८ वैशाख २०८१ शनिबार
अर्थ

सुनमा राष्ट्र बैंकले सिन्डिकेट लगाएको भन्दै पसल बन्द

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा बन्द गरिएको नारायणगढको एक सुनचाँदी पसल ।  तस्बिर : सविता/नागरिक

चितवन – सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नभएको उनीहरुको आरोप छ। 

उनीहरुले नै भनेको सिन्डिकेट अन्त्य गर्न सुनचाँदी व्यवसायीले मंगलबार र बुधबार दुई दिन जिल्लाका सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका हुन्। 

व्यवसायीले मागअनुसार सुन नपाएपछि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा पसल बन्द गरिएको हो । संघले मंगलबार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकामा सुनचाँदी व्यवसायको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । व्यवसायीलाई आवश्यक सुन सहज तरिकाले पाउनुपर्ने, सुनचाँदी व्यवसायलाई सुरक्षा प्रदान गर्नुपर्ने लगायत माग राखेर संघले ज्ञापनपत्र बुझाएको अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिए। 

व्यवसायीको अप्ठेरो समाधान होस् भनेर आपूर्ति र गृह मन्त्रालयमा समेत ज्ञापनपत्र पठाएको उनले बताए । चाडपर्व नजिकिँदै गर्दा सुन अभावमा व्यवसायीले व्यवसाय नै सञ्चालन गर्न नसक्ने समस्या आउनुअघि नै समस्या जानकारी गराइएको अध्यक्ष सदाशंकर बताउँछन् । ‘किसानको सिजन खेती लगाउने भएजस्तै चाडपर्वको समय सुनचाँदी व्यवसायीको सिजन हो,’ उनी भन्छन्, ‘यो समयमा गरगहनाको माग धेरै हुन्छ, माग अनुसार दिन अहिले पाइरहेको सुनले पुग्दैन।’ 

पर्याप्त मात्रामा सुन नआएकोले ग्राहकलाई गरगहना दिन नसक्ने अवस्था आएपछि संघ आन्दोलनमा आएको उनले दाबी गरे । सरकारसँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि आन्दोलनस्वरुप पसल बन्द गर्नुपरेको अध्यक्ष सदाशंकरले बताए । चितवनमा दैनिक एक किलो सुनका गरगहनाको कारोबार हुने गरेको छ।  

सर्वसाधारणले बेचेको गरगहनाले छिटफुट कारोबार चलिरहे पनि अहिले मागको आधामात्रै सुन आपूर्ति भइरहेको उनी बताउँछन् । चितवनका व्यवसायीले सातामा दुई किलो सुन पाउने गरेका छन् । ‘जिल्लाको जनसंख्या बढेको छ, व्यवसायी बढेका छन्, माग धेरै छ,’ अध्यक्ष सदाशंकरले भने, ‘हप्तामा कम्तीमा पाँचदेखि १० किलोसम्म सुन आवश्यकता पर्दछ।’ 

राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेट नतोड्दासम्म सुन अभाव नहट्ने सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्य बताउँछन् । पर्याप्त मात्रामा सुन उपलब्ध नहुँदा ग्राहकलाई गरगहना नदिई फर्काउनुपर्ने अवस्था आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए । वैधानिक रुपमा सुन किन्न खोज्दा पनि नपाउँदा व्यवसायी र उपभोक्ता दुवै मर्कामा परेको उनी बताउँछन्। 

व्यवसायीलाई बैंकले सातामा एकपटक सुन दिन्छ । यसले साना व्यवसायीलाई कारोबार गर्न कठिन भएको संघको भनाइ छ । चितवनमा सुनचाँदीको व्यवसाय गर्ने पसल पाँच सय हाराहारी रहेको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जनाएको छ। 

प्रकाशित: ६ भाद्र २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App