७ वैशाख २०८१ शुक्रबार
खेल

डायमन्ड र दुई पुलिसलाई सफलता

काठमाडौं- न्यु डायमन्ड स्पोर्टस एकेडेमी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणको क्वार्टरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिलातर्फ डायमन्डलेे प्रगतिशील युथ क्लबलाई २५–२, २५–११, २५–१५ ले पराजित गर्‍यो। डायमन्डले सहजै जित हात पारेको खेलमा प्रशिक्षक कुमार राईले पाँच खेलाडीलाई डेब्यु गराएका थिए। डेब्यु गर्ने सबै खेलाडी १४ वर्षमुनिका थिए। टोलीबाट खेल्ने ११ वर्षीया रिया कुँवर कान्छी खेलाडी थिइन्। वाल्मिका आचार्य (१३),  श्रीना माली (१२),सेटर अनिषा सुनुवार (१३) रस्पाइकर प्रतिमा थापा (१४) ले पहिलोपल्ट सिनियर टोलीबाट खेल्ने अवसर पाएका थिए।

डायमन्डको पहिलो रोजाइकी ओपन स्पाइकर पनमिका राई, क्विक स्पाइकर सविता लो तामाङ र सेटर कृपा अधिकारीले बुधबार खेलेनन्। पनमिका उपलब्ध नभएपछि प्रतिभा मालीसँगै कप्तान ललिता नाथले ओपन स्पाइक गरेकी थिइन्।

प्रशिक्षक राईले नयाँ खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए। उनले भने, 'खेल सहज जित्ने सम्भावना भएपछि नयाँ खेलाडीलाई अवसर दिएँ। उनीहरूको खेलबाट उत्साही छु। सेटर अनीषाले आत्मविश्वास साथ खेलिन्। अन्य खेलाडीले राम्रो गरे।'

जितसँगै समूह 'ए' को विजेता बनेको डायमन्डले शुक्रबार ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ। बुधबारै साबिक विजेता एपिएफ, नेपाल पुलिस क्लब र पश्चिमाञ्चलले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन्।समूह 'डी' को खेलमा पश्चिमाञ्चलले जावलाखेल युथ क्लबलाई २५–५, २५–१३, २५–१२ ले हरायो। पश्चिमाञ्चल समूह विजेता र जावलाखेल समूह उपविजेता हुँदै क्वारटफाइनलमा पुगेका हुन्।

यसैगरी प्रतियोगितामा काभ्रे जिल्ला भलिबल संघ समूह 'बी' को उपविजेता र ढोरपाटन समूह 'सी' उपविजेता हुँदैअन्तिम आठमा पुगे। अब समूह 'ए' बाट क्वार्टरफाइनल पुग्ने दोस्रो टोलीको मात्र टुंगो लाग्न बाँकी छ। बिहीबार हुने त्रिभुवन आर्मी र प्रगतिशील युथबीचको विजेता क्वार्टरफाइनलमा पुग्नेछ।

पुरुषतर्फको खेलमा तीन विभागीय टोली एपिएफ, पुलिस र आर्मीले विजयी सुरुआत गरेका छन्। साबिक विजेता पुलिसले समूह 'ए' को पहिलो खेलमा काभ्रे भलिबल संघलाई २५–१०, २५–१५, २५–९ ले र समूह 'बी' मा एपिएफले ढोरपाटनलाई २५–२१, २५–२२,  २५–१६ ले पराजित गरे। आर्मीले पनि सहजै जित निकाल्ने क्रममा समूह 'सी' को खेलमा जावलाखेललाई २५–१५, २५–१९, २५–१२ ले पराजित गर्‍यो।

असोज ३ सम्म चल्ने प्रतियोगिता लिगकमनकआउटका आधारमा भइरहेको छ। पुरुषतर्फ १२ र महिलातर्फ ९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: ३० भाद्र २०७३ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App