निर्मला हत्या प्रकरण : प्रदर्शनकारी र प्रहरीबीच झडप, १२ सेल अश्रुग्यास प्रहार

बुधबार, ०६ भदौ २०७५, १४ : १६ दिलबहादुर छत्याल

भिमदत्तनगर - बलात्कार पछि हत्या गरिएकी तेह्र वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आन्दोलनमा उत्रीएका प्रदर्शनकारीमाथि प्रहरीले बुधवार (आज) १२ सेल अश्रुग्यास प्रहार गरेको छ।

अाज विहानैदेखि बजार बन्द गराउँदै आन्दोलनमा उत्रीएका प्रदर्शनकारीमाथि प्रहरीेले लाठी प्रहार गर्दै अश्रुग्यास प्रहार गरेको हो। मंगवारदेखि बजार बन्द गराउदै आन्दोलनलाई शसक्त पारेका उनीहरुले प्रहरीले घटनाको वास्तविक दोषि लुकाउन मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्राउ गरि घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।

उनीहरुले घटनाका वास्तविक दोषि पक्राउ नभएसम्म आफुहरुले आन्दोलन जारी राख्ने बताएका छन्। आन्दोलित स्थानीयले भीमदत्तनगर बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन्। आन्दोलन चर्किएपछि स्थानीय र प्रदर्शनकारीबीच बेला बेलामा झडप समेत हुने गरेको छ। 

निर्मलाको वलात्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन्।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो। पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको सोमबारको पत्रकार सम्मेलनमा प्रहरीले बताएको थियो। 

 







यसमा तपाईको मत