७ वैशाख २०८१ शुक्रबार
अर्थ

बेलहिया नाकाबाट ७६ हजार पर्यटक लुम्बिनीमा

बुटवल- स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने रुपन्देहीको बेलहिया नाकाबाट यो बर्ष ७६ हजार बढी पर्यटक नेपाल घुम्न आएका छन्। सन २०१८ को जनवरीदेखि जुलाइ सम्मका ७ महिनामा तेश्रो मुलुकबाट ७६ हजार ८७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय वेलहियाले जनाएको छ। यो संख्या गत बर्षको तुलनामा जम्मा १ हजार २०१ ले बढी हो। गत बर्षको सोही अवधीमा ७५ हजार ६७७ विदेशी नेपाल आएका थिए।

 बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको मुख्य गन्तब्य लुम्बिनी हो। तराइका जिल्लामा गर्मी अत्यधिक हुने भएकाले अप्रितदेखि सेप्टेम्बरसम्मका ६ महिना पर्यटन आगमनको 'अफ सिजन' मानिन्छ। बुद्धजन्मस्थल लुम्बिनीका लागि अक्टोवरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। अक्टोवरदेखि मार्च सम्मका ६ महिना पर्यटक आगमनको मुख्य सिजन भएकाले यो समयमा नेपाल घुम्न आउने बिदेशीको संख्या उल्लेख्य बढ्ने अध्यागमन कार्यालय बेलहियाका प्रमुख अधिकृत गीरिराज खनालले बताए।

अगस्ट र सेप्टेम्बर महिना भने बुद्ध धर्मावलम्बीहरुको लागि पवित्र धार्मिक महिना हो। त्यसैले अगस्ट र सेप्टेम्बरमा मौसम गर्मी भएपनि श्रीलंका, थाइल्याण्ड, म्यानमार  लगाएतका देशका बौद्ध धर्मावलम्बीहरु वर्षावास तथा बुद्धपुजा र दर्शनका लागि लुम्बिनी आँउछन्। बुद्ध जन्मस्थल लुम्बिनीमा अगस्ट र सेप्टेम्बर महिनालाइ बौद्ध धर्मावलम्बीहरुको आगमनको महिनाका रुपमा पनि लिइन्छ।

श्रीलङ्का, थाइल्याण्ड म्यानमार,कोरिया जस्ता देशबाट आउने धार्मीक पर्यटकहरुको एक मात्र गन्तब्य लुम्बिनी भएकाले उनीहरु लुम्बिनी दर्शन लगत्तै बेलहिया नाकाबाटै फर्कन्छन। तर चीन, अष्ट्रेलिया, क्यानडा, युएसए,जपान, नेदरल्याण्ड, कम्बोडिया जस्ता देशका पर्यटकहरु भने लुम्बिनी घुमेपछि चितवन,पोखरा, हुँदै काठमाडौं पुग्ने गर्छन्।

अध्यागमनको तथ्याङ्क अनुसार ७ महिनामा यो नाकाबाट नेपाल भित्रिएका बाह्य पर्यटकमा  सबैभन्दा धेरै थाइल्याण्डका छन। श्रीलङ्का, म्यानमार, कोरीयाल र चिनबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य छ। तर बर्ष भन्दा चिनियाँ पर्यटकको संख्या घटेको छ।  यसपाली चीन भारतको सम्बन्ध त्यती सुमधुर नदेखिएका कारण चिनियाहरु भारतीय बाटो हुँदै नेपाल कम आएको हुन सक्ने अध्यागमन बेलहियाका प्रमुख खनालले बताए। गत बर्षको सोही अवधीको तुलनामा चिनिया पर्यटकको संख्या करिब एक हजारले कम छ। चिनियाको संख्या घटेपनि कोरीयाली भने  गत बर्ष भन्दा एक हजार जना बढी आएका छन्।

७ महिनामा बेलहियाबाट सबैभन्दा धेरै थाइल्याण्डका १९ हजार ३३८ पर्यटक नेपाल आए। त्यस्तै १८ हजार ४१८ श्रीलङ्काली र म्यानमारबाट १७  हजार ४६२ पर्यटक नेपाल आएका छन। ४ हजार २ सय ४३ कोरीयाली, २ हजार ३ सय ९० चिनियाँ र २ हजार २ सय ४४ भियतनामी पर्यटक बेलहिया नाकाबाट नेपाल घुम्न आएका हुन। यसपाली भैरहवा स्थित बेलहिया  नाकाबाट नेपाल प्रवेश गर्ने युएसए,अष्ट्रेलिया,युके,कम्बोडिया,नेदरल्याण्ड,स्पेन,ताइवान, जपान जस्ता देशका पर्यटकको संख्या पनि खासै बढेको छैन। यो बर्ष सबैभन्दा धेरै २९ हजार ९६० पर्यटक मार्च महिनामा भित्रीएका थिए। अध्यागमन बेलहियाले ७ महिनामा पर्यटक आगमन बापतको राजश्व ५ करोड ५२ लाख १२ हजार संकलन गरेको छ। नेपाल सरकारले सार्क मुलुकका पर्यटकका लागि बर्षको एक पटक एक महिनाको अवधीका लागि फ्रि भिसाको व्यवस्था गरेको छ । त्यस्तै  सार्क बाहेकका अन्य देशका पर्यटकका लागि भने न्युनतम १५ दिने भिसाको २५ डलर,३० दिनको ४० र ९० दिनको १ सय डलर भिसा शुल्क तोकेको छ।

 

 

 

 

 

प्रकाशित: ७ भाद्र २०७५ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App