काठमाडौं- ज्वरो आउँछ, शरीर दुख्छ, हाच्छिउँ आउँछ वा यी मध्ये कुनै एकको लक्षण छ? छ भने तपाईंमा कुनै न कुनै संक्रमण भएको हुन सक्छ! बेलैमा सचेत हुनुहोस्। संक्रमण छिप्पिए सिप्सिस भएर ज्यानै जान सक्छ।
कुनै पनि फंगस, जिवाणु तथा भाइरसको संक्रमणबाट मानिस गम्भिर बिरामी बन्दै जाने अवस्था हो सिप्सिस। बिरामी सिप्सिसमा पुगेपछि शरीरका अन्य अंगहरू मुटु, कलेजो, फोक्सो, मिर्गौलालगायत अंग काम नलाग्ने अवस्थामा पुग्छ र मानिसको ज्यानै जान सक्छ।
चिकित्सकका अनुसार फोहर खानेकुरा खाने, फोहर पानीले धोएको लुगा लगाउने र फोहर वातवरणमा बस्ने जो सुकै सिप्सिसको जोखिममा हुन्छन्। कुनै कारणले कमजोर भएका व्यक्ति पनि बढी जोखिममा हुन्छन्।
नेपालमा मंगलबार पहिलो पटक विश्व सिप्सिस दिवस मनाइएको छ। अन्य देशमा सन् २०१२ देखि नै यो दिवस मनाउन सुरु गरिएको हो। नेपाल क्रिटिकल डेभलपमेन्ट फाउन्डेसनले बिभिन्न जनचेतना कार्यक्रमका साथ दिवस मनाएको छ।
विश्वभर आइसियूमा भर्ना भएका मध्ये ३० प्रतिशत सिप्सिसको कारणले मृत्यु हुन्छ भने नेपालमा ५० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ। तथ्यांक अनुसार आइसियूमा भर्ना भएका बिरामीमध्ये ३० देखि ४० प्रतिशत सिप्सिसमा पुग्ने गर्छन्। विदेशमा यो दर १० देखि १२ प्रतिशत मात्र छ।
नेपालमा अस्पतालले संक्रमण रोक्न राम्रो पहल नगर्नु र बिरामी ढिला गरी उपचारमा आउनु, आफूखुसी मेडिकलमा औषधि किनेर खाने प्रवृत्तिका कारण बिरामीहरू सिप्सिसमा पुगेर मृत्यु हुने गरेको नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष डा.सुभाष आचार्यले बताए।
अस्पतालको कुनै पनि वार्डमा भर्ना भएका, आकस्मिक कक्षमा भर्ना भएका, घरैबाट संक्रमण भएर अस्पताल आइपुगेका, जथाभावी औषधि सेवन गरी प्रतिरक्षा कमजोर हुन पुगेका, मिर्गौला, कलेजो तथा अन्य अंग प्रत्यारोपण गरेका, ठूलो शल्यक्रिया गरेका वा घाउ भएका बिरामी र गम्भिर रोग लागेका बिरामीहरू संक्रमण भइ सिप्सिसमा पुग्ने जोखिम उच्च हुने टिचिङ अस्पताल आइसियू तथा एनेस्थेसिया विभाग प्रमुख डा.मोदनाथ मरहठ्ठा बताउँछन्।
अस्पतालमा भर्ना भएका बिरामीलाई सिप्सिसको अवस्थामा पुग्न नदिन अस्पतालका स्वास्थ्यकर्मी, कुरुवा र बिरामी सबै उत्तिकै सचेत हुनु पर्ने डा.मरहठ्ठाको सुझाव छ। नेपालमा सरसफाइ नपुगेरै अन्य देशको तुलनामा बढी सिप्सिसमा पुगेर बिरामीको मृत्यु हुने गरेको अध्यक्ष डा.आचार्य बताउँछन्। डा.आचार्यका अनुसार नेपालमा अधिकांश अस्पतालमा उचित सरसफाइ अभावले आइसियूमा भर्ना भएका बिरामी सिप्सिसमा पुगेर मृत्यु हुने गरेका छन्। आइसियूमा एक बिरामी बराबर एक नर्स हुनु पर्नेमा एक नर्सले तीन जना बिरामी हेर्नु पर्ने बाध्यता, आइसियूमा काम गर्ने नर्सलाई आवश्यक तालिमको व्यवस्था नहुनु जस्ता कारणले मृत्युदर बढी हुने गरेको उनको तर्क छ। 'नर्सले नै हो केयर दिने त्यो कमी छ, आइसियूबाटै संक्रमण बढेको देखिन्छ,' उनले भने।
फोहर खानेकुरा खानु, दूषित पानी पिउनु, दूषित पानीले नुहाउनु, वरिपरिको वातावरण फोहर हुनुले मानिसमा संक्रमण भइ सुरुमै उपचार नपुगे सिप्सिसमा पुग्छन्। त्यो बाहेक मोनिकोकस, मेनिडोकोकस भ्याक्सिन पाएको व्यक्तिलाई भने संक्रमणको सम्भावना कम हुने डा.मरहठ्ठा बताउँछन्।
प्रकाशित: ३० भाद्र २०७३ ०२:२७ बिहीबार