७ वैशाख २०८१ शुक्रबार
अर्थ

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा निर्माण हुने अपार्टमेन्टबारे जानकारी दिँदै बी एन्ड बी लेक भ्यू रिसोर्ट एन्ड अपार्टमेन्टका प्रबन्ध निर्देशक विमल बस्याल ।   तस्बिर : उमेश/नागरिक

पोखरा – पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्। 

लिभ दी ड्रिम लाइफ उनको नारा हो । त्यही अनुसार बस्यालले पोखरामा १८ तलाको अपार्टमेन्ट निर्माण गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराए । फेवाताल किनारमै रहेको सेदीमा उनले जमिनभन्दा केही अग्लो ठाँउमा अपार्टमेन्ट बनाउने घोषणा गरेका हुन् । अपार्टमेन्टको बजेट पनि आठ अर्बको छ । तीन तला पार्किङको लागि बनाइनेछ । बाँकी १५ तला अपार्टमेन्ट हुने उनले सुनाए। 

अपार्टमेन्टबाट ताल र हिमालसँगै पोखराको प्राकृतिक सौन्दर्य देखिने छ । अपार्टमेन्टमा ह्याङगिङ  रेस्टुराँ हुनेछ । यो सम्भवतः नेपालमै पहिलो अपार्टमेन्ट बन्ने दाबी समेत बी एन्ड बी लेक भ्यू रिसोर्ट एन्ड अपार्टमेन्टका प्रबन्ध निर्देशक बस्यालले गरेका छन् । तीन वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य उनले लिएका छन् । ‘२७ महिनामा बनाइसक्ने लक्ष्य हो । उनले भने, ‘तर तीन वर्षको समय राखिएको छ । भवितव्यको समय समेत राखिएको छ ।’ अपार्टमेन्ट एक करोड ३३ लाखदेखि दुई करोड ८६ लाखसम्मका हुनेछन् । आन्तरिक सजावट र बेडरुमको आधारमा अपार्टमेन्टको लागत तोकिएको छ। 

३६ रोपनी क्षेत्रफलमा चार सय ६४ वटा अपार्टमेन्ट बन्ने छन् । अपार्टमेन्टको लागि माटो परीक्षण भइरहेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । ‘अहिले माटो परीक्षण भइरहेको छ,’ उनले भने, ‘भौगर्भिक अध्ययन गर्ने क्रममा बढी चट्टान भेटिएको छ ।’ भूकम्पीय जोखिमका हकमा ८.९ रेक्टर स्केलको भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण हुने आर्किटेक्ट इन्जियनियर सुरजविक्रम थापाले बताए।

तीन दिनअघि सुरु गरिएको बुकिङमा ६३ वटा अपार्टमेन्ट बुक भइसकेको उनले सुनाए । अपार्टमेन्टमा स्वदेशीसँगै विदेशीले पनि बुकिङ गरेको प्रबन्ध निर्देशक बस्यालले जानकारी दिए । उनका अनुसार ८४ जनाले प्रतिबद्धता जनाइसकेका छन् । पोखरा पर्यटनको ट्राजिन्ट प्वाइन्ट भएको उल्लेख गर्दै जनघनत्वलाई लक्ष्य गरी अपार्टमेन्टको अवधारणा अघि सारिएको बताए । अपार्टमेन्टसहित आवश्यक सम्पूर्ण पूर्वाधार बनाइनेछ।

रुफटप रेस्टुरा, सुपरमार्केट, ट्राभल सर्भिस, सैलुन, ब्युटी पार्लर, स्पा, मनी चेन्जर, लन टेनिस, ब्याडमिन्टन, बलिङ लगायत दुइटा स्विमिङ पुल, स्काई थिएटर, किड्स प्ले ग्राउन्ड, लेक भ्यू योगा तथा कम्युनिटी हल जस्ता पूर्वाधार तयार पारिने छ । बस्याल पोखरेली टेनिस खेलाडी समेत हुन् । उनले आफ्नो घरसँगै जोडेर टेनिस कोर्टसहित जिम सेन्टर समेत निर्माण गरेका छन् । पोखरा रंगशालाभित्र व्यक्तिगत लागतमा टेनिसको क्ले कोर्ट निर्माण गरेका छन्। 

पोखरा महानगरपालिकाले ११ तलासम्मको स्वीकृति दिएको छ । महानगरपालिकाले नै हाइराइजिङ बिल्डिङको कन्सेप्ट बनाइसकेको छ । त्यसैले ११ तलासम्मको स्वीकृति दिएको हो । तर १८ तलाको कानुनी झन्झटलाई महानगरपालिकासँगको समन्वयमा समाधान गरिने उनले सुनाए । बहुतले भवनले पोखराको स्वरुप नै परिवर्तन गर्ने भन्दै सहरको जनघनत्व निकट भविष्यमा २५ देखि ३० लाख पुग्ने विज्ञहरुको सुझावलाई मध्यनजर गर्दै अपार्टमेन्टको नीति अघि सारिएको उनले बताए । अपार्टमेन्टबाट निस्कने फोहोरलाई व्यवस्थापन गरिने उनले जानकारी दिए । पानीलाई रिफाइन गरी पुनः प्रयोग गर्ने प्रविधि राखिने छ। 

उनले सन २०२० सम्ममा पोखरामा पर्यटक आगमन २० लाख पुग्ने लक्ष्यसहित योजना सुरु गरिएको जनाए । उनले अन्त्यमा भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा हामी पनि सेवाको लागि तयार हुनेछौं।’

प्रकाशित: ६ भाद्र २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App