरेर मात्र पुग्दैन,’ उनले भने, ‘छानबिन गरेर सत्यतथ्य कुरा बाहिर ल्याएर कारबाही गरिनुपर्छ ता कि भोलि अरुले पनि यस्तो गल्ती नदोहो-याउन् भन्ने हाम्रो माग हो।’ निर्मलाका छिमेकी भूतपूर्व सैनिक मोतिबहादुर नेपालले प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने ‘क्ल्यिू’ दिदाँ पनि प्रहरीले अनुसन्धानमा हामीलाई सिकाउनु पर्दैन भनेर थर्काएको बताए। ‘निर्मलाको बलात्कार र हत्या शक्तिशाली भनिएका मान्छेबाट भएको छ, यो अनुसन्धानमा प्रहरीले जानीजानी गल्ती गरेकाले प्रहरीमाथि पनि शंका उब्जेको छ,’ उनले भने, ‘प्रहरीमाथि पनि छानबिन हुनुपर्छ।’ घटना ढाकछोप गर्न खोज्ने प्रहरीमाथि छानबिन हुनुपर्ने सबैको माग रहेको स्थानीय उर्मिला शाहीले पनि बताइन्। प्रहरीले वास्तविक दोषीलाई बचाउन ‘निर्दोष’ दिलीपसिंह बिष्टलाई पक्राउ गरेर फसाउन खोजेको भन्दै आन्दोलन चर्केपछि बिहीबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलाई सरुवा गरेको छ।

छानबिन टोलीले काम थाल्यो
सरकारले निर्मलाको हत्याबारे छानबिन गर्न गठन गरेको समतिले शुक्रबार महेन्द्रनगर आएर काम थालेको छ। दिउँसो २ बजे महेन्द्रनगर आएको टोलीले प्रमुख जिल्ला अधिकारी कुमार खड्कासँग एक घण्टा कुराकानी ग-यो । कुराकानीपछि खड्कालाई बिदाइ गरियो। उनी यसै घटनालाई लिएर सरुवामा परेका हुन् । खडेकासँग कुराकानी गरेपछि नयाँ सिडिआको रुपमा पदभार ग्रहण गरेका तारानाथ अधिकारीसँग टोलीले छलफल ग-यो । लगत्तै टोलीले सुरक्षा निकायका अधिकारीसँग बसेर छलफल ग-यो। अपराह्न चार बजेतिर टोलीले स्थानीय पत्रकारसँग छलफल गरेको थियो।

पत्रकारसँगको छलफलमा गृह मन्त्रालयका सहसचिव एवं छानबिन टोलीका संयोजक हरिप्रसाद मैनालीले आफूहरुले शून्यबाट निर्मला पन्तको हत्याबारे अध्ययन अनुसन्धान गर्ने बताए। ‘हामी पुराना केही दस्ताबेज नहेरीकन शून्यबाट अनुसन्धान गर्छाैं,’ उनले भने, ‘छानबिन निष्पक्ष हुन्छ, निर्दोष फस्दैन, दोषी उम्कँदैन।’ पहिले अनुसन्धानमा खटिएका प्रहरीमाथि पनि छानबिन हुने जानकारी दिँदै उनले भने, ‘हामी पहिले अनुसन्धानमा खटिएका प्रहरीलाई पनि छानबिनका लागि बोलाउने छौं।’ आफूहरु निर्मला हत्याको छानबिनका लागि १५ दिनको समय लिएर यहाँ आएको बताउँदै उनले भने, ‘१५ दिनभित्र हामी सबै सत्यतथ्य बाहिर ल्याउँछौँ।’ उनले छानबिनमा सहयोग गरिदिन स्थानीयलाई अपिल पनि गरे। टोलीले शुक्रबार बेलुक कञ्चनपुरका राजनीतिक दल र नागरिक समाजसँग पनि छलफल गरेको छ।

प्रकाशित: ९ भाद्र २०७५ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App