७ वैशाख २०८१ शुक्रबार
समाज

बोटमै सिमी कुहिन थालेपछि किसान चिन्तित

डोल्पा – लगातारको वर्षातका कारण घरमा भित्र्याउने समयमा बोटमै सिमी र मकै कुहिन थालेपछि डोल्पाका कृषक चिन्तित बनेका छन।

डोल्पामा मात्र नभएर जिल्ला बाहिर पनि राम्रो माग रहेको कालो माले पहेँलो र स्थानीय जातको सिमी बोटमै कुहिने र घरमा ल्याइएको सिमी समेत छतमै कुहिन थालेको कृषकको गुनासो छ। डोल्पामा एक महिना देखि लगातार भारी बर्षा भइरहेको छ।

बाली भित्र्याउने समयमा पानीले सिमी खेती नै सखाप पारेपछि जिल्लामा यो वर्ष सिमीको हाहाकार हुने त्रिपुरासुन्दरी नगरपालिका–१ का कृषक सुके सार्कीले बताए। वर्षाका कारण भदौरे मकै समेत बोटमै पुनःउम्रन थालेको किसानले बताएका छन् भने बोट समेत कुहिएका छन्।

आधा भन्दा बढि सिमी बोटमै कुहिएको र केही सिमी बोटमै पुनः उम्रन थालेको कृषक अनिल डसालले बताए। उनले भने, ‘घरमा ल्याएको सिमी घाम नलागेर सुकाउन पाएका छैनौ बल्लतल्ल भित्र्याएको सिमी पनि घरको छतमै घाम नलागेर कुहिएर सक्यो।’

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाका बिष्णु केसी पनि लगातारको वर्षातले सिमी खेती बिग्रीएर डोल्पाली कृषक ठूलो मारमा परेको बताउँछन। झण्डै ४ हल गोरु लाग्ने जग्गामा सिमी र मकै लगाएको थिए। सिमी पाकेर भित्र्याउने समयमा परेको पानीले सबै सखाप बनायो केसीले भने। गत वर्ष ३ क्वीन्टल बढि सिमी भित्र्याएको बताउने केसीले अहिले ५० किलो पनि राम्रोसँग भित्र्याउन पाइन्छ कि पाइदैन उनले दुखेसो पोखे।

जिल्लाका अधिकांश कृषक सिमी खेती बिग्रीएपछि मारमा परेका छन्। पहाड, लिकु, दापु, मुहु, बनतडी, काइगाउँ, माझफाल, ताली, रंग र त्रिपुराकोट लगायतका क्षेत्रमा लगाइएको सिमीखेती वर्षाले क्षति पुर्याएकोले यो वर्ष सिमीको उत्तपादनमा ७० प्रतिशतले कमी आउने कृषकले अनुमान गरेका छन्। गाउँघरमा प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पर्ने स्थानीय जातको सिमी नेपालगन्ज, सुर्खेत, काठमाडाैं लगायतका जिल्लामा प्रतिकेजी ४०० देखि ५०० सम्ममा बिक्री हुने गर्दछ।

 

प्रकाशित: ७ भाद्र २०७५ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App