४ वैशाख २०८१ मंगलबार
विचार

नरम अतिवादको भ्रम

इसा पूर्व ६०० साल पुरानो ग्रिसका सात सन्तमध्येका एकको एउटा प्रख्यात सूक्ति छ– ’बितेका व्यक्तिहरूबारे राम्राबाहेक अरू कुरा भनिनु हुँदैन ।’ त्यस्तै किसिमको सामाजिक मान्यता दक्षिण एशियामा पनि व्याप्त छ । शायद त्यसैले होला, धेरैजसो मृत्युलेख (ओबिच्युएरी) श्रद्धाञ्जलि शैलीमा लेखिन्छन्। टेलिभिजनहरूले प्रशस्ति गाउँछन् । रेडियोबाट महिमा मण्डन हुन्छ । मृतकका महानताहरूको गुणगानले अखबारका पाना रंगिन्छन् । दिवंगत पात्रका कमी/कमजोरी ओझेलमा पर्न पुग्छन् । तर कुनैपनि व्यक्तिको मूल्यांकन गुण/दोषको वस्तुपरक लेखाजोखाबेगर अपुरो हुन्छ । कमजोरीहरूको पहिचानले मृत व्यक्तिको स्मृतिलाई बरु झन् मानवीय बनाउन मद्दत गर्छ । रामायणमा सीतासँगको व्यवहारमा रामले दर्शाएको स्त्रीद्वेष, महाभारतमा धर्मराज युधिष्ठिरको ’अश्वत्थामा हतोहतः’ रूपी तथ्य एवं त्यस अभिव्यक्तिको अर्थ बदल्ने ’नरो वा कुञ्जरोवा’ सत्यलाई छोप्न कृष्णको कपटपूर्ण शंखोद्घोष वा रामकथाकै विभीषणको राजद्रोहले त्यस्ता सवै पात्रको महत्तालाई समग्रतामा बुझ्न सघाउँछ।

पूर्वभारतीय प्रधानमन्त्री एवं संसदीय प्रजातन्त्रका अनुकरणीय अभ्यासी अटलबिहारी वाजपेयी (१९२४–२०१८) आफ्ना दुर्बलताहरूका बावजुद दक्षिण एशियाका सबभन्दा अग्लो कदका राजनेतामध्ये एक थिए । उनले स्थापित गरेका मान्यता भावी पुस्ताका लागि मानक ठहरिन सक्छ । शायद त्यसैले भारतमा फैलिँदै गएको ’मोदीवाद’ रूपी हिन्दुत्वको राजनीति एवं धुपौरे पुँजीवादको अर्थनीति फल्ने दक्षिणपन्थी विषवृक्ष रोपेको जिम्मेवारीबाट उनको स्मृतिलाई उन्मुक्ति दिन मिल्दैन । सरकार वा प्रतिपक्षमध्ये जता बसेर भए पनि भारतमा संसदस्य प्रजातन्त्रको जग बसाल्न सघाएको यश वाजपेयीलाई दिने हो भने बहुमतको निरंकुशता उनको छत्रछायाँमा हुर्केको दोषभागी हुनबाट पनि उनको सम्झना मुक्त रहन सक्दैन । राजनीतिक हिन्दुत्वको अवधारणामा धार्मिक उन्माद, समाजिक असहिष्णुता, सांस्कृतिक वर्चस्व एवं आर्थिक मनपरी (फ्रान्सेली अभिव्यक्ति लेसे फेरको अर्थमा) अन्तर्निहित रहेको हुन्छ । राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक मोर्चाका रूपमा सन् १९५१ मा खडा गरिएको भारतीय जनसंघ एवं सन् १९८० पछि त्यसले अंगीकार गरेको भारतीय जनता पार्टी आवरणका संस्थापकमध्ये एक भएकाले वाजपेयीलाई मोदीवादको उत्प्रेरक मान्न अनुपयुक्त हुँदैन । वाजपेयीको राजनीतिक विरासत ठम्याउन अलिकति उनको परम्परागत एवं परिवारिक पृष्ठभूमि पनि बुझ्नुपर्ने हुन्छ । उनको जातीय थरको उत्पत्ति शतपथ ब्राह्मणमा उल्लिखित वाजपेय श्रौतज्ञसँग जोडिएको छ । शक्तिको संस्कार मानिएको रथ दौडसँग सम्बद्ध वाजपेय यज्ञ गर्ने पात्रता पुरोहित एवं राजामा सीमित हुन्थ्यो । आफ्नो वंश परम्पराको त्यस्तो गौरवशाली इतिहास तीक्ष्ण बुद्धि एवं एमए परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका महत्वाकांक्षी व्यक्तिलाई थाहा नहुने कुरै भएन । त्यसमा झन् वाजपेयीको जन्म हिन्दुत्वको रक्षक भएको दाबी गर्ने शिन्दे मराठाहरूको छाउनीभित्र सम्मानित शिक्षक परिवारमा भएको थियो । उनले आफ्नो पहिचानलाई स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भन्दा कहिल्यै कम आंकलन गरेनन् । त्यस अर्थमा उनी जनसंघका संस्थापक अध्यक्ष श्यामाप्रसाद मुखर्जी भन्दा एक कदम अगाडि थिए भन्दा हुन्छ । गंगा मैदानका ब्रजवासी पंडित वंश एवं विंध्याचलपारिका लडाका मराठाहरूको सत्संग रहेको पृष्ठभूमि भारतीय राजनीतिमा लामो कालसम्म ’मूलधार’ मानिन्थ्यो । वाजपेयीको राजनीतिक प्रतिष्ठा उनी प्रधानमन्त्री हुनुअगावै स्थापित हुनुमा व्यक्तिगत क्षमता सँगसँगै उनको परिवारिक पहिचान, सामाजिक सम्मान एवं सांस्कृतिक स्वीकार्यताको पनि उत्तिकै महत्व छ । कार्यक्षमता, राजनीतिक प्रतिबद्धता एवं निरन्तर लगनका दृष्टिकोणले कराँचीमा जन्मेका वाजपेयीका सहकर्मी एवं लगभग सहवयी लालकृष्ण आडवाणी कत्तिपनि कम छैनन् । तर मूलधारको स्वीकार्यता अयोध्यामा रामलीला मन्दिर निर्माण गर्ने उद्देश्यकासाथ रथयात्रा गरेरमात्रै हासिल नहुने रहेछ भन्ने कुरा आडवाणीले जीवनको उत्तरार्धमा मात्र ठम्याउन सकेका हुन्।

वाजपेयीको व्यक्तिगत चरित्रलाई बेदाग मानिन्छ एवं उनलाई कहिल्यै भ्रष्टाचारको आरोप खेप्नुपरेन। तर पार्टीगतरूपमा भाजपाले धुपौरे पुँजीवादलाई प्रश्रय दिएको कुरा उनले सदैव नदेखेको जस्तो गरिरहे।

आजीवन अविवाहित रहेपनि ‘चिरकुमार’ कहलिन भने हच्किने वाजपेयीको वैचारिक परिणय हिन्दुत्व राष्ट्रवादसँग भएपनि उनको पहिलो राजनीतिक प्रेमिका कम्युनिस्ट विचारधारा रहेको थियो । शुद्धतावादका दृष्टिकोणबाट हेर्दा ब्राह्मणवाद एवं साम्यवादबीच अजीवको समानता भेट्टाइन्छ । दुवै विचारधारामा मूलग्रन्थ एवं प्रमुख व्याख्याताको अवधारणा छ । मनु एवं माक्र्स आआफ्ना कालखण्डका प्रमुख व्यक्तित्व हुन् । ब्राह्मणवादमा गुरु पुरोहितको प्रधानता छ । साम्यवादीहरू क्रान्तिकारी अग्रदस्ताको भूमिकाका कुरा लगभग त्यस्तै आस्थाका साथ गर्ने गर्छन् । फ्रान्सेली चिन्तक फुकोले अनुशासनलाई नियन्त्रणको औजारका रूपमा अथ्र्याउनु धेरैअगाडिदेखि नै ब्राह्मणवादीहरूले त्यस्तो अभ्यासलाई कर्मकाण्डमा रूपान्तरित गरिसकेका थिए । साम्यवादीहरूको भूस्वर्ग धर्मशास्त्रको साटो अर्थशास्त्रमा बस्छ । जनहितका लागि सामान्यजनले बलिदानी दिनुपर्ने अवधारणा भने दुवैथरी विचारधारामा एकसमान छ । शायद त्यसैले होला, पुष्पकमल दाहाललाई गाई काट्नेबाट भैँसीपूजक बन्न खासै गाह्रो लागेको देखिएन । वाजपेयीको राजनीतिक यात्रा भने विपरित ध्रुवतिर मोडियो । सार्वजनिकरूपमा प्रचारित हुन नदिए पनि वाजपेयी व्यक्तिगत जीवनमा तामसी भोजन एवं राजसी पेयका पारखी पछिसम्म रहिरहे । राजनीति भने उनको वामपन्थबाट गाई, धर्म र ब्राह्मणको रक्षा गर्नुपर्ने सनातन राजधर्मतिर उन्मुख भयो । गुजरात नरसंहारपछि गद्दीनसिन मुख्यमन्त्री नरेन्द्र मोदीलाई भाजपा नेता तथा भारतीय प्रधानमन्त्री वाजपेयीले ’राजधर्म’ निर्वाह गर्न सार्वजनिक निर्देश दिएका थिए । त्यतिबेला पनि मोदीको उत्तर कुटिलतापूर्ण थियो– ‘साहेव, त्यही त गर्दैछु ।’ सनातन राजधर्ममा गाई र ब्राह्मणको रक्षा प्रजाको हित जत्तिकै महत्वपूर्ण जिम्मेवारी जो मानिन्छ।

ओरालो बाटो
दक्षिण एशियाका हिन्दु, बौद्ध वा जैन परम्पराहरूमा समुदाय महत्वपूर्ण हुन्छ । वंश एवं क्षेत्रको महŒव हुने भएतापनि हिन्दुहरूको ’वसुधैव कुटुम्बकम’ जस्तै इस्लाममा त्यस धर्मका अनुयायीहरूको विश्वव्यापी ’उम्मत’ सोचको प्रमुखता छ । कौटुम्बिक राज्य (ट्राइबल चिफ्टैन्सी), राजाको राज्य (मनार्कीकल रेल्म) एवं सैनिक सम्राज्य (मिलिटेरी एम्पायर) जस्ता संस्थाहरूको लामो इतिहास रहेको भएतापनि राष्ट्र राज्य (नेसन स्टेट) अपेक्षाकृत नयाँ अवधारणा हो । धर्माधिकार एवं राज्य सञ्चालन फरक क्षेत्र हो भने मान्यताबेगर राष्ट्रराज्यको परिकल्पना टिक्न सक्दैन । त्यस्तो विचारको आवश्यकता युरोपमा सन् १६४८ को वेस्टफालियन सन्धिपछि मात्र स्थापित भएको हो । भारतीय स्वतन्त्रता आन्दोलनपश्चात तत्कालीन भारतीय राष्ट्रिय कांग्रेसले अंगीकार गरेको राष्ट्रियताको युरोपेली प्रारूप चार खुट्टामा अडेको हुन्छ । नागरिकबाट संविधानप्रति पूर्ण निष्ठा प्रजातान्त्रिक राष्ट्रियताको प्राथमिक अवयव हो । राष्ट्रगानप्रति आस्थाले राष्ट्रियतालाई स्वर दिन्छ । राष्ट्रध्वजले राष्ट्रियताको प्रतीकको काम गर्छ । त्यसैले झण्डाप्रतिको श्रद्धा नागरिकको कर्तव्य हुन आउँछ । सम्पर्क भाषाले राष्ट्रिय विविधतालाई एकसूत्रमा जोड्ने भएकाले राष्ट्रभाषाको प्रतिष्ठापन गर्नुपरेको हो । उत्तर आधुनिक राष्ट्रियतामा संविधान गतिशील दस्तावेज हो । राष्ट्रगानको सम्मान व्यक्तिगत छनोटको विषय हुन्छ । झण्डाको आकार प्रकारमा प्रश्न उठाउन पाइन्छ र एकभन्दा बढी भाषाले सम्पर्क स्थापित गर्ने काम गर्न सक्छ । बहुराष्ट्रिय राज्यमा नागरिक एवं राज्यबीचको सम्बन्ध पवित्र ठानिने सर्वकालिक मान्यता भन्दा पनि निरन्तर संवाद तथा लेनदेनमा आधारित हुन्छ । भारतीय राष्ट्रियताको अवधारणा भने धरातलीय यथार्थविपरित अहिलेसम्म पनि आधुनिकताका मान्यताहरूको चार खुट्टामै अडेर रहेको छ।

निर्दोष मधेसीहरूको रगतमा लत्पतिएको रातो गलैँचा ओछ्याएर विवादित संविधानको सवारी चलाउनेहरू अहिले आएर अधिनायकवादको नारा उचाल्न थालेका छन् । नृजातीय ऐक्यबद्धता देखाउँदा द्विदलीय सहमति हुने अनि सरकार चलाउन भने पक्ष एवं प्रतिपक्षको द्वन्द्व झिक्ने भन्ने हुँदैन । मतादेशलाई नै जनादेश मानेपछि जे हुनु छ, त्यही हुँदैछ ।

भारतीय राष्ट्रिय कांग्रेसको राष्ट्रियतालाई चुनौती दिनेगरी राष्ट्रिय स्वयंसेवक संघले ‘हिन्दु, हिन्दी, हिन्दुस्तान’ प्रस्तावना स्वतन्त्रताअघि नै ल्याएको थियो । त्यस्तो अवधारणा पनि हिन्दुवादका प्रतिपादकहरूको मौलिक रचना भने होइन । जर्मन समालोचक एवं चिन्तक जान गाटफ्रेड हर्डरको उत्पत्ति सिद्धान्तमा आधारित ‘फोकगाइस्ट’ विन्यासमा राष्ट्रवाद पितृभूमिसँग जोडिएकाहरूको अन्तर्निहित चरित्र हो । त्यसलाई अर्पण वा हरण गर्न सकिँदैन । भारतीयतालाई त्यसरी नै अथ्र्याउने राष्ट्रिय स्वयंसेवक संघको परिकल्पनामा भारत हिन्दुहरूको पितृभूमि हो जसको पवित्रतालाई ‘अन्य’ धार्मिक समूहहरूले सैन्यबलको भरमा प्रदूषित गर्ने गरेका थिए । देशाहंकार एवं अन्य घृणासँगै राष्ट्रलाई एउटा धर्म तथा एउटै भाषासँग जोडेर अथ्र्याउने जर्मनी एवं जापानको परम्परालाई हिन्दुत्वका प्रतिपादकहरूले प्राथमिक मान्यता बनाएका छन् । त्यही मान्यता जनसंघीहरूको सूत्र थियो एवं भाजपाइहरूको निर्देशक सिद्धान्तका रूपमा कायम छ । वाजपेयीको उदार संसद्वादी छविले गर्दा त्यस्तो कट्टरता उजागर हुन पाएन। तर आस्था उनको पनि हिन्दुत्व नै रहेकाले उनकै नेतृत्वमा ‘मोदीवाद’ हुर्के÷बढेको हो भन्ने निष्कर्ष अतिशयोक्ति होइन।

देशाहंकार एवं अन्य घृणामा असुरक्षा भावप्रधान हुन्छ । भयाक्रान्त जनतालाई आश्वस्त एवं अहंकारले युक्त मध्यम वर्गलाई विश्वस्त तुल्याउन वाजपेयीले भारतको आणविक क्षमतालाई सार्वजनिक गरेका हुन् । त्यस घोषणाले पाकिस्तानलाई पनि आफ्नो तयारी देखाउन कर लाग्यो र दक्षिण एशिया सम्भाव्य आणविक द्वन्द्वको रणभूमि बन्न सक्ने जोखिम स्थापित भयो । असुरक्षित मतदातामा बलियो नेताको चाहना बढ्दै जान्छ । मोदीको ‘५६ इन्चका सिना’ छवि निर्माणभित्र हिन्दुत्व समर्थकहरूको असुरक्षा भावलाई सम्बोधन गर्ने नियत स्पष्ट देखिन्छ । गुजरात नरसंहार उप्रान्त मुख्य मन्त्री मोदीमाथि राजनीतिक दल वा केन्द्रीय सरकारले कुनै कारबाही गर्न नसकेपछि भाजपालाई बलियो व्यक्तित्वले सहजै कब्जामा लिन सक्ने दृष्टान्त पनि स्थापित भयो । वाजपेयीको व्यक्तिगत चरित्रलाई बेदाग मानिन्छ एवं उनलाई कहिल्यै भ्रष्टाचारको आरोप खेप्नुपरेन । तर पार्टीगतरूपमा भाजपाले धुपौरे पुँजीवादलाई प्रश्रय दिएको कुरा उनले सदैव नदेखेको जस्तो गरिरहे र भारत उदय भनिने ‘इन्डिया साइनिङ’ नारा सन् २००४मा ध्वस्त भयो । धर्म निरपेक्षता स्वतन्त्र भारतको बुनियादी मान्यता रहेको भएतापनि हिन्दुत्वको राजनीतिले व्यापक स्वीकार्यता पाएको यथार्थकालागि वाजपेयी आफ्ना अन्य कुनै समकक्षी राजनीतिकर्मीभन्दा कम जिम्मेवार छैनन्।

अतिवादको उन्माद सुस्तरी विकसित हुने रहेछ । भारतमा हिन्दु एवं मुसलमानबीचको साम्प्रदायिक वैमनश्य नयाँ होइन । हिन्दुत्ववादीहरूद्वारा महात्मा गान्धीको हत्यापछि भने धर्म निरपेक्षताका पक्षधरहरूले धार्मिक आक्रामकतालाई नियन्त्रणमा राख्न सकेका थिए । चुनावी फाइदाकालागि इन्दिरा गान्धी पनि मन्दिर धाउँथिन । त्यो कुरा उनको राज्य सञ्चालनमा भने प्रतिविम्बित हुन पाउँदैनथ्यो । कांग्रेसको साम्प्रादायीकरणको स्पर्श विन्दु (टिपिङ प्वाइन्ट) सन् १९८५को सिख विरोधी दंगा थियो । त्यस हिंसाका लागि मूलरूपमा राजीव गान्धीलाई जिम्मेवार ठह¥याउन मिल्ने भएतापनि संसदीय संस्कारमा हुर्केका वाजपेयीले प्रतिपक्षको नेताको हैसियतमा भीडलाई नियन्त्रित गर्ने कुनै भूमिका निर्वाह गरेनन् । सन् १९९२को बाबरी मस्जिद विध्वंशको घटनालाई पनि संसदीय अभ्यासको असफलताका रूपमा औल्याउन सकिन्छ । राजनेता हुनेले भूमिकाबिहीन भएको बहानामा इतिहासको कठघराबाट उम्कन सक्दैन । प्रतिपक्षका नेता भएर ओरालो लागेको संसदीय अभ्यासलाई वाजपेयीले प्रधानमन्त्री भइसकेपछि पनि रोक्न सकेनन् । ओरालोमा गुडेको राजनीतिक नैतिकताको गति उसै पनि फेदसम्म नपुगी विश्राम लिँदैन । वाजपेयीको ओजस्वी राजनीतिक जीवनको पेंद सन् २००२को गुजरात तबाही (गुजरात पग्राम) हुनुपर्छ । त्यहाँबाट उनी आजीवन उम्कन सकेनन् । नरेन्द्र मोदीले मुख्य मन्त्री भएर लागु गरेका ‘गुजरात प्रारूप’ अर्थराजनीतिमा धार्मिक अल्पसंख्यक, विपन्न, कमजोर एवं अन्य पछाडि पारिएकाहरूका लागि कुनै ठाउँ हुँदैन । मोदीवादको पेंद अझ कति गहिरो पुग्ने हो, हेर्न बाँकी छ । ओरालो लागेको ढुंगालाई रोक्न सक्ने क्षमता कमैमा हुने रहेछ भन्नेकुरा त नेपालमा पनि देखिएकै हो।

भयको खेती
काठमाडौँका भद्रजनहरूको चासो हेर्दा लाग्छ, तिनको टिप्पणीले अल्पतन्त्र (ओलीगार्की) सुध्रेर लोकतन्त्रमा रूपान्तरित हुन्छ । जतिपटक मतदानको पवित्र पानीले धोइपखाल गरे पनि गधालाई गाई बनाउन नसकिने गणेशमानको प्रसिद्ध उदाहरण पञ्चायतलाई मात्र लागु हुन्थ्यो भन्ने छैन । बाहुनवादमा नारीको हैसियत के हो भन्ने कुरा मनु वा तुलसीदासलाई नै सोध्नुपर्दैन, त्यसबारे पशुपति मन्दिरबाहिर जनै पूर्णिमाका दिन टपरीमा टीका थापेर बस्नेले पनि धाराप्रवाह व्याख्या गरिदिन सक्छन् । रसियाली,  चिनियाँ वा उत्तर कोरियाका कम्युनिस्टहरूले पुस्तकमा जे लेखे पनि व्यवहारमा नारीलाई मनुभन्दा फरक ढंगले मानेका दृष्टान्त भेट्टाउन कठिन छ । दलित, जनजाति, मधेसी वा अन्य सबै पछाडि पारिएका समूहबारे पनि सोही कुरा लागु हुन्छ । अर्काथरी भद्रजन फेरि अभिव्यक्ति स्वतन्त्रताका कुरा उठाउँछन् । बाहुनवाद वा कम्युनिज्ममा अभिव्यक्तिअगाडि पूर्ण स्वतन्त्रता हुन्छ, त्यसपछिको कुरा भने सत्तासीनहरूको तजविजमा भरपर्ने न हो । सन् २०१५ को १६ बुँदे षड्यन्त्रपछि ओरालो  लागेको घटनाक्रमले अल्पतन्त्र संस्थाकरणको संकेत देखाइसकेको थियो । निर्दोष मधेसीहरूको रगतमा लत्पतिएको रातो गलैँचा ओछ्याएर विवादित संविधानको सवारी चलाउनेहरू अहिले आएर अधिनायकवादको नारा उचाल्न थालेका छन् । नृजातीय ऐक्यबद्धता देखाउँदा द्विदलीय सहमति हुने अनि सरकार चलाउन भने पक्ष एवं प्रतिपक्षको द्वन्द्व झिक्ने भन्ने हुँदैन । मतादेशलाई नै जनादेश मानेपछि जे हुनु छ, त्यही हुँदैछ । आखिर सत्ताधारीसँग दुईतिहाइ बहुमत जो छ । अधिनायकवादको हल्लाले उल्टो बरु सत्तासीनलाई त्यतैतिर लाग्न उत्प्रेरित गर्न सक्छ।

सन् २००६ को वसन्त विद्रोहपछि नेपाली राजनीतिको विकासक्रममा स्पर्श विन्दु सन् २०१३ मा आएको थियो । काठमाडौँका भद्रजनले स्थायी सत्ताका लागि अदालतमार्फत सत्ता पलट गराएपछि समानता, समावेशिता एवं संघीयताको संघर्ष ओरालोमा गुड्न थालेको हो । तेस्रो मधेस विद्रोहले त्यसलाई रोक्न खोज्दा मधेसीहरू नराम्ररी आहत भए । भारतीय हस्तक्षेपका नाउँमा गरिएको भयको खेतीले स्थायी सत्तालाई राम्रै प्रतिफल पनि दियो । राष्ट्रिय राजनीतिको फेदतर्फको प्रक्षेपपथलाई विसम्मतिद्वारा केही सुस्त गर्न सकिन्छ, मोड्नसम्म पनि सकिएला, तर तत्काल रोक्न सक्ने सम्भावना भने देखिँदैन । पाकिस्तानका बारेमा एउटा किंवदन्ती छ । आफ्ना समर्थकहरूको व्यवहारले आजित भएका मोहम्मद अलि जिन्नाले मृत्युशैयाबाट घोषणा गरे अरे– अब पाकिस्तानमा एकपछि अर्को सरकार झन् झन् कमअसल हुँदै जानेछ । शायद गिरिजाप्रसाद कोइरालाले पनि त्यस्तै केही मनमनै भने कि? सत्ता एवं विपक्षका ‘ओलायर’ समर्थकहरूले जत्तिनै संविधानवादको जलप लगाए पनि अहिलेको राजनीतिले फेद नछोइ रोकिने छाँटकाँट छैन । वाजपेयीपछि मोदी स्वाभाविक देखिएझैँ सुशिल कोइरालापछि ढिलो/छिटो खड्गप्रसाद शर्मा ओली आउनु नै थियो । फेद छिट्टै छोएको वेस, त्यसपछि फेरि उकालो लाग्नु त छँदैछ।

प्रकाशित: ८ भाद्र २०७५ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App