coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महाप्रबन्धकको राजीनामा माग्दै साझा पूर्व कर्मचारी आन्दोलनमा

काठमाडौं – साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गर्दै पूर्व कर्मचारीहरु आन्दोलित भएका छन्। पाउनुपर्ने सेवा उपलब्ध नगराएको भन्दै साझाका एक सय २८ पूर्वकर्मचारी ३८ दिनदेखि आन्दोलनमा छन्।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकसमेत रहेका शर्माले असार मसान्तसम्म सबै कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा उपलब्ध गराउने लिखित प्रतिवद्धता पूरा नगरेपछि कर्मचारीहरु आन्दोलनमा होमिएका हुन् । शर्माले सेवा सुविधा उपलब्ध गराउन नसके अवकाशप्राप्त कर्मचारीलाई पुनः करारमा नियुक्त गर्ने प्रतिवद्धता गरेका थिए। शर्माको अध्यक्ष पद साउन १० गते सकिए पनि उनी महाप्रबन्धकको पदमा बहालै छन् । शर्माले साझाकै कर्मचारीका कारण अर्थ मन्त्रालयले रकम निकासा नगर्दा सेवा सुविधा दिन नसकिएको बताउँदै आएका छन्।

आन्दोलनरत कर्मचारीले भने शर्मा आर्थिक अनियमिततामा मुछिएकाले मन्त्रालयले रकम निकासा नगरेको भन्दै शर्माको राजीनामा मागेका हुन्। ‘शर्मा आर्थिक अनियमिततामा तानिएकाले मन्त्रालयले रकम निकासा नगरेको हो । उनको बहिर्गमनपछि मात्र मन्त्रालयले साझाका लागि रकम निकासा गर्छ,’ आन्दोलनरत एक पूर्वकर्मचारीले भने। शर्माले राजीनामा दिएर मार्ग प्रसस्त नगरेसम्म आन्दोलन जारी रहने उनले बताए। ‘शर्माका कारण हामीले साझाबाट अवकाश लिनुप-यो । हामीलाई अवकाश दिएर उनले आफ्ना मान्छे भर्ना गरे । अहिलेसम्म हामीलाई दिनुपर्ने निवृत्त सेवासमेत दिएका छैनन् । यी सबै समस्याका जड शर्मा नै हुन,’ ती कर्मचारीले भने।

पूर्वकर्मचारीले आन्दोलन सुरु गरेपछि शर्माले पाँच/सात दिनमा एक पटक कार्यालयमा पुगेर हाजिर गर्ने गरेका छन्। भ्रष्टाचार अभियोगमा शिक्षा मन्त्रालयले बर्खास्त गरेका शर्मालाई न्यायाधीश दीपकराज जोशीले स्टे अर्डरमार्फत थमौती गरेका थिए। साझामा भएको अनियमितताबारेमा नागरिक दैनिक र रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले उपसचिव गणेश ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले साझामा अनियमितता भएको ठहर गर्दै शर्मालाई बर्खास्त गर्न सुझाव दिएको थियो।

छानबिन समितिको सुझावका आधारमा मन्त्रालयले शर्मालाई असोज ८ गते अध्यक्ष र महाप्रबन्धक पदबाट बर्खास्त गरेको थियो। शर्मालाई प्रधानन्यायाधीश जोशीको बेन्चले १५ कात्तिक २०७४ मा स्टे अर्डर जारी गरेपछि उनको पुनर्वहाली भएको थियो। साझाको नियमावली अनुसार एकै व्यक्तिले अध्यक्ष र महाप्रबन्धकको पद नपाउने व्यवस्था भए पनि शर्माले दुवै पद सम्हाल्दै आएका थिए।

यसैबीच सहकारी मन्त्री पद्मा अर्यालसहित मन्त्रालयका सचिव र सहसचिव सहितको टोलीले बुधबार साझा प्रकाशनमा गएर कर्मचारीको आन्दोलनको निरीक्षण गर्दै आन्दोलनका विषयमा जानकारी लिएका छन्। उनीहरुले साझाका महाप्रबन्धक शर्मासँग पनि भेट गरेका थिए। शर्माले साझामा आफूले महत्वपूर्ण काम गरेको भन्दै रिपोर्ट गरेपछि मन्त्रीकै अगाडी साझाका कर्मचारीले शर्माले झुट बोलेको भन्दै प्रतिवाद गरेका थिए। मन्त्री अर्यालको टोलीले पूर्व कर्मचारीका मागका बारेमा आफूहरु जानकार रहेको भन्दै छिट्टै माग सम्बोधन गर्ने आश्वासन दिएको आन्दोलनरत एक पूर्व कर्मचारीले बताए।

प्रकाशित: ७ भाद्र २०७५ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App