८ वैशाख २०८१ शनिबार
अर्थ

हरियो चियामा उठेन लगानी

चियाको मुना ।    तस्बिर : भीम/नागरिक

इलाम – देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।

इलाम, झापा, पाँचथर, धनकुटालगायत १४ जिल्लाका नौ हजार दुई सय ३६ किसान चियामा व्यावसायिक भएका छन् । तर, उनीहरूले उत्पादन गरेको हरियो चिया अहिले ठाउँअनुसार २० देखि ४४ रुपैयाँ प्रतिकिलोसम्ममा विक्री भइरहेको छ । अर्गानिक चिया उत्पादकले हरियो पत्तीमा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्म पाउने गरे पनि यो चियाको परिमाण नै कम छ । ठूलो संख्याका किसान र व्यवसायी आबद्ध रहेको ननअर्गानिक हरियो पत्तीबाट चाहिँ लगानी नै उठाउन नसकेको किसान बताउँछन्। 

चियाको बिरुवा नर्सरी गरी रोपेर र टिप्नेसम्मको बनाउन बढी मेहनत लाग्छ । रोपेको तीन वर्षपछि मात्रै आम्दानी दिन थाल्ने भएकाले चियामा लगानी बढी हुन्छ । तर, मूल्य राम्रो भए चिया खेतीबाटै व्यावसायिक बन्न सकिने भएपनि मूल्य नै लगानीअनुसार पाउन नसकेको किसान बताउँछन् । ‘चियालाई रोप्नेदेखि पैसा लिनेबेलासम्मको बनाउन निकै मेहनत लाग्छ,’ किसान अमर सापकोटाले भने, ‘बेच्ने बेलामा भाउ आइदिँदैन, कारखानाले जति मूल्य दिन्छ, त्यसैमा चित्त बुझाउनुपरेको छ।’ 

किसानका अनुसार एक किलो हरियो चिया उत्पादन गर्न ४५ रुपैयाँजति खर्च हुन्छ । तर, आफूले पाउने मूल्य नै त्यति नभएको उनीहरू बताउँछन् । ‘चियाबाट फाइदाको कुरा त के गर्नु, लगानी उठाउनै धौ धौ छ,’ अर्का किसानको तोया रिजाल भन्छन्, ‘कम्तीमा प्रतिकिलो ५० रुपैयाँ नभई चियाबाट फाइदै नहुनेरहेछ ।’ किसानले हरियोपत्तीको न्यूनतम मूल्य तोक्न सरकारलाई यसअघि पनि पटक–पटक माग गरेका थिए । तर, अहिलेसम्म सरकारले सबै किसानका लागि हरियो पत्तीको समर्थन मूल्य तोक्न सकेको छैन। 

जिल्लाको सूर्याेदय नगरपालिकाले मात्रै चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेर लागू गरेको छ । सूर्याेदयले चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी हरियो चिया उत्पादनमा हुने लगानी अध्ययन गरी यो मूल्य तोकेको हो । अध्ययनअनुसार एक किलो हरियो चिया उत्पादन गर्न कम्तीमा ३८ रुपैयाँ लाग्छ । किसानले गतवर्षसम्म २५ देखि ३५ रुपैयाँ प्रतिकिलो मात्रै मूल्य पाएका थिए । सूर्याेदयले तोकेको मूल्य पनि लगानीअनुसार कमै भएको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्मा बताउँछन् । ‘ज्यादै न्यून समर्थन मूल्य तोकेर भएपनि नगरपालिकामा हरियो चियाको मूल्यमा एकरूपता कायम चाहिँ गरेका छौं,’ उनले भने, ‘तर, किसानलाई फाइदा चाहिँ हुँदैन यो मूल्यले पनि।’ 

नगरपालिकाले उद्योगी, किसान र चिया व्यापारीबीच आचारसंहितासमेत पालना गर्न सहयोग गरेको छ । ‘हरियो चियाको मूल्य किसानको लगानी उठ्ने गरी बनाउनु आवश्यक छ,’ नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘नगरपालिकाले नै विभिन्न स्थानमा चिया प्रशोधन कारखाना खोल्ने पनि योजना छ तर अलि पछि मात्र हुन्छ होला ।’ उनले चियालाई नै व्यावसायिक खेती बनाएका किसानलाई त्यसैबाट जीविकोपार्जन गर्न सक्ने बनाउन नगरले सहयोग गर्ने बताए। 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा पनि किसानले राखेको पहिलो नम्बरको समस्या नै चियाको मूल्य लगानीअनुसार नपाउनु हो । किसानले हरियो पत्तीको मूल्य सरकारले नै निर्धारण गर्नुपर्ने, हरियो पत्ती बिक्रीका लागि उचित बजार व्यवस्था गर्नुपर्ने, बिरुवा, मलखाद, मेसिनरी औजारलगायतमा अनुदान दिनुपर्नेजस्ता माग राखेका थिए।

‘स्थानीयस्तरमा नयाँ प्रविधि तथा गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध हुनुपर्छ, व्यवसाय प्रवद्र्धनका लागि तालिम, अध्ययन भ्रमण आदि आवश्यक छ,’ किसानले दिएको सुझावमा उल्लेख छ, ‘सरकारले सहज तथा सहुलियत ऋण उपलब्ध गराउनुपर्छ, मलखाद, विषादी, तथा औजार उपकरण सहज र सुलभ रुपमा उपलब्ध गराउनुपर्छ ।’ सरकारले चिया प्रशोधनका लागि स्थानीय स्तरमा उद्योग नै स्थापना गरिदिनुपर्ने माग पनि किसानको छ।

चिया खेती गर्ने किसान इलाममा सबैभन्दा धेरै छन् । तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुने गरेको छ । विभाग र बोर्डले गरेको अध्ययनअनुसार इलाममा पाँच हजार पाँच सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन् । झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट हुने गरेको छ । तथ्यांकअनुसार झापाको सात हजार एक सय ९५.१५ हेक्टरमा भइरहेको खेतीबाट ८२ हजार पाँच सय १७ मेट्रिक टन हरियोपत्ती वार्षिक रूपमा उत्पादन भइरहेको छ। 

इलाममा भने तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको तथ्यांक छ । झापामा ६ करोड ३५ लाख चियाका बोटबाट हरियोपत्ती उत्पादन हुने गरेको छ भने इलाममा यो संख्या चार करोड ५८ लाख छ । नेपालमा चाहिँ कुल १२ हजार ६७ हेक्टरमा ११ करोड ६७ लाख ५१ हजार चियाका बोटबाट हरियो पत्ती उत्पादन हुने गरेको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App