७ वैशाख २०८१ शुक्रबार
विचार

सडक संवेदनशीलता

अहिले सहरका मूल मार्गहरूको टालटुल तीव्र गतिमा भइरहेको छ। आउने साता आयोजना हुन लागेको बिम्स्टेक बैठकमा सहभागी पाहुनाका आँखा नबिझाउन् भन्ने यसको उद्देश्य हो। सफा र चिल्ला सडकमा गुड्न पाउँदा पाहुनाको यात्रा सहज हुन्छ। पाहुनालाई यहाँ समृद्धिको यात्रा सुरु भइसकेको सन्देश पनि दिन पाइनेछ। हाम्रो चलनै हो– पाहुना आउने बेलामा घरको सरसफाइमा विशेष ध्यान दिनु। पाहुना आउने भएपछि घर/आँगन बढारेर चिटिक्क पारिन्छ । थोत्रा सामग्रीलाई पाहुनाको आँखा नपर्ने ठाउँमा राखिन्छ। राष्ट्रको हिसाबमा पनि त्यही अवस्था छ । त्यसैले त सर्वसाधारण अचेल राजधानी काठमाडौँमा सडक सुधारका निम्ति पाहुना आउने समयको प्रतीक्षामा रहन्छन्। पाहुना आइदिए भने हाम्रा बिग्रेका सडकले फेरिने मौका पाउने छन्। अझ आफ्नो घर/टोलअगाडिको बाटोबाट विदेशी मुलुकका पाहुना हिँडिदिउन् भन्ने भावना व्यक्त भएको पाइन्छ। अहिले विशेषगरी बौद्ध–जोरपाटी सडक आसपासका बासिन्दा र यो बाटो प्रयोग गरी हिँड्नुपर्ने सर्वसाधारण यसपटक पाहुना हिँड्ने बाटोका रूपमा यो सडक परोस् भन्ने प्रार्थना गरिरहेका छन्। पाहुना हिँड्ने भए भने जसरी पनि रातारात यो सडकको मुहार फेरिनेछ।

सर्वसाधारण अचेल राजधानी काठमाडाैँमा सडक सुधारका निम्ति पाहुना अाउने समयकाे प्रतीक्षामा रहन्छन्। पाहुना अाइदिए भने हाम्रा बिग्रेका सडकले फेरिने माैका पाउने छन्। अझ आफ्नो घर/टोलअगाडिको बाटोबाट विदेशी मुलुकका पाहुना हिँडिदिउन् भन्ने भावना व्यक्त भएको पाइन्छ।

उहिले राजा–रानीको भ्रमण हुँदा देखाउनैका निम्ति भए पनि विकासको ‘नाटक’ हुन्थ्यो। अहिले मुलुकमा राजा–रानी छैनन्, त्यसका ठाउँमा हामी आफैँले निर्वाचित गरेका ‘प्रिय’ नेता छन्। तर तिनले नागरिकको आवश्यकता महसुस गरेर तत्काल काम गराउन सकेनन् । त्यस्तो हुँदो हो त राजधानीबासीले सडककै कारण रुवाबासी गर्नुपर्ने थिएन । चावहिल क्षेत्रका नागरिकले वर्षौँसम्म पीडा भोग्दा पनि सडक बनेन्। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल तीर्थाटनका क्रममा बौद्धको होटल हायातमा बस्ने निर्णय यस क्षेत्रका निम्ति बरदान सावित हुन पुग्यो। त्यो बेला रातारात सडक कालोपत्रे भयो। हायात होटलभन्दा केही मिटर परसम्मको सडकले पनि यो सौभाग्य प्राप्त ग-यो। त्यसउताको सडक भने बनेन। त्योभन्दा उताको सडक किन बनेन भने यहाँका अभागी जनताका निम्ति राम्रो सडक सहजै कसरी उपलब्ध हुन सक्छ? सडक ठेकेदार, मन्त्री र नेताहरूको जो बस्–उठ् छ, त्यसले अहिल्यै सडक निर्माणको आवश्यकता बोध गरिसकेको छैन। केही दिनअघि मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ यस क्षेत्रको अनुगमनका निम्ति पुगे। उनी त्यहाँ पुग्नुअगावै ठेकेदार टोली सडक खाल्डामा माटो हाल्न पुगिसकेको थियो। स्थानीय बासिन्दाका आँखीभाैं आश्चर्यले उचालिएका थिए। सडक बन्ने खतराले ती आश्चर्यचकित थिए। स्थानीय लामा समूहले पनि त्यहाँ गिट्टी/बालुवा हालेर त्यसलाई सम्याउन कोसिस गरे । सडकमा राम्रा लुगा लगाएर हिँडेका स्कुले नानी, कार्यालय हिँडेका सुकिला मानिस हिलो बाटोमा लछप्पै परेको देखेर ती लामाका हृदयमा अनुकम्पा जागृत भएको थियो । तर त्यही अनुकम्पा जागृत हुन नसक्दा आज सर्वसाधारण विदेशी पाहुना मात्रै भए पनि आफ्नो घर/आँगनको बाटो भएर हिँडुन् भन्ने आग्रह गर्छन्।

राजधानीका बासिन्दाका निम्ति मंगलबार अपराह्नको समय अत्यन्तै दुःखद रह्यो । कारण थियो– सडक विभागका कर्मचारी मध्य दिउँसै कालोपत्रे गर्न आउनु। न कुनै सूचना छ न जानकारी। प्रहरीले समेत भनेको थियो– दिउँसोको समयमा यसरी कालोपत्रे गर्न उत्रँदा ट्राफिक व्यवस्थापन भद्रगोल हुन्छ। तर उनीहरूमा त्यो संवेदनशीलता रहेन । सर्वसाधारण सडकमा घण्टौँ सास्ती खेपेर बसे। यही बेलामा गम्भीर बिरामी लिएर आएको एम्बुलेन्स अड्कियो भने जीवन जान सक्छ। कतै आगलागी भयो भने दमकल त्यहाँ समयमै पुग्न सक्दैन। राजधानी काठमाडौँमा मात्र साना/ठूला गरी साढे ११ लाख सवारी साधन छन्। यस्तो अवस्थालाई ध्यानै नदिई दिउँसो सडक मर्मत गर्ने असंवेदनशील तरिकालाई के भन्ने? सडक मर्मतका निम्ति रातिको समय छान्नुपर्छ, त्यसो गर्दा यहाँको जनजीवन ठप्प हुँदैन। सडक मर्मत र सुधारको जिम्मेवारी लिएका निकायले यसलाई नियमित कामका रूपमा अंगीकार गर्नुपर्छ। त्यसो भयो भने सर्वसाधारणलाई मर्का पर्दैन। अहिलेको सरकार सर्वसाधारणको आलोचना सडकको अवस्थाका कारण पनि भोगिरहेको छ। सडकको सुधारमात्र भए पनि सर्वसाधारणले कम तनाव लिई गन्तव्यमा पुग्न पाउने छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सडक खाल्डा पुर्न दिएको समय घर्किँदै गइरहेको छ । बिम्स्टेक बैठक नजिकिँदै नगएको भए यी बिग्रेका बाटा पनि बन्ने थिएनन्। पाहुना आउने दिनमात्र कुचो लाउने, सडक सम्याउने गर्नुभएन। यसलाई नियमित कार्य बनाउन पाए नागरिक अपेक्षा पनि पूरा हुन सक्ने थियो। सडकप्रतिको संवेदनशीलताले सरकारप्रति संवेदनशील भएको सन्देश प्रवाह हुन्छ।

प्रकाशित: ७ भाद्र २०७५ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App