८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी जोड्ने सडक सुचारु गर्न सेनाद्वारा अवलोकन

रसुवागढी नाका जोड्ने सडकको धुन्चे–स्याफ्रुबेसी सडकखण्डको त्रिशुलीखोलामा गएको पहिरो ।    तस्बिर : नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक सुचारु गर्नका लागि नेपाली सेनाले सडकको अवलोकन गरेको छ । प्रदेश ३ हेटौंडामा अवस्थित मध्यपृतनाबाट आएका ६ जनाको टोलीले रसुवाको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकको अवलोकन गरेका हुन्। 

प्रमुख सेनानीको नेतृत्वमा आएको टोलीले सडकको अवस्था र विकल्पको पहिचानबारे अध्ययन गरेका छन् । रसुवाखण्डको त्रिशुलीखोला र घट्टेखोलामा सवारी आगमन पूर्ण रोकिएको छ । घट्टेखोलामा २३ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन भने त्रिशुलीखोलामा एक सातादेखि सवारी आवतजावत नभएको सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले बताए। 

सडक सुचारु गर्नका लागि कठिनाइ भएपछि सेना परिचालन गरिएको हो । सडक खण्डको विभिन्न स्थानमा ब्लास्टिङ गर्नुपर्ने भएकाले सेना लगाइएको उनले बताए । ‘बाढीले टिमुरे र त्रिशुली नदी क्षेत्रको सडक क्षति गरेको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘यसमा ब्लास्टिङ समेत गर्नुपर्ने भएकाले सेना परिचालित भएको हो।’ 

सोमबार सेनाले सडक खण्डको पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेर प्रतिवेदन तयारीको काम थालिसकेको छ । सडक सुचारु गर्नका लागि विकल्प स्वरुप खोलाको तलबाट वाल उठाउने, ढुंगा फुटाउने, ब्लास्टिङ गर्ने र नयाँ ट्र्याक खोल्ने लगायत सम्भावना पहिचान भएको छ। 

टोलीले प्रतिवेदन तयार गरेर पृतनामा बुझाउने छन् । पृतनाले हेडक्वाटरमा प्रतिवेदन पेस गरेपछि सडक सुचारु गर्न प्रक्रिया थाल्ने सेनाले जानकारी दिएको छ । त्यस्तै २३ दिनअघि बाढीले पुलमा क्षति गरेपछि दुई स्थानमा सामान पोल्ट्री गर्दै आएका व्यापारीले अहिले तीन स्थानमा पोल्ट्री गर्नुपर्ने अवस्था आएको छ । ‘सुरुमा रसुवागढी र टिमुरेमा पोल्ट्री गर्नुपर्ने थियो,’ व्यापारी प्रभुराम देउजाले भने, ‘अहिले खोपाङभीरमा समेत पोल्ट्री गर्नुपर्ने अवस्था आएको छ।’ 

तीन हप्तादेखि रसुवागढी नाका हुँदै स्याउ मात्रै आयात भइरहेको छ । रेडिमेड सामग्री पोल्ट्री गर्न नमिल्ने भएकाले स्याउ मात्रै आयात भएको हो । रसुवागढी भन्सार कार्यालयले भदौ महिनामा ९० करोड राजस्व उठाउने लक्ष्य राखेको छ । बाटोको कारण गत साउन महिनामा लक्ष्य भेटाउन नसकेको कार्यालयले यही अवस्था रहने हो भने यो महिना पनि राजस्व उठाउन नसक्ने प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। 

समयमा नै आयात गर्न नसक्दा स्याउ कुहिन थालेको व्यापारीले बताएका छन् । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ । रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। 

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायत मुख्य वस्तु निकासी भइरहेको छ। 

प्रकाशित: ६ भाद्र २०७५ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App