७ वैशाख २०८१ शुक्रबार
कला

पिकासोका चित्र नेपालमा

काठमाडौं – सन् १९०७ अघि पाब्लो पिकासोले कोरेका चित्र सामान्य थिए । उनले सुरुवाती समयमा कोरेका मोटा र भद्दा मानिसका थरिथरिका हाउ भाउ देखाउने तस्बिर यसको प्रमाण मानिन्छन् । यही समय आफ्ना चित्रलाई विशिष्ट देखाउन नीलो र गुलाबी रंगको अभियान पनि चलाए तर त्यसले पनि पिकासोको कलामा खास रौनक ल्याउन सकेन।

१९०७ पछि भने पिकासोले ‘क्यिुबजिम्’को यात्रा थाले जुन पिकाको लागि मात्र नभएर समग्र कला क्षेत्रकै लागि ‘माइलोस्टोन’ बन्यो । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा यतिबेला यिनै पिकासोले बनाएका स्टिकर चित्रको प्रदर्शनी चलिरहेको छ । जसमा पिकासोको क्यिुबिजम् कालखण्ड र पूर्वाद्र्ध कालखण्डका स्टिकर चित्रहरू राखिएका छन् । 

गतवर्षको फागुनताका खनाल अमेरिका भ्रमणमा जाँदा लसएन्जल्स काउन्टी आर्ट म्युजियम पुगे । जहाँ उनले पिकासोका उत्कृष्ट चित्रको अवलोकन गरे । ‘नेपाल के लैजाने भनेर खोज्दैथिएँ,’ उनले सम्झे, ‘छेउकै पसलमा साना साना बाकसमा स्टिकर चित्र भेटे अनि पिकासो नेपाल लिएर आएँ ।’ उनले सोह्रवटा पिकासोका स्टिकर चित्र असी डलरमा किनेका हुन् । नेपालका कला पारखीका लागि त्यो स्टिकर संजीवनी बुटी जस्तै बन्यो। 

साउन २८ गते कला प्रदर्शनीको उद्घाटनमा पिकासो नै भेटे झैं गरेर पारखीले स्टिकर नियाले । साना साना स्टिकरभित्र पिकासोले सजाएका रंगमा कलाकर्मी मुग्ध बने । राजधानीमा पिकासो भित्र्याएर पारखीलाई देखाउन पाउँदाको खुशी ग्यालरी संचालक रिता खनालको अनुहारमा पनि देखिन्थ्यो। 

नेपालमा के लैजाने भनेर खोज्दैथिएँ । छेउकै पसलमा साना साना बाकसमा स्टिकर चित्र भेटे अनि पिकासो नेपाल लिएर आएँ। 

प्रदर्शनीमा पिकासोका १७ चित्रकला अटाएका छन् । १७ चित्रमध्ये सुरुवाती कालखण्डमा बनाइएका ५ चित्र छन् । रेखाचित्रमा सामान्य रंग संयोजनको आमा र बच्चाको चित्रको प्रेमिल चित्रमार्फत विश्व समाजकै चित्रण गर्न सफल बनेका छन् पिकासो । पिकासोले क्यिुबिजम्मा अत्यधिक ख्याती कमाएको चित्र भने  गुएरनिका चित्र हो । यो चित्र  भने स्टिकरमा अटाएको छैन । गुएरनिका स्पेनको एउटा सुन्दर शहरको नाम हो । जसलाई जर्मनका तानाशाह हिट्लरले विश्वयुद्धताका ध्वस्त बनाएका थिए । युद्ध लगत्तै विश्वचित्र मेलाका लागि पिकासोले त्यही शहरको नाममा साढे एघार फिट चौडाइ र झण्डै साढे २५ फिट लम्बाइको चित्र कोरे जुन  युद्धको विभत्सता देखाउने प्रतिनिधी चित्र बन्यो।

सो चित्रमा पिकासोले युद्धका बेला हिनहिनाइरहेका घोडा,अत्तालिएका निर्दोष मानिसका भीडमा हातखुट्टा काटिएका बालबालिकाको क्रन्दन, महिलाका चित्कार, जोकर आकारका मानिसको अट्टाहस आदि भाव समेटेका छन् । उसबेला यो चित्र मेलाबाटै हटाउनुपर्छ भन्ने आवाज पनि उठेको थियो । तर उठेन । यो चित्र युद्धपछि झनै लोकप्रिय बन्यो । मेला सकेपछि पिकासोले त्यो चित्र तत्काल फिर्ता लिन सकेनन् । स्पेनमा त्यो बेला पनि फासीजम् सरकारको अधिपत्य रहेसम्म नल्याउनु भनेपछि त्यो चित्र अमेरिका लगियो। 

सरकार ढलेपछि उच्च सुरक्षा र सम्मानसहित स्पेनको प्रादो संग्रहालयमा राखियो । त्यस्तै पाँचजना नगरबधुको नग्न क्यिुबजिम् चित्र उनको अर्को ख्याती कमाएको चित्र हो । सोह्र बाई बयानब्बे इन्चको ठूलो चित्रमा नग्नतालाई शिष्ट तरिकाले हरेककोे भाव भंगिमा प्रष्टिने गरि बनाए । मासु रंगसँग हल्का निलो र रेखा चित्र मिसिएको त्यो चित्र न्यूयोर्कस्थित म्युजियम अफ मोडर्न आर्ट संग्रहालयमा छ। 

क्यिुबिजम्कै प्रवद्र्धनमा पिकासोले विश्वप्रख्यात अन्य कलाकारका कलालाई सन १९४० पछि क्यिुबिजम्मा रुपान्तरण गरे । सन १८६३ मा प्रभाववादी कलाकार मोनेले बनाएको चित्रलाई झण्डै एकसय वर्षपछि सन १९६१ मा उनले क्यिुबिकीकरण गरे । त्यस्तै डिएगोभेलाजको सन् १६५६ मा बनेको यथार्थवादी चित्रलाई तीनसय वर्षपछि सन १९६९ मा उनले क्यिुबिजम्को रुप दिए । एकाकार रुपमा बनेका चित्रलाई पिकासोले हरेक कोणबाट बयान गर्न सक्ने बनाइदिए।

क्यिुबिजम् धारको अधिपत्य रहेको स्टिकर कला प्रदर्शनीको उद्घाटन गत सोमबार चिकित्सक बसन्त श्रेष्ठले गरेका । उनले पिकासो कलाकारमात्र नभएर मानवीय गुण बदल्न सिकाउने कलाकारसमेत भएको बताए । ‘हिजोको कुरा नदोहोर्याउनु अनि सँधै नयाँ कुरा सिर्जना गर्दै जानु नै कलाकारको धर्म हो,’पिकासोको भनाइ उधृत गर्दै श्रेष्ठले भने । पिकासो जस्तो महान कलाकारको कला नेपालमा हेर्न पाउनु गर्वको कुरा रहेको कला समीक्षक मुकेश मल्लले सुनाए । पिकासो चित्रकला, मूर्तिकला, भिजुअल आर्ट लगायत साहित्य तथा नाट्य लेखनीमा समेत अब्बल थिए । कला प्रदर्शनी भदौ १३ सम्म चल्ने जनाइएको छ। 

प्रकाशित: ८ भाद्र २०७५ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App