८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी मोर्चामा दुई धार

काठमाडौं– नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र प्रस्ट रूपमा दुई धार देखा परेको छ। संघीय गठबन्धन निर्माण र सरकारसँग वार्ता गर्ने सवाललाई लिएर मोर्चाभित्रै दुई धार देखा परेपछि खुलामञ्चमा जारी रिले अनशन र वार्तामा समेत प्रभाव पर्न थालेको छ।

गठबन्धनले गत जेठ २५ गतेदेखि खुलामञ्चमा अनशन थाले पनि मोर्चाआबद्ध तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतो अझै पुगेका छैनन्। गठबन्धनमा आबद्ध मोर्चाका ७ मध्ये ५ दलका अध्यक्ष भने अनशनस्थलमा उपस्थित भइरहेका छन्।
गठबन्धनमा आबद्ध भएर पनि मोर्चामा आबद्ध दुई दलका नेता भने अनशनस्थलमा नआएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए।

‘ठाकुरजी र महतोजी अझैसम्म पनि अनशनस्थलमा उपस्थित हुनुभएको छैन,’ झाले नागरिकसँग भने, ‘तमलोपाले त प्रतिनिधि पनि अनशनस्थलमा पठाउन छाडेको अवस्था छ ।’ उनका अनुसार जेठ २५ र जेठ २६ गते रिले अनशनमा तमलोपाका प्रतिनिधि उपस्थित रहे पनि त्यसपछिका दिनमा आउनै छाडेका छन्।
पार्टी महाधिवेशन देखाएर अनशनस्थलमा अनुपस्थित रहेका तमलोपा अध्यक्ष ठाकुर गठबन्धन बैठकमा समेत गएका छैनन् । आफ्नो अनुपस्थितिमा उपेन्द्र यादवलाई संयोजक तोकेपछि असन्तुष्ट ठाकुर र महतो अनशनस्थल नपुगेका हुन्।

‘ठाकुर र महतो अनशनस्थल पुगेकै छैनन् भने तमलोपा महाधिवेशनमा पनि महतोबाहेक मोर्चाआबद्ध अध्यक्ष उपस्थित भएनन्’

ठाकुर दिल्लीमा रहेका बेला यादवलाई गठबन्धन संयोजक तोकिएपछि दुवै नेताले असन्तुष्टि पोख्दै आएका छन् । मोर्चाजस्तै गठबन्धनमा पनि कुनै संयोजक तोक्न नहुने ठाकुर र महतोको भनाइ थियो । तर, बहुमत दलको आडमा यादवले आफूलाई संयोजक तोकेको उनीहरूको आरोप छ । यादवले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

यादव नेतृत्वको संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालयमा गत असार १ गते बसेको गठबन्धन बैठकमा समेत दुवै नेता अनुपस्थित भए । त्यसलगत्तैको बसेको अर्को बैठकमा पुगेका महतोले गठबन्धनलाई अघि सारेर मोर्चालाई ओझेलमा पार्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
महतोका अनुसार प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पुनः पठाएको पत्रको जवाफ मोर्चाको तर्फबाट मात्रै लेख्नुपर्ने र त्यसमा गठबन्धनलाई उल्लेखसमेत गर्न नहुने सर्त राखेपछि बैठक केही बेर अलमलमा परेको थियो । तर, मोर्चाको बहुमत पक्षधर महतोको सर्तको विपक्षमा उभियो । नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले त ‘मोर्चा विघटन गरौं’ भनेर प्रस्तावसमेत राखे ।

गठबन्धन कि मोर्चा भन्ने विवादमा मोर्चाको बहुमत पक्षधर गठबन्धनको पक्षमा उभिएपछि मोर्चाले ७ नम्बर बुँदामा गठबन्धनलाई पनि वार्तामा बोलाउनुपर्ने उल्लेख गरेर सरकारलाई जवाफ दिएको स्रोतले बतायो ।

पछिल्लो समय मोर्चाभित्र तमलोपा र सद्भावना एकातिर रहँदै आएका छन् भने संघीय समाजवादीसहित शरदसिंह भण्डारी नेतृत्वको रामसपा, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक भने गठबन्धनलाई प्राथमिकता दिनुपर्ने अडानमा छन् ।
मोर्चाभित्रको विवाद गहिरिँदै जाँदा रामग्राम, नवलपरासीमा तमलोपा महाधिवेशनमा महतोबाहेक अन्य कुनै अध्यक्ष पुगेनन् । ‘महतोजी बाहेक मोर्चाघटक कुनै पनि अध्यक्ष रामग्राम आउनुभएन,’ तमलोपा नेता सुरेश मण्डलले नागरिकसँग भने । उनका अनुसार मोर्चा र गठबन्धन कसलाई प्राथमिकता दिने भन्नेबारेमा छलफल चलिरहेको छ ।

 

प्रकाशित: १० असार २०७३ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App