coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरमा ट्राफिक व्यवस्थापन सुरु

पाल्पा – पाल्पाको तानसेन नगरपालिका क्षेत्रभित्र साँधुरो सडक छ। गल्लीमा साना सवारी र मोटरसाइकलका कारण पैदलयात्रु समेत हिड्न कठिनाई छ। दिनहुँजसो दुर्घटना हुन थालेपछि तानसेन नगरपालिकाले सर्वपक्षिय भेला गरी ट्राफिक व्यवस्थित बनाउने कार्य सुरु गरेको छ। 

जिल्ला प्रहरी, जिल्ला प्रशासन र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा नगरपालिकाले पार्किङ क्षेत्र र गाडीका लागि रुट निर्धारण गरेको छ। अब बुटवलतर्फबाट गुल्मी जाने मालबाहक तथा ठूला सवारीका लागि होलाङदीबाट–सेतीपोखरी–ढुंगाखानी–बाइपास सडक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। हुलाकचोक–बडीज्ञानटोल हुँदै बसपार्क झर्ने ठाडो सडकमा चारपांग्रे सवारी प्रवेश निषेध गरेको छ। अत्यावश्यक एवं सुरक्षासँग जोडिएको साधनलाई प्रवेश निषेध गरिने छैन। निर्माण सामग्री र पानी बोक्ने सवारीलाई राति ८ देखि बिहान ५ बजेसम्म प्रवेश दिन सकिने सर्वपक्षीय निर्णय भएको नगरपालिकाले जनाएको छ।

यस्तै शीतलपाटी ठाडो गल्लीलाई बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेसम्म दुवैतर्फबाट चारपांग्रे प्रवेश निषेध गरेको छ। अन्य समयमा ठाडोगल्ली चोकबाट शीतलपाटी एकतर्फी सवारी चलाउने व्यवस्था मिलाइने भएको छ। शीतलपाटीबाट भगवती टोलतर्फ जाने जनता मावि स्कुलको तलको घुम्ती हुँदै ठाडो गल्ली चोकसम्म एकतर्फी हुनेछ।

टुँडिखेल वीरेन्द्रपार्क आसपासको सडकक्षेत्र तथा नारायणस्थान चोक क्षेत्रमा पार्किङ पूर्ण निषेध गरिनेछ। तेर्सो सडक र असन टोलमा विगतदेखि लागू गरिँदै आएको एकतर्फी नियम कायमै छ। असनटोल र शीतलपाटी ठाडो गल्लीमा मोटरसाइकललाई पार्किङ निषेध गरिएको छ। उक्त स्थानमा राखिने मोटरसाइकललाई सहज पार्किङ गर्न असनटोल रेडक्रस फूलबारी क्षेत्रमा व्यवस्थापन गरिने नगरपालिकाको योजना छ।

विशालबजार क्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गर्न साइराम मन्दिरसम्मको सार्वजनिक सडकलाई एकतर्फी चारपांग्रे र अर्कोतर्फ मोटरबाइक पार्किङ क्षेत्र तोकिने भएको छ। तानसेनदेखि पश्चिमतर्फ जाने र आउने भाडाका सवारी साधनका लागि गौरीशंकर होटलअगाडिको खाली भाग प्रयोग गरिनेछ। पार्किङका लागि पुष्प स्मृति पुस्तकालय अगाडिको तल्लो खुला भूभागलाई प्रयोग गर्ने निर्णय भएको तानसेन नगरपालिकाकाका सूचना अधिकारी बिष्णुप्रसाद पौडेलले बताए। उनले पहिलो चरणमा बजारभित्रका शिक्षण संस्था, अस्पताल एवं मुख्यबजार लहरे पीपलदेखि टक्सारचोक र असनटोल र तेर्सो सडकसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको बताए।

मिसन अस्पताल क्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गर्न लायन्स धर्मशाला अगाडि र भूसलडाँडा सडकको एकतर्फी सार्वजनिक जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। सडक पेटी अतिक्रमणलाई निरुत्साहन गर्न पाल्पा उद्योग वाणिज्य संघ संयोजक रहने गरी व्यापार संघका प्रतिनिधि, नगर प्रहरी, उपभोक्ता अधिकारकर्मी सम्मिलित कार्यदल गठन गरिनेछ। सर्वपक्षीय अन्तरक्रियापछि ट्राफिक व्यवस्थापनका लागि २७ बुँदे निर्णय भएको नगरपालिका सूचना अधिकृत बिष्णुप्रसाद पौडेलले बताए। 

 

प्रकाशित: ७ भाद्र २०७५ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App