coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘प्ली बार्गेनिङ’ ले अनुसन्धान छरितो

प्रहरीले बरामद गरेको चितुवाको छाला। तस्बिर : रमेश/नागरिक

दोलखा - जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठकलाई महिना दिनअघि एउटा सूचना आयो, ‘पूर्वी ठुलोपातल आसपासमा चितुवाको छाला गाउँबाट उठाएर राजधानी पास गर्न एउटा गिरोह सल्बलाइरहेको छ, खोजी गर्नू।’ अपुष्ट सूचना पाएका पाठकले अनुसन्धानका लागि कार्यालयका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा टोली गठन गरे। एक महिनासम्मको अनुसन्धानपछि ग्राहकको भेषमा गिरोहसम्म पुगेर काफ्ले नेतृत्वको टोलीले मंगलबार सफलता हात पा-यो। ग्राहक बनेर पुगेका प्रहरीलाई चितुवाको छाला बेच्न मैनापोखरीनजिक कुरेर बसेका वैत्येश्वर ४ काब्रेका प्रदीप गजमेर रंगेहात पक्राउ परे। गजमेर त समातिए तर उनलाई प्रयोग गर्नेहरु कहाँ छन्? प्रहरीका लागि यो चुनौतीपूर्ण प्रश्न थियो। आखेटोपहार र बन्यजन्तु तस्करीमा यसअघिका अनुसन्धानमा प्रायः भरियामात्रै पक्राउ गर्दै आएको प्रहरीलाई गजमेरबाहेक गिरोहमा कोको छन् भनेर खोज्नु चुनौतीपूर्ण थियो।

मंगलबार बेलुकी नै गजमेरलाई सदरमुकाम चरीकोटस्थित जिल्ला प्रहरी कार्यालय ल्याइपु-याइयो। उनको बयान सुरु भयो। उनले चितुवाको छाला बेच्ने काममा आफ्नो एक्लो संलग्नता रहेको दाबी गरे। यसपछि डिएसपी पाठकले अनुसन्धानको नयाँ तरिका अपनाए। उनले भर्खरै जारी भएको अपराध संहिताको दफा ४७ पल्टाएर गजमेरलाई देखाए। दफा ४७ मा पक्राउ परेका व्यक्तिले अनुसन्धानमा सहयोग गरे वा घटनाका अन्य मतियारबारे बताए सजाय छुट दिनसक्ने अधिकारबारे लेखिएको थियो। उक्त दफामा लेखिएको थियो, ‘कुनै पनि कसुरदारले आफूले गरेको कसुर स्वीकार गरी त्यस्तो कसुरका सम्बन्धमा प्रमाण जुटाउन, अन्य अभियुक्त वा त्यसका गिरोह वा मतियार पक्राउ गर्न वा अनुसन्धान गर्न सघाउ पु-याएमा कानुनबमोजिम हुने सजायको बढीमा ५० प्रतिशतसम्म छुट दिन सकिनेछ।’

प्रहरीले सजाय छुटसम्बन्धी दफा देखाएपछि सबै ‘दोषी’ ले सजिलै तस्करीमा संलग्न एकअर्काको पोल खोलेका थिए।

अपराध कबोल गरेमा वा सघाउ पु-याएमा उनलाई सजाय छुटका लागि सिफारिस गर्न सक्ने कुरामा डिएसपी पाठकसहितको टोलीले गजमेरलाई सहमत गरायो । कानुनकै पाना पल्टाएर देखाएपछि गजमेरले धमाधम बके।

गजमेरलाई चितुवाको छाला बेच्न पठाउने जिरी नगरपालिका ९ ठुलोपातलका ३५ वर्षीया वेदबहादुर सुनुवार बुधबार बिहान २ बजे घरबाटै पक्राउ परे भने वेदबहादुरलाई बेच्न भनेर चितुवाको छाला दिने गाउँकै ३५ वर्षीय नारद सुनुवार मध्यरातमा घरबाटै समातिए। नारद ठुलोपातलकै भुसुणे सुंगुरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। जंगलमा पासो थापेर चितुवा मारी छाला बिक्री गर्न नारदलाई दिने मुख्य अभियुक्तलाई समेत प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ। उनको नाम सार्वजनिक गरिएको छैन। प्रहरी स्रोतका अनुसार उनी नारदका भिनाजु हुन्।

यो चितुवाको छाला बेच्ने प्रकरणमा पक्राउ परेका चारैजना एकअर्काको बयानका आधारमा समातिएका हुन्। प्रहरीले सबैलाई समाउन सजाय छुट हुने दफालाई नै हतियार बनाएको थियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उक्त दफा देखाएपछि सबै अभियुक्तले सजिलै तस्करीमा संलग्न अन्यको पोल खोलेका थिए । ‘सुरुमा बक्न मानेका थिएनन्’, जिल्ला प्रहरी प्रमुख डिएसपी पाठकले भने, ‘पछि सजाय छुटकै दफा देखाएपछि सबै वृत्तान्त खोल्न सहमत भए । उनले उक्त दफाका कारण यस्ता घटनामा मतियार र संलग्न अन्यलाई समेत समाउन साथै अनुसन्धानमा छरितोपन मिलेको अनुभव सुनाए। डिएसपी पाठकका अनुसार नयाँ कानुनमा भएको सजाय छुट दिने यो अनुसन्धान पद्धतिलाई कानुनी भाषामा ‘प्ली बार्गेनिङ’ भनिन्छ।

चारजनाबीचको चितुवा कनेक्सन
जिरी नगरपालिकाको ९ नम्बर वडाका नारद सुनुवार स्थानीय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। उनलाई एकपटक उनका भिनाजुले चितुवा पासोमा परेको र आफूले छाला निकालेर घरमा राखेको सुनाए। नारदले गाउँकै नाता पर्ने वेदबहादुरलाई बेच्ने मान्छे खोज्न आग्रह गरे। त्यही बीचमा वेदबहादुरको काब्रे गाउँका प्रदीप गजमेरसँग सम्पर्क भयो। प्रदीप चाँदीको काम गर्थे। चाँदीको लकेट बनाउन बन्यजन्तुको हाड मगाइदिन प्रदीपले वेदबहादुरलाई आग्रह गरे। वेदबहादुरले हाड होइन, छाला भएको बताए। छाला डेढ लाख रुपैयाँमा बिक्री गर्ने विषयमा उनीहरुबीच सहमति भयो। प्रदीप ग्राहक खोज्दै थिए। प्रदीपको गतिविधिबारे प्रहरीले सुइँको पायो। ग्राहक बनेर एक महिना लामो अनुसन्धान गरी उनलाई मंगलबार प्रहरीले रंगेहात पक्राउ गरियो। प्रहरीका अनुसार बरामद गरिएको चितुवाको छाला पुच्छरसहित ५ फिट ९ इन्च लामो छ। पक्राउ परेकाहरुलाई वन डिभिजन कार्यालयमा बुझाइने डिएसपी पाठकले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App