४ वैशाख २०८१ मंगलबार
कला

एक्लिँदा एक्लिँदै गए सुनिल

काठमाडौं- गोरेटो अनि उस्तै छ गल्ली

तिमी कतै बद्ल्यौ कि

आकाश उही छ, धर्ती उही छ

कतै तिम्रो मन बद्ल्यो कि

जब यो गीत बजारमा आयो। युवामात्र होइन सबै वर्गका बीच गायक सुनिल बर्देवा लोकप्रिय बने। एउटै गीतले उनलाई परिचित गरायो। उनै बर्देवा मंगलबार राति ४२ वर्षको उमेरमा धर्तीदेखि बिलाए। उनको अन्तिम बिदाइमा समकालीन संगीतकर्मी कलाकारहरुले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यही गीत गाए।

‘बाबा औषधि खानु भयो?' सोमबार राति गायक सुनिल बर्देवाकी जेठी छोरी सनुष्काले सोधिन्। ‘अँ राम्ररी खाँदैछु,' बर्देवाले छोरीको मन राख्दै जवाफ दिए। सनुष्काले फेरि भनिन्, ‘बाबा राम्ररी औषधि खानुस् है।' जन्डिस बल्भि्कएर केही दिनयता बिरामी थिए बर्देवा। धुम्बाराहीस्थित घरमा एक्लै आराम गर्दै थिए। जेठी छोरी सनुष्का, माइली छोरी संस्कृति र कान्छो छोरा स्वयं मामाघर नारायणगढमा बसेर पढ्दै थिए।

दुई वर्षअघि आमाको निधन गएपछि हेरचाह गर्ने मानिसको अभावमा उनीहरु मामाघर बसेर पढ्दै थिए। यता बर्देवालाई पत्नीको वियोग त छँदैथियो। छोराछोरीसमेत साथमा नहुँदा थप एक्लिएका थिए। ‘म दिनदिनैजसो फोन गर्थें,' चितवनमा डेन्टिस्ट पढ्दै गरेकी सनुष्काले सुनाइन्, ‘ममी नभएपछि बाबाको आफ्नो भन्ने हामी नै थियौं।'

तर मंगलबार बिहान फोन गर्दा उनले आफ्ना बुबासँग कुरा गर्न पाइनन्। ‘बाबाले फोन नउठाएपछि तल कोठामा बस्ने अन्टीलाई फोन गरेँ,' उनले नागरिकसँग भनिन्, ‘बाबासँग कुरा गर्छु फोन दिनुस् न भनेँ।' ती छिमेकीले माथिल्लो तलामा रहेका बर्देवासम्म फोन पुर्‍याउन लगिन्। ढोका ढक्ढकाइन् तर बर्देवाले खोल्न मानेनन्।

‘बाबाले किन ढोका खोल्नुभएन, कुरा नै हुन पाएन,' सनुष्काले रुँदै बिहानको कुरा बताइन्, ‘एकैचोटि अन्टीले पछि अस्पताल लैजानुपर्ला जस्तो छ भनेर फोन गर्नुभयो, अहिले यस्तो भयो।' उनले यति भन्दै गर्दा उनका भाइ र बहिनीको आँखा अझ बढी रसायो। बर्देवाकी दिदी शर्मिला बर्देवा पहिल्यैदेखि रोइरहेकी थिईन्।

तारन्तार रगत बान्ता गरिरहेका बर्देवाको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेलगत्तै निधन भएको घोषणा चिकित्सकले गरिदिए। छिमेकीको सहयोगमा अस्पताल त पुगे। तर घर फर्केनन्। न आफन्त न छोराछोरी। कसैले भेट्न नपाई उनी संसार छाडेर गए।

‘जन्डिसको समस्या बल्भि्करहन्थ्यो उनलाई,' उनका सहकर्मी तथा संगीतकार संघका महासचिव महेश खड्काले भने, ‘कसैले खबर राम्ररी नपाउँदै थाहै नदिई गए।' जन्डिस उनको पुरानो रोग हो। त्यसो हुँदाहुँदै पनि उनले मदिरा पिउन छाडेनन्। पत्नी रहुन्जेल ख्याल हुन्थ्यो र रोगले च्यापेन उनलाई।

तर दुई वर्षअघि पत्नी शोभाको निधन भएपछि ख्याल गरिदिने कोही भएनन्। ‘भाउजुको निधनपछि दाइ एक्लिनु भयो,' उनका नजिकका सहकर्मी तथा गायक प्रमोद निर्वाण भन्छन्, ‘पिडा भुल्न मुम्बईसमेत जानु भयो।' तर जता गए पनि उनलाई पत्नीको बियोग र छोराछोरीको चिन्ताले सताउन छाडेन।

 

प्रमोदका अनुसार छोराछोरी भेट्न उनी बारम्बार चितवन गइरहन्थे। यता पत्नी बियोग भुल्न फेरि गायनतिरै फर्कंदैथिए। ‘भाउजुलाई समर्पण गर्दै एल्बम निकाल्ने तयारीमा हुनुहुन्थ्यो भिडियो नि गर्छु भन्दै हुनुहुन्थ्यो,' प्रमोदले बर्देवासँग केही दिनअघि भएको कुरा सुनाए, ‘तीनवटा गीत रेकर्ड पनि भैसकेका छन्। बाँकीको काम हुँदै थियो।'

पत्नी वियोगले मुम्बई गएर उनले संगीतकै कुरा सिकेर फर्के। तीन महिनाअघि फर्केलगत्तै नयाँ एल्बमको तयारीमा जुटेको उनका मित्र तथा गायक संजीव सिंहले बताए। 'भेट हुँदा छोराछोरीकै बढी चिन्ता गर्थे,' सिंहले भने, 'जति सँगै काम गरे पनि अन्तिम समयमा भेट्नै नपाई एक्लै गए।'

 

प्रतिभाका धनी थिए बर्देवा

जुनसुकै क्षेत्रमा होस मानिसले एउटामात्र विधामा बढी काम गर्छन्। तर बर्देवा यस्ता कलाकार थिए, जसले गीतसंगीतका सबै विधामा पहुँच राख्थे। ‘मान्छे हातले गिटार बजाउँछन् तर बर्देवा मुखले गिटार बजाउन सक्थे,' महेश खड्काले उनलाई सम्झे, ‘किबोर्डमा उनी यति फास्ट थिए कि औंला कसरी चल्थ्यो देख्न गाह्रो हुन्थ्यो।'

पछिल्लो समय ब्ल्याक पेपर म्युजिक स्टुडियोमा उनका गीतको रेकर्डिङ चलिरहेको थियो। उनी गीत संगीतमै भुलेर पिडा भुलाउन चाहन्थे। त्यही प्रयास गर्दै थिए। अरुका गीतमा संगीत भर्ने काममा पनि सक्रिय हुन थालेका थिए। तर त्यहीबेला बल्भि्कएको जन्डिसले उनको ज्यानै गयो।

नयाँ एल्बमको भिडियोका लागि साथीभाइसँग पोखरा जोमसोम लगायतका स्थानमा ठाउँसमेत हेरेर फर्केका थिए। ‘मेरो गीत 'चुलेसीमा'देखि पछिसम्म जति गीत रेकर्ड भए सबैमा उसैको एरेन्ज थियो,' गायक संजीव सिंहले भने।

गायक राजेशपायल राई पनि बर्देवाको मिजासिलोपनसँगै बहुप्रतिभाका कायल छन्। ‘मान्छेले कि त गीत गाउँछ कि त संगीतको एउटा बाजा बजाउँछ,' राईले भने, ‘तर सुनिल सबै काम एक्लै गर्न सक्षम थिए।' राईले 'लभलेटर' एल्बममा बर्देवासँग काम गरेका थिए।

पप संगीतको क्षेत्रमा बर्देवा एक सशक्त सर्जक रहेको संगीतकार दीपक जंगमको अनुभव छ। उनको निधनलाई अप्रत्यासित घटना ठान्ने जंगम उनको कलाकारिताको सिको अहिलेका युवाहरुले गर्नुपर्ने बताउँछन्।

'मेटि्रक्स' नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले साठीको दशकमा नवीन के भट्टराई, निमा रुम्बालगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए। त्यतिबेला थुप्रै गायकको सफलताका पछाडि बर्देवाको योगदान रहेको सञ्चारकर्मी प्रभात रिमाल बताउँछन्।

वर्देवाले आफ्नो ज्ञान आफैमा भने सीमित राखेनन्। 'अब सम्झनामात्र बाँकी रह्यो,' उनका चेला विपिन स्थापितले रुँदै भने, 'उहाँको सिकाइबाट धेरै कलाकार जन्मे, धेरै उचाइमा पुगे।'

 

 

प्रकाशित: ३० भाद्र २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App