७ वैशाख २०८१ शुक्रबार
शिक्षा

नेपाली पत्रकारले पढ्नै पर्ने १० पुस्तक

२०३० देखि पत्रकारिता सुरु गरेका पी.खरेल अंग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को सम्पादक भए। उनी पत्रकारिताका प्राध्यापकसमेत हुन्। सञ्चार क्षेत्रको २० भन्दा बढी पुस्तकमा लेखन तथा सहलेखन गरेका उनीसँग सञ्चारमाध्यमबारे जानकारी दिन चाहनेले पढ्नुपर्ने १० अध्ययन सामग्रीबारे सोध्दा प्रारम्भमै भने ‘पढ्नुपर्ने पुस्तक त धेरै छन्, कुन कुन भन्ने !’ कुराकानीको क्रममा उनले ‘जति अध्ययनशील भइयो उति नै पत्रकारिताको धर्म पूरा गर्न सक्षम भइन्छ’ भन्दै दश वटा अध्ययन सामग्री सिफारिस गरे।

१. संविधान
संविधान सबैले पढ्नै पर्छ । अझ विशेष सञ्चारकर्मीले छुटाउनै भएन यो । आफ्नो बिटसँग सम्बन्धित भएका कुराहरुमा के–के भएको छ, कानुनको व्यवस्था के छ जानकारी त हुनैपर्छ । संविधानले ज्ञानको दायरा फराकिलो पारिदिन्छ । जेन्युन कुराको ज्ञान राख्नुपर्छ । यसले आफ्नो क्षेत्रलाई जोड्न सहज हुन्छ ।

२. ‘नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास’
गृष्मबहादुर देवकोटा
पत्रकारिता गर्ने, गर्न चाहने वा निकटबाट नियाल्न चाहनेले पत्रकारिताको इतिहास त पढ्नैपर्छ । त्यसमाथि आफ्नो देशमा भएको पत्रकारिताको इतिहासबारे जानकार हुनु झन् राम्रो । यस पुस्तकमा लेखकले वि.सं. २०२२ भन्दा अगाडिको पत्रिकाको कटिङ राखेर के थियो, कस्तो थियो लेखेका छन् । पत्रिकाको इतिहास भनेको मूल त हाम्रोमा ००७ साल पछाडि हो । त्यहाँभन्दा पहिले त गोरखापत्र मात्रै थियो । निबन्ध र कविता मात्रै राखेर पत्रिका निकाल्नेलाई पत्रिका त भन्न भएन तर भन्ने चलन छ । पे्रस काउन्सिल नै पुरस्कृत गरिरहेको छ ।
कन्टेन्टमा धेरै नगए पनि कसरी भयो, कहिले भयो भनेर गहिराइमा पुगेर लेखेका छन् । यसरी गहिराइमा पुगेर लेखिएका अरू पुस्तक छैन । सिस्टम्याटिक तरिकाले प्रस्तुति नभए पनि त्यो नेपाली पत्रकारहरुका लागि ठूलो सूचनाको खजाना हो ।

३. ‘प्रकाशनको दिग्दर्शन’
प्रेस काउन्सिल
पत्रकारिताको क्षेत्रको विकास क्रम के–कस्तो छ, विश्वमा पत्रकारिता कतातर्फ जादैँछ, हामी कता छौँ भन्ने ध्यान दिनुपर्छ । यसले समयअनुसार अपडेट हुन सघाउँछ। यसमा पछिका वर्षका पत्रकारिता क्षेत्रको विकासक्रमबारे जानकारी पाउन सकिन्छ ।

४. ‘मिडिया स्टडिजः अ रिडर’
पाउल मेरिज र स्यु थर्नह्याम
पत्रकारको काम समाचार लेख्ने मात्र हैन । आम सञ्चार क्षेत्रमा के–के अध्ययन अनुसन्धान भइरहेको छ भनेर पनि पढ्नुपर्ने हुन्छ । मिडिया स्टडिज रिडर यस्तो पुस्तक हो, जहाँ नाम चलेका अन्तर्राष्ट्रिय लेखकहरुले लेखेका हुन्छन् । जसले आम सञ्चार क्षेत्रमा निकै अध्ययन अनुसन्धान गरेका छन्, प्राध्यापन गर्नेसमेत छन् । उनीहरुले एकदमै गुणस्तरीय लेखहरु छोटकरीमा लेखिएको छ । आम सञ्चारको दर्शन, व्यावहारिक पक्ष, व्यावसायिक पक्षबारे दर्जनाै लेख छन् ।

५. ‘द पोलिटिकल इकोनोमी अफ मिडिया’
रोबर्ट डब्लू. म्याकचेस्नी  
कुन समाचार कसरी सम्प्रेषण भएको छ भन्ने कुरा पत्रकारले ख्याल गर्नुपर्छ । यो पुस्तकमा पोलिटिकल अफेयर्स र इकोनोमी अफेयर्स कसरी एकसाथ जान्छन् र कम्युनिकेसन यसै बीचमा कसरी जान्छन् र कस्तो हुन्छ भन्ने मिहिन ढंगले केलाइएको छ । इकोनोमिक समाचार कसरी सम्पे्रषित हुन्छन्, राजनीतिक मेसेज कसरी सम्प्रेषित हुन्छन्, राजनीतिक र आर्थिक मुद्दाबारे सूचना कसरी सम्प्रेषण हुन्छन् भनेर म्याकचेस्नीले गहिराइमा पुग्ने प्रयास गरेका छन् ।

६.‘मास कम्युनिकेसन थ्योरी’
डेनिस मक्वेल
हरेक क्षेत्रमा वर्षैपिच्छे अध्ययन–अनुसन्धान भएझैँ पत्रकारिता क्षेत्रमा पनि अध्ययन–अनुसन्धान भइरहेका हुन्छन् । डेनिसले यस पुस्तकमा विगत सय वर्षदेखि विश्वमा धेरै नाम चलेका विभिन्न थ्योरी, मास कम्युनिकेसनसँग सम्बन्धित विषय र अध्ययनकर्ताको भनाइको सारांश यसमा राखेका छन्।

 

७. ‘इम्प्याक्ट अफ मिडिया’
रे इडनहाइवर्ट
अमेरिका विश्वमा संविधानमानै प्रेस स्वतन्त्रता राख्ने पहिलो मुलुक हो। अमेरिकामा मिडिया क्षेत्रमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । उता त पे्रस फ्रिडम विल नट बि कम्प्रमाइज भन्ने भनाइ नै छ।

आफूले लेखेका कुराले कस्तो प्रकारको इम्प्याक्ट पारिरहेको छ भनेर सञ्चारकर्मीले ध्यान दिनुपर्छ। अमेरिकामा बिरालो, कुकुर, बास्केटबलको ठूलो पत्रिका नै निस्कन्छ। हप्तैपिच्छे लेखिएका समाचारबाट कस्तो प्रभाव पार्छ भन्नेबारे पनि उल्लेख गरिएको हुन्छ ।

८. ‘इथिक्स इन मिडिया कम्युनिकेसन्स’
लुइ डे
दोस्रो विश्वयुद्धपछि पत्रकारिता क्षेत्रमा अनेकौँ किसिमका प्रश्न खडा भए । समाचारको विश्वसनीयताबारे लामो बहस भए। यस पुस्तकमा २० औँ शताब्दीपछि पत्रकारितामा उठेका प्रश्नबारे उल्लेख छ।
विकसित देशहरुमा पाठक निकै धेरै सचेत हुन्छन्। हाम्रोमा पनि आजभोलि केही सचेत पाठक बढ्न थालेका छन्। यसमा समाचार माथिको इथिक्सबारे उल्लेख छ।

९. ‘पोलिटिकल कम्युनिकेसन’
पी खरेल
कस्ता विषयले कुन ठाउँमा स्पेस पाउँछ, कस्ता समाचारहरुले समय धेरै पाउँछ भन्नेमा निकै ध्यान दिनुपर्छ । नेपालमा दैनिकी अखबारमा फ्रन्ट पेजमा दुई तिहाई कन्टेन्ट पोलिटिकल छ । मेजोरिटी हेडलाइन राजनीतिकै हुन्छ । त्यसैगरी अन्य समाचारलाई कति स्थान दिने भनेर कोटा दिन थालिएको छ । अखबार, रेडियो, टिभीमा पनि राजनीतिक समाचारलाई नै बढी स्थान दिने चलन छ । यस पुस्तकमा मैले २०÷२५ वटा साप्ताहिक, धेरै दैनिकी पेपरको विश्लेषण गरेको छु । राजनीतिक संस्थाहरुले कसरी प्रयोग गर्छन्, मिडिया कसरी म्यानुपेलेट हुन्छ र कसरी सावधान हुनुपर्छ, बाहिर के–के भए, नेपालमा के–के भए भन्ने कुरा पनि समावेश छ।

१०. ‘मिडिया रिडर’

दीपक अर्याल, भुवन केसी, तिलक पाठक
यस पुस्तकमा सञ्चार माध्यमको विभिन्न विधामा काम गरेका मूर्धन्य व्यक्तिहरुको अनुभव यस पुस्तकमा उल्लेख गरिएको छ । विभिन्न विषयमा धेरै वर्ष काम गरिसकेका व्यक्तिहरुको विचार यस पुस्तकमा समावेश छ। विज्ञापन, कानुन, मिडिया सेक्टर, विद्युतीय सञ्चार माध्यम आदि जति पनि कुरा सञ्चार माध्यममा जोडिन्छन्, ती सबै पक्षका बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुक्रवार साप्ताहिकका लागि प्रजु पन्तसँगको कुराकानीमा अाधारित।

प्रकाशित: ६ भाद्र २०७५ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App