भारतसँग तल्लो अरुण निर्माण प्रस्ताव

बिहिबार, ३० भदौ २०७३, १० : ३४ लक्ष्मण वियोगी  | @biyogi2

काठमाडौं- नेपालले ४ सय मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गरिदिन भारतसँग प्रस्ताव गर्ने तयारी गरेको छ। बिहीबारदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा यस्तो प्रस्ताव गर्न लागिएको हो।

यो आयोजना अहिले विद्युत विकास विभागले अध्ययन  गरिरहेको छ। परराष्ट्र मन्त्रालयबाट अध्ययन भएको आयोजनाको पूर्ण विवरण पठाउन निर्देशन दिएपछि ऊर्जा मन्त्रालयले मागअनुसार विवरण पठाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिनेशकुमार घिमिरेले बताए।

'परराष्ट्रबाट विस्तृत अध्ययन भएको आयोजना मागिएको थियो, तत्काल तल्लो अरुण नै रहेकाले यसको विवरण पठाइएको हो,' उनले बुधबार नागरिकसँग भने, 'सरकारले भारतसँग प्रस्ताव  गर्छ या गर्दैन त्यसको जानकारी छैन तर जलविद्युत आयोजनाबारे कुरा उठे पेस हुन सक्छ।'

परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई उधि्रत गर्दै परराष्ट्रका एक अधिकारीले भने, 'ऊर्जा क्षेत्रका विषय आधा दर्जन विषयमा छलफल गर्ने तयारी छ। तल्लो अरुण निर्माण गर्ने विषयमा विशेष छलफल हुनेछ।' यो आयोजना भारतीय सतलज जलविद्युत निगमले निर्माणको तयारी गरेको ९ सय मेगावाटको अरुण तेस्रोभन्दा तल्लो तटमा पर्छ।

ब्रजिलको ब्रास पावर कम्पनीले झन्डै १३ वर्षसम्म ओगटेको तल्लो अरुणको अनुमति दुई वर्षअघि सरकारले खारेज गरेको थियो। बास्केटमा रहेको आयोजना विभागले थप अध्ययन गरिरहेको थियो। सरकारले कम्पनीलाई २०५९ मा अध्ययन अनुमति दिएको थियो।

जलविद्युत विकास नीति, २०५८ मा उत्पादित बिजुली स्वदेशमा खपत गर्ने आयोजनाको हकमा ३५ वर्ष र निर्यात गर्नेलाई ३० वर्षसम्म उत्पादन अनुमतिपत्र दिने प्रावधान छ। तर, अरुणका लागि प्रवर्द्धक कम्पनीले पिपिए वा कनेक्सन एग्रिमेन्ट (प्रसारण लाइन बन्ने आधार) वा वित्तीय व्यवस्थापन गरेको कागजात जुटाउनुपर्छ।

ब्रास पावरले उल्लेखित सर्त पूरा नगरेपछि अनुमति खारेज भएको थियो। नेपालमा तल्लो अरूण जलविद्युत कम्पनी खोलेर अनुमतिपत्र लिएको ब्राजिलियन कम्पनीले ४ सय मेगावाट बनाउन सम्भाव्य नहुने भन्दै आयोजना ६ सय ५० मेगावाटमा प्रस्ताव गरेको थियो।

प्रधानमन्त्रीको भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, अरुण तेस्रोका जग्गा अधिग्रहण, कुशाहा–कटैया, रक्सोल परवानीपुर प्रसारण लाइनबाट थप बिजुली ल्याउनेलगायत विषयमा पनि छलफल हुनेछ। ४ सय केभी न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको डिपिआर तयार गर्ने र लगानी जुटाउने विषय पनि छलफलको एजेन्डा तय गरिएको छ।

आगामी पुस दोस्रो सातासम्म तयार हुने कुशाहा–कटैया र रक्सोल परवानीपुर प्रसारण लाइनबाट ५०/५० मेगावाट बिजुली आयात गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ। उक्त प्रसारण लाइनबाट किन्ने बिजुलीको मूल्य तोक्ने विषय पनि प्रधानमन्त्रीको भ्रमणमा छलफल हुनेछ।

विद्युत प्राधिकरणले विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट ८० मेगावाटसम्म बिजुली किनिरहेको छ। प्रतियुनिट ५.५० रुपैयाँ (३.४४ भारु) मा यहाँबाट किनिएको बिजुलीको खरिद भइरहेको छ। थप किन्ने बिजुलीको मूल्य पनि यही हुनुपर्ने सरकारको जोड छ।

विद्युत प्राधिकरणमा घिसिङ

काठमाडौं, भदौ २९ (नागरिक)– सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा संस्थाकै ११ तहका कर्मचारी (निर्देशक) कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मुकेशराज काफ्लेले भदौ २४ गते पदबाट राजिनामा दिएपछि रिक्त पदमा घिसिङको नियुक्ति भएको हो। रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा कमिटि गठन भएको थियो। कमिटिले मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, प्राधिकरण, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत आयोजना विकास समितिबाट प्रस्ताव माग गरेको थियो।

एक गैरसरकारी संस्थासहित ६ निकायबाट ८ जनाको प्रस्ताव परेको थियो। घिसिङसहित विभागबाट नविनराज सिंह, मधुप्रसाद भेटवाल, सचिवालयका जिवछ मण्डल, मन्त्रालयका चिरञ्जीवी चटौतलगायत व्यक्तिको प्रस्ताव परेको थियो। उक्त प्रस्तावमा पहिलो घिसिङ दोस्रो भेटवाल र तेस्रोमा सिंह छानिएका थिए। तीन जनामा उत्कृष्ट अंक ल्याएकाले घिसिङलाई सिफारिस गरिएको मन्त्रालय कानुन महाशाखा प्रमुख कोशलचन्द्र सुवेदीले जानकारी दिए।

घिसिङले प्राधिकरणको निर्देशक पदबाट बुधबार नै सञ्चालक समितिसमक्ष राजिनामा बुझाएका छन्। बिहीबार सरकारी विदा परेकाले उनको राजिनामा स्वीकृत गरी शुक्रबार कार्यकारी निर्देशकमा नियुक्त गर्ने सुवेदीले बताए। 'काफ्लेको जस्तै उनको पनि नियुक्ति पनि करारकै आधारमा हुन्छ,' उनले भने, 'कडा कार्यसम्पादन मूल्यांकनको आधार हुन्छ, मूल्यांकनमा सफल नभए कुनै पनि बेला सरकारले हटाउन सक्नेछ।'

को हुन घिसिङ?

रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म  बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजी टाटानगरबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएससी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट 'पावर सिस्टम इन्जिनियरिङ' मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन  माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।

तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad