७ वैशाख २०८१ शुक्रबार
समाज

तिम्बुपोखरी महोत्सवको तयारी

तिम्बुपोखरी ।  तस्बिरः गिरिराज/नागरिक

पाँचथर – पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ।

प्राकृतिक रुपमा सुन्दर रहेको उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरूमा चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागी ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो।

४ हजार ४ सय ४८ मिटर उचाईमा यही भदौँ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरीयाले जानकारी दिए। पाँचथरको याङवरक गाउँपालिकासँग मिलेर महोत्सव गर्ने प्रयास गरिएपनि अन्तिममा सिदिङवा गाउँपालिका एक्लैले महोत्सव गर्न लागेको हो। १४ लाख खर्चिएर महोत्सव गर्न लागिएको छ। महोत्सव सम्पन्न गर्नका लागी १ सय १ सदस्यीय मुल आयोजक समिति र ९ उपसमिति तयार गरिएको छ।

हिमाली क्षेत्रको रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको संख्यामा उलेख्य वृद्धि भएको छ। अवलोक भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दुधजन्य उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम रहेका महोत्सवमा राखिएको छ।

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माईकोपीला जस्ता फूल तथा बहुमूल्य जरिबुटी अवलोक गर्न पाइन्छ । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भिम भण्डारीले जानकारी दिए। महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने आयोजकको अपेक्षा छ।

तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने ब्यवस्था गर्ने आयोजकले तयारी गरिरहेको छ। उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ। पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ।

 

प्रकाशित: ८ भाद्र २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App