coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१८ अाैं एसियाड : बास्केटबलमा पहिलो जित

काठमाडौं - नेपाली पुरुष बास्केटबल टोलीले शुक्रबार सिरियामाथि जित हात पार्दै इन्डोनेसियामा जारी एसियाली खेलकुदको दोस्रो चरण प्रवेश सम्भावना जीवित राखेको छ। नेपालले शुक्रबार सम्पन्न खेलमा सिरियामाथि २१–१० स्कोरको जित हात पारेको हो। नेपालका अनिश बस्नेतले सर्वाधिक १३ स्कोर गर्दा माविन्द्र भण्डारी र अजय कुशवाहले समान ३ स्कोर गरे। यसअघि नेपालले मंगलबार जकार्ता कन्भेन्सन सेन्टरस्थित जिबिके बास्केट हलमा जापानलाई सडनडेथमा २२–११ तथा कतारलाई पनि सडनडेथमै २१–८ ले नतिजा सुम्पिएको थियो। नेपालले शनिबार महिला बास्केटबलमा मंगोलिया र जापानको सामना गर्नेछ।

ब्याड्मिन्टन
ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन्। रत्नजित दक्षिण कोरियाका खेलाडीसँग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसँग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए।

महिला डबल्समा नेपालका अमिता गिरी र रसिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए। नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङ्सल तामाङले जापानी तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन्।

बक्सिङ
नेपालले पदक आशा गरेका खेलमध्येको एक बक्सिङमा पनि सुखद सुरुआत गर्न सकेन। शुक्रबार सम्पन्न महिला ५७ केजी तौलसमूहमा संगीता सुनार थाइल्यान्डकी निलावान तेचास्विपसँग ५–० ले पराजित भइन्।

भलिबल 
लगातार दोस्रो हार बेहोरेसँगै नेपाली भलिबल टोलीको एसियाली खेलकुदमा सहभागिता समूहचरणमा सीमित भएको छ। गोर बुलुनगन भलिबल इन्डोरमा शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा नेपालले दक्षिण कोरियालाई २५–१६,२५–१३ र २५–१४ को सोझो सेटमा नतिजा सुम्पिएको हो।

यसअघि नेपालले बुधबार पहिलो खेलमा चाइनिज ताइपेईलाई पनि २५–२३, २५–१९, २५–१५ को सोझो सेटमा नतिजा सुम्पिएको थियो । भलिबलमा नेपालले पुरुषतर्फ मात्र सहभागिता जनाएको छ।

आर्चरी 
आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ। नेपाल किर्गिस्तानसँग ५–४ ले पराजित भयो। नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए। नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ। नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मीनप्रसाद गौचन छन्।

पौडी
नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्।

मंगलबार महिला १ सय मिटर र बुधबार २ सय मिटर फ्रि स्टाइलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्न चुकेकी गौरिकाले शुक्रबार ५० मिटर फ्रि स्टाइलमा पनि राष्ट्रिय कीर्तिमान तोड्न सकिनन्। हिट ३ मा प्रतिस्पर्धा गरेकी गौरिकाले ५० मिटरको दूरी २८.५० सेकेन्डमा पूरा गरिन्। ५० मिटर मिटर फ्रि–स्टाइलमा गौरिकाकै नाममा २८.०९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। आफ्नो हिटको शीर्ष स्थानमा रहेकी चिनियाँ खेलाडी लुई छाङ (२५.१४) भन्दा ३ः६६ सेकेन्डले पछि परेकी उनी ८ सहभागीमध्ये सातौं स्थानमा सीमित भएकी थिइन्।

गौरिकाले आफ्नो हिटमा नेपालकै टिसा शाक्यलाई  १ः११ सेकेन्डले पछि पारेकी थिइन्। टिसा २९.६१ सेकेन्डमा दूरी पार गर्दै आठाैं स्थानमा रहिन्। उनको हिटबाट लुई छाङसँगै सिंगापुरकी अमान्डा लिम २५.७३ को टाइमिङका साथ अन्तिम चरणलाई छानिएका थिए। सो स्पर्धामा जापानी रिकाको इकीले स्वर्ण, चीनकी लुई छाङले रजत र चीनकै उ क्यु फेङले कांस्य पदक जिते। पुरुषतर्फ  ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२औं भए। उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय लगाएका थिए।

स्पोर्टस क्लाइम्बिङ 
स्पोर्टस क्लाइम्बिङअन्तर्गत पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणिलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन्। दुवै खेलाडी समग्रमा २१औं स्थानमा रहे। यसअघि प्रणिल र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए। अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ। 

फेन्सिङ 
पुरुष फोयलको अन्तिम १६ मा नेपाली फेन्सिङ टोलीले शुक्रबार फिलिपिन्सलाई ४५–३ को फराकिलो नतिजा सुम्पिएको छ।

गल्फ 
नेपालका शुक्रबहादुर राई गल्फको पुरुष व्यक्तिगत स्पर्धामा दोस्रो चरणसम्म ५५औं स्थानमा छन्। उनीसँगै सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि ५५औं स्थानमै छन्। नेपालका टंक कार्की युएई, ब्रुनाइ र बंगलादेशका खेलाडी संयुक्त रुपमा ६२औं स्थानमा छन्। यस्तै अजित विके ७४औं स्थानमा छन् भने पृथ्वी मल्ल उज्वेकिस्तानका खेलाडीसँगै संयुक्त रुपमा ७८औं स्थानमा छन्। यो स्पर्धामा ८७ खेलाडी सहभागी छन्। आइतबारसम्म हुने गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७ औं स्थानमा छ। यो स्पर्धामा २० टिमले भाग लिएका छन्। 
 


 

 

प्रकाशित: ९ भाद्र २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App