६ वैशाख २०८१ बिहीबार
राजनीति

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि गोली चल्यो, एककाे मृत्यु

कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी स्थानीयको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा एक युवककाे मृत्यु भएकाे छ भने १० जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोली लागेर १४ वर्षीय सनी खुनाको ज्यान गएको छ। ट्राफिक चाेकमा गाेली लागेका खुनालार्इ तत्काल महाकाली अञ्चल अस्पताल लगिएपनि चिकित्सकले मृत घाेषित गरेका थिए। मृतककाे शवलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

आज विहानैदेखि पानी पर्दा आन्दोलनकारी नआउँदा शान्त जस्तो देखिएको महेन्द्रनगर वर्षा रोकिएपछि अपराह्न तनावग्स्त बनेको थियाे। प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढ्दा प्रहरीले ट्राफिक चाेकमा गाेली चलाएकाे थियाे। 

नेपाल प्रहरी प्रवक्ता शैलेस थापाले जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरीको सवारीमा तोडफोड प्रयास भएपछि प्रहरीले टियर ग्यास र गोली प्रहार गरेको र यसक्रममा एककाे मृत्यु भएकाे बताए। 

यसअघि बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए। जसमध्ये गम्भीर घाइते एक जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

निर्मलाका हत्यारा जाेगाउन प्रहरी प्रशासनले मानसिक सन्तुलन गुमाएका व्यक्ति दीलिप विष्टलार्इ अभियुक्त बनाएकाे भन्दै स्थानीय बासिन्दा मंगलबारदेखि अान्दाेलित छन्। साउन १० गते साथीकाे घर जाँदा हराएकी निर्मलाकाे ११ गते बलात्कारपछि हत्या गरिएकाे अवस्थामा शव उखुबारीमा फेला परेकाे थियाे। 

प्रकाशित: ८ भाद्र २०७५ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App