८ वैशाख २०८१ शनिबार
समाज

नहर निर्माणमा कमजोरी : छानबिन टोली

किसानको खेतमा पानी नपुग्दै क्षतविक्षत भएको सिक्टा सिँचाइको मूल नहर। तस्बिर : नागरिक

काठमाडौं - सरकारी छानबिन टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा कमीकमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन टोलीले सिक्टाको मूल नहरको स्थलगत अध्ययन सकेर काठमाडौं फर्केपछि कमीकमजोरी भेटिएको जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा गठित छानबिन टोलीले मूल नहर भत्कनुमा व्यवस्थापनको कमजोरीका साथै माटोको समस्या देखिएको जनाएको छ। ‘सिक्टामा देखिएको समस्याबारे सुझावसहित विस्तृत प्रतिवेदन तयार गर्दैछौं,’ इन्जिनियरसमेत रहेका सहसचिव तिवारीले भने, ‘आयोजना सम्पन्न नहुँदै मूल नहर बनाउने ठेकेदारको मर्मत र सुधार गर्ने अवधि पनि नवीकरण नगरेको भेटिएको छ।’ आयोजना सम्पन्न नभए पनि तत्कालीन प्रमुख रमेश बस्नेतले कालिकाको मूल नहर मर्मत र सुधार गर्ने अवधि नवीकरण गराएका छैनन्।

मूल नहर भत्कनुमा व्यवस्थापनको कमजोरीका साथै माटोको समस्या देखिएको सरकारी छानबिन टोलीको प्रारम्भिक निष्कर्ष छ।

सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सिक्टाको पश्चिम खण्डको ४२ किलोमिटर मूल नहर किसानको खेतमा पानी नपुग्दै पटकपटक भत्कने गरेको छ। मूल नहरको मर्मत र सुधार गर्ने अवधि थप नगरिएका कारण कालिकाले सिक्टामा आफ्नो दायित्व सकिएको दाबी गर्दै आएको छ। कानुनले जुनसुकै आयोजना सम्पन्न भएको एक वर्ष मर्मत र सुधारको दायित्व सम्बन्धित ठेकेदारको हुने व्यवस्था गरेको छ।

छानबिन समितिका संयोजक तिवारीले अहिलेकै अवस्थामा सिक्टाको मूल नहरबाट पानी चल्न नसक्ने बताए। ‘सिक्टाको मूल नहरबाट पानी चलाउन मजबुत तरिकाले पुनःनिर्माण आवश्यक छ,’ उनले भने। १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको उक्त आयोजनालाई थप बलियो बनाउने कामका लागि आवश्यक रकम ठेकेदार कम्पनीले बेहोर्नुपर्ने उनको भनाइ छ। ‘मर्मत र सुधारको दायित्व नवीकरण नभए पनि कालिकाले पूरै रकम लिइनसकेकाले बाँकी काम उसैले गर्नुपर्छ,’ तिवारीले भने। टोलीमा तिवारीसहित सिनियर डिभिजनल इन्जिनियरहरू योगेन्द्र मिश्र, कृष्ण बेल्वासे, दिनेश रजौरिया र विद्युत् प्राधिकरणका इन्जिनियर प्रकाशमान श्रेष्ठ थिए। टोलीले १५ दिनजतिमा विस्तृत प्रतिवेदन तयार पार्ने जनाएको छ।

मूल नहरको चार किलोमिटर खण्डको माटो निकै घुलनशील पाइएकाले छानबिन टोलीले थप परीक्षणका लागि माटो काठमाडौं ल्याएको छ । मूल नहरको कटिङ गरिएको स्थानभन्दा माटो भरिएको स्थानमा बढी समस्या देखिएको छ। माटो भर्दा ठेकेदार कम्पनीले राम्रोसँग कम्प्रेषण नगर्दा समस्या देखिएको हो कि भन्ने कतिपय प्राविधिकको आशंका छ। सर्वसाधारण भने मूल नहर निर्माणको क्रममा ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भएकाले पटकपटक भत्कने गरेको आरोप लगाउँछन्।

अनियमितता छानबिन जिम्मा अख्तियारको
मन्त्रालयको टोलीले सिक्टाको स्थलगत अध्ययन गर्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसबारे अध्ययन गरिसकेकाले तिवारी नेतृत्वको टोलीको ध्यान मूल नहर सुधारमा बढी केन्द्रित रहेको थियो। ठेकेदार कम्पनी, आयोजना प्रमुख तथा इन्जिनियरहरूले गरेको बदमासीबारे अख्तियारले नै छानबिन गर्ने बताइएको छ। ‘मन्त्रालयको टोली प्राविधिक पक्षको अध्ययनमा बढी केन्द्रित भयो,’ तिवारीले भने।

स्रोतका अनुसार निर्माण कार्य सुरु हुँदादेखि नै सिक्टामा बदमासी भएकाले आयोजना प्रमुखहरू, अनुगमनका खटिएका इन्जिनियर तथा ठेकेदार कम्पनी दोषी छन्। कतिपय प्राविधिकले घुलनशील माटोका कारण सिक्टाको मूल नहर भत्किएको बताउने गरे पनि सर्वसाधारण त्यस्तो मान्न तयार छैनन्। सिक्टा सिँचाइको ३५ किलोमिटर खण्ड पर्ने राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले किसानको खेतमा पानी नपुग्दै २४ किलोमिटर मूल नहर जीर्ण भइसकेको बताइन् । ‘४५ किलोमिटर नहर बनाउँदासम्म माटो घुलनशील नहुने, काम सकिएपछि घुलनशील भयो भन्नु एकातिर अनियमितता ढाकछोप गर्ने प्रयास हो भने अर्कोतर्फ इन्जिनियरिङकै बेइज्जती हो,’ उनले भनिन्।

५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा चारपाँच क्युमेक्स पानी चढाउँदा नै भत्कने गरेको छ। स्थानीयले सिक्टामा भएको अनियमिततामा गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: ७ भाद्र २०७५ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App