काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे छ। शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पुर्याउन युद्धस्तरमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताएका छन्।
सम्मेलनबारे जानकारी दिन शुक्रवार परराष्ट्र मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा ज्ञवालीले आगामी मङ्गलबार सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक, बुधबार परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्री स्तरीय बैठक तथा बिहीबार र शुक्रबार राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन हुने जानकारी दिए।
ज्ञवालीले सम्मेलनका लागि भुटानबाट प्रधानन्यायाधीश, भारत, बङ्गलादेश र थाइल्याण्डबाट प्रधानमन्त्री, म्यान्मार र श्रीलंकाबाट राष्ट्रपति अाउने पक्का भएको जानकारी दिए। निर्वाचनका कारण भुटान सरकारका अन्तरिम सल्लाहकार समेत रहेका प्रधानन्यायाधीशले सम्मेलनमा भाग लिने भएका हुन।
म्यान्मारका राष्ट्रपति भदौ १२ गते, श्रीलङ्काका राष्ट्रपति भदौ १३ गते काठमाडाैं आइपुग्ने र दुवै देशका विशिष्टि पाहुनाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने मन्त्री ज्ञवालीले बताए। यस्तै बङ्गलादेश, थाइल्याण्ड र भारतका प्रधानमन्त्री भने भदौ १४ मा काठमाडाैं आइपुग्ने कार्यक्रम तय भएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १४ गते नै बिमस्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन दिवाभोजको आयोजना गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन साँझ विविध सांस्कृतिक कार्यक्रम सहित रात्रिभोज आयोजना गर्ने परराष्ट्रमन्त्रीले जानकारी गराए।
प्रधानमन्त्रीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्। सम्मेलनमा पारस्परिक सहायताका क्षेत्रमा बिमस्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश हुनेछ। ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ नै बिमस्टेक शिखर सम्मेलन केन्द्रित हुने बताउँदै मन्त्री ज्ञवालीले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्ने मात्र नभई विद्युत् प्रसारण ग्रिड, अप्टिकल फाइबरबाट जोड्ने विषयलाई पनि नेपालले उच्च महत्व दिएको जानकारी दिए।
सदस्य देशको चौतर्फी विकासमा सघाउन बिमस्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिमस्टेक क्षेत्रलाई शान्ति, समृद्धि र दिगोपनातर्फ उन्मुख गराउने तथा गरिबी हटाउने विषय नै सम्मेलनका प्रमुख कार्यसूची हुने मन्त्री ज्ञवालीले बताए।
बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १६ क्षेत्रमा अब अझ काम हुने र ती जनताको गरिबी घटाउनेमा अधिक केन्द्रित हुने जानकारी मन्त्री ज्ञवालीले दिए।
समानता र सहकार्यको मर्मलाई आत्मसात गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिमस्टेक स्थापना भएको हो। दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको यस उपक्षेत्रीय सङ्गठनमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, म्यान्मार, श्रीलङ्का र थाइल्याण्ड सदस्य रहेका छन्। रासस
प्रकाशित: ८ भाद्र २०७५ १०:२९ शुक्रबार